शिवराजले भने- निहारिका र बच्चा स्विकार्न तयार छु तर म बलात्कारी हाेइन

BreaknLinks
BreaknLinks

पछिल्लाे समय ‘कुमारी आमा’ भनेर चिनिने निहारिका राजपुत अर्थात् सोनालीकुमारी सिंहले आफूमाथि भएको बलात्कार र त्यसपश्चात जन्मिएकाे बच्चाको डीएनए टेष्ट तथा आरोपीलाई कारबाहीकाे माग गर्दै वसन्तपुरदेखि सर्वोच्च अदालत, राष्ट्रपति भवनसम्म विद्राेह गरिन्।

२०७६ कात्तिक ६ गते साँझ शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै २०७६ चैत २ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन्। आफूमाथि जबरजस्ती करणी गरी गर्भवती बनाएर बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा जिल्ला अदालत धनुषामा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी नभएकाे भनेर फैसला गरेको थियो।

सुरुमा शिवराजले बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए। राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि सन्तान जन्मिएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै आएकी छन्। उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो।

यस क्रममा शिवराजले गत भदौ २६ गते धनुषाबाट काठमाडौं आएर डीएनए टेष्टकाे लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा रगतको नमुना पनि दिएका थिए।

महिना दिनअघि निहारिकाले प्रधानमन्त्री निवास बालुवाटार अगाडि आफ्नाे सल (बर्काे) फ्याँक्दै प्रर्दशन गरेको केही घण्टाभित्रै विधि विज्ञान प्रयोगशालाले जनकपुरलाई पठाएको डीएनए रिपोर्टमा बच्चा र शिवराजको डीएनए ९९.९९९ प्रतिशत मिलेको जनकपुर उच्च अदालतका रजिष्टार खड्कराज अधिकारीले पुष्टि गरेका थिए। डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ।

सुरुमा शिवराजले बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए। तर अहिले भने श्रेष्ठले बच्चा र आमा स्वीकार गर्ने बताएका छन्। ‘हामी प्रेम सम्बन्धनमा थियौँ। तर म बलात्कारी हाेइन’, उनले भने, ‘डीएनए रिपाेर्ट ९.९९९ प्रतिशत मिल्न गएकाे छ। पहिला हामीबीच जे भयाे-भयाे, अब बच्चा र आमा स्वीकार गर्न तयार छु।’

‘पहिला सामाजिक डरले गर्दा अदालतमा मैले बच्चा मेराे हाे भनेर स्वीकार्न सकिनँ', उनले भने, 'अब आउने फैसलामा दुवै जनालाई न्याय हुने अपेक्षा गरेकाे छु।’ जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो।

मंसिर १४ गते उच्च अदालत जनकपुरमा निहारिका राजपुतको नामबाट परिचित सोनालीकुमारी सिंहले दायर गरेको जबर्जस्ती करणीको मुद्दा पेसी छ। निहारिकाले शिवराज श्रेष्ठलाई विपक्षी बनाएकी छन्।

प्रकाशित मिति: : 2022-11-25 16:43:00

प्रतिकृया दिनुहोस्