'भ्रष्टाचार र दुर्व्यवहार'को आरोपबारे के भन्छन् राजु पाण्डे ?

सुहन श्रेष्ठ

काठमाडाैँ
BreaknLinks
फोटो: बिएल नेपाली सेवा

काठमाडौँ महानगर प्रहरी बलका एसपी राजु पाण्डेले आफूविरूद्ध लागेकाे 'भ्रष्टाचार र दुर्व्यवहार'को आरोपकाे खण्डन गरेका छन्।

नायव निरीक्षक लोकनाथ चुडालले सोमबार महानगर कार्यालयमा राजीनामापत्र बुझाउँदै एसपी पाण्डेमाथि अनेकाैँ आरोप थुपारेका थिए। १२ देखि १५ घण्टाको लगातार ड्युटीपछि उपयुक्त विश्राम नदिने, फिल्डमा खटेका साना तहका प्रहरीलाई प्रहरी प्रमुखले सेटमै तर्साउने, उल्टै उनीहरूलाई सडक व्यापारीहरूसँग घुस लिएको आशंका गरेर मानसिक यातना दिनेजस्ता आरोप पाण्डे र महानगर प्रसाशनमाथि लगाइएको छ।  

महानगर कार्यालयका प्रशासकीय अधिकृत बसन्त अधिकारी यी सबै आरोपबारे जानकार नरहेको बताउँछन् । तर, एकजना पीडित महिला गंगा उप्रेती आफ्नो निवेदन अधिकारीले नै दर्ता गरेको बताउँछिन् । 

२०७९ मंसिर ११ का दिन राजु पाण्डेको दुर्व्यहार खपेकी पीडित उप्रेतीले महानगर कार्यालय र बसन्त अधिकारीलाई सम्बोधन गर्दै दर्ता–१२५८ को निवेदन पेश गरेकी थिइन्।

'राजु पाण्डेले ९९ प्रतिशत राम्रो काम गरेका छन्। १ प्रतिशत नराम्रो काम गरेका छन् होला तर हामीले उहाँलाई मूल्याङ्कन गर्दा त्यही ९९ प्रतिशत राम्रो कामले गर्ने हो,' अधिकारीले भने, 'राजु सरको बोली अलि कडा छ, त्यो सबैलाई थाहा छ । उनले त्यस्तो गरेको पुष्टी भए उनलाई पनि कडा कारवाही हुन्छ।'

एसपी राजु पाण्डे पनि प्रशासकीय अधिकृतजस्तै उक्त घटना घटेको अस्विकार गर्छन् ।  

उनले भने, 'त्यस्तो केही भएको छैन। म सबैभन्दा धेरै महिलाको इज्जत गर्ने मान्छे हो। पत्त्याउनु हुँदैन भने नगर प्रहरीमा भएका महिलाहरूलाई सोध्नुहोस्। मैले अहिलेसम्म कसैको पेटमा लात हान्ने काम गरेको छैन।' 

तर लोकनाथ चुडालले पाण्डेको भनाईको विरोध गर्दै भने, 'उनले गंगामाथि मात्रै होइन, पहिला यही काम गर्ने गंगाको श्रीमानलाई त झन् आफ्नो कार्यालयभित्र बोलाएर कुटेका छन्। अहिले गंगाको श्रीमान एयरपोर्टको दमकल इकाइमा छन्। पाण्डे सरले सेटमा नै आफूभन्दा साना तहका प्रहरीलाई हात हाल्थे। मैले कति चोटि त्यस्तो नगर्नुस् भनेँ तर उनले मेरो कुरा सुनेनन्।'

चुडाललगायत महानगर प्रहरीका अन्य प्रहरी पनि राजु पाण्डेको ज्यादती र दमनको सिकार भएको बताउँछन्। समयमा विश्राम नदिने, खुलेआम हातपात गर्ने र फिल्डमा रहेका प्रहरीहरूलाई समेत घुस लिएको शंका गरि मानसिक यातना दिएको उनीहरूको गुनासो छ।

'एसपी भन्दैमा उनले गरेको अपराध पनि बेवास्ता गरिदिने हो? एसपी हुँदैमा राजा भइन्छ र? राजु पाण्डेमाथि कारवाही हुनैपर्छ र महानगरले उनको अपराध ढाकछोप गर्नु पनि महाअपराध हो। हामी चाहिँ दिन रात हड्डी घोटिने गरी काम गर्ने अनि हाम्रो कामको सारा श्रेय चाहिँ राजु पाण्डेले लाग्ने? यो कहाँको न्याय हो,' नगर प्रहरीका एक हवल्दारले बिएल नेपाली सेवासँग आक्रोश पोखे।

केहीले भने पछिल्ला घटनालाई यसअघिका प्रमुख धनपति उपाध्यायको ठाउँमा राजु पाण्डेलाई जिम्मेवारी दिएको 'साइड इफेक्ट' का रूपमा हेर्नुपर्ने बताएका छन् ।


प्रहरी प्रमुख पाण्डेको ‘अनियमितता र ज्यादती’ विरुद्ध महानगरकै प्रहरी (भिडियाे)


गरिबलाई मारेर सहर रंग्याउँदै 'बालेन्द्र साप'


 

प्रकाशित मिति: : 2022-12-20 22:15:00

प्रतिकृया दिनुहोस्