राप्ती राजमार्ग : यसरी बन्दैछ ‘मृत्यु मार्ग’

BreaknLinks
BreaknLinks

राप्ती राजमार्गमा पछिल्लो ४ वर्षमा ४७ जनाले ज्यान गुमाएका छन्। ३७७ सवारी दुर्घटना हुँदा १०४ जना गम्भीर घाइते भएका छन् भने ५२७ जना सामान्य घाइते भएका छन्।

१२ असोज ०७९ को एकाबिहानै राप्ती राजमार्गमा जीप दुर्घटनामा परेको खबर फैलियो। दुर्घटनामा केहीको मृत्यु र केहीको उद्धार कार्य भइरहेको प्रहरीले जानकारी दियो। १२ गतेको दिन ढल्दै जाँदा जीप दुर्घटनामा परी घटनास्थलमै ८ जनाको मृत्यु भएको जानकारी भयो।

बाँकेको ढकेरीमा विहेभोज खाएर ११ गते राति सल्यानको कपुरकोट–६ जलवाङ फर्कँदै गरेको जीप राप्ती राजमार्गको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र १ जनाको अस्पतालमा गरी ९ जनाले ज्यान गुमाए।

जीप बिहानको २ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मृत्यु हुनेमा सबै एउटै गाउँ जलवाङका थिए। दुर्घटनाले गएकाे असोज १९ गतेको दशैं नजिकिँदै गर्दा जलवाङ मात्र होइन, सल्यान जिल्ला नै शोकमा डुब्यो। यो दुर्घटना राप्ती राजमार्गमा घटेको पछिल्लो ठूलो दुर्घटना हो।

यस चालु आर्थिक वर्ष ०७९/८० को ४ महिनामा मात्र सल्यानमा सवारी दुर्घटनामा परी १५ जनाले ज्यान गुमाइसकेका छन्। साउनयता ४ महिनामा ३३ वटा सवारी दुर्घटना हुँदा २३ जना गम्भीर घाइते र २७ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय सल्यानको तथ्यांकमा छ। सल्यानमा हुने सवारी दुर्घटना मध्य प्रायः राप्ती राजमार्गमा नै हुने ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख शरद चौधरीले बताए।

०००

२१ कार्तिक ०७८ मा भाइटीकाको दिन थियो। भाइटीका लगाएर सल्यानको दुलधाराबाट तुलसीपुर फर्कँर्दै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा पर्यो। दुर्घटनामा १२ जनाले ज्यान गुमाए भने २८ जना घाइते भए।

०७५ साल पुसमा राप्ती राजमार्गमा नै शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गुम्यो। दाङ घोराही सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानको मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन गरेर फर्कँदै गर्दा बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–३ राम्रीमा दुर्घटना हुँदा विद्यार्थी, शिक्षक गरी २७ जनाले ज्यान गुमाएका थिए।

यसरी एकपछि अर्को भयानक दुर्घटना राप्ती राजमार्गमा भइरहेका छन्। राप्ती राजमार्ग कसरी मृत्यु मार्ग बन्दैछ भन्ने कहालिलाग्दो यी माथिका दुर्घटनाको उदाहरणबाट प्रष्ट हुन्छ। राप्ती राजमार्गले कयौँ विद्यार्थीका सपना लुटिदिएको छ। कयौँले आफन्तहरु गुमाउनु परेको छ। कति अंगभंग भएर बाँचेका छन्। यस मार्गमा मानवीयसँगै ठूलो आर्थिक क्षति भइरहेको छ।

प्रहरी तथ्यांकअनुसार सल्यानमा पछिल्लो ४ वर्षमा सवारी दुर्घटनामा परी ७७ जनाको मृत्यु भएको छ भने १०४ जना गम्भीर घाइते भएका छन्। ५२७ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ। ४ वर्षको समयावधिमा ३७७ वटा साना, ठूला सवारी साधन दुर्घटनामा परेका छन्। यो आर्थिक वर्ष ०७६/७७ देखि चालु आर्थिक वर्षको बितेको ४ महिनाको तथ्यांक हो।

सल्यानमा २०७७ साल र ०७८ सालको कोरोनाका समयमा समेत ४७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। सवारी दुर्घटना हुनुको प्रमुख कारण जोखिमपूर्ण सडक रहेको बताउँछन्, जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख चौधरी।

१३५ किलो मिटरको राप्ती राजमार्ग २०७० सालमा कालोपत्रे गरिएको राजमार्ग हो। दाङको अमेलियादेखि सल्यान हुँदै रुकुम पश्चिमलाई जोड्ने यस राजमार्ग कालोपत्रे भएको वर्षदिनमै भत्किन सुरु गरेको थियो। अहिले अमेलियादेखि तुलसीपुरको गोटिकोलासम्मको सडकमा कालोपत्रे भए पनि अन्य ठाउँमा पूर्णतया कालोपत्रेको नाम निशाना छैन।

गोटीखोलादेखि माथि राम्री, चोरखोला हुँदै सल्यानको कपुरकोटसम्म र कपुरकोटदेखि सितलपाटी हुँदै सल्यानको खौलासम्म सडकमा यात्रा गर्न जोखिपूर्ण रहेको छ। राप्ती राजमार्ग दाङ हुँदै सल्यान, रुकुमदेखि जाजरकोटसम्म पुग्नका लागि प्रयोग गरिने एक मात्र सडक हो। त्यहाँबाट दाङ हुँदै काठमाडौंँसम्म पुग्न अर्को राम्रो राजमार्गको विकल्प नहुँदा राप्ती राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा नागरिक छन्।

यस राजमार्गमा करिब ०४५ सालबाट सवारीसधान चल्न सुरु गरेको थियो। सवारी साधन चल्न सुरु गरेको २५ वर्षपछि कालोपत्रे गरिएको सडक भत्किएपछि अहिले पनि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। नागरिक सडकमा ठूला खाल्टा, वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य सडकमा यात्रा गरिरहेका छन्।

तर नागरिकको सहज यात्राका लागि राज्य संचालकहरु गम्भीर देखिएका छैनन्। साविकको राप्ती अञ्चलबाट देशको नेतृत्व तहमा पुगेका नेताहरु थुप्रैछन्। रोल्पामा जन्मिएका माओवादी केन्द्रका उपाध्यक्ष  कृष्णबहादुर महरा सभामुख भइसकेका नेता हुन्।

रुकुम पश्चिमबाट राजनीति गरेर सत्तामा पुगेका माओवादी केन्द्रकै नेता जनार्दन शर्मा (प्रभाकर) पटक–पटक मन्त्री भएका नेता हुन्। सल्यानकै नेता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला ०७४ को निर्वाचनमा जितेर कर्णाली प्रदेशको अर्थमन्त्री भएका थिए। त्यसअघि पनि उनी सत्ताको स्वाद चाखेका नेता हुन्।

जनताको मत पाएर पटक–पटक सत्तामा पुगेर अवसर पाएका नेताहरुले देशकै प्रमुख राजमार्ग मध्य राप्ती राजमार्ग निर्माणमा ध्यान दिन नसक्दा राप्ती राजमार्ग मृत्यु मार्ग बन्दै गइरहेको छ।

नागरिक समाज दाङका संयोजक केवी मशालले राज्य संचालकबाट नागरिकको सुरक्षामा ध्यान दिन नसक्दा राप्ती राजमार्ग थप विग्रदै गएको बताए। राप्ती राजमार्गमा सवारी दुर्घटनाको इतिहास आजको होइन। ०६२ सालमा यहि राजमार्गमा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जनाले ज्यान गुमाएका थिए।

पैसा छ, काम छैन

राप्ती राजमार्गको मर्मतका लागि बजेटको अभाव छैन। १३५ किलोमिटर सडक मर्मतका लागि सडक बोर्ड र राजमार्ग स्तरउन्नतिबाट ४० करोड बजेट रहेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी रिकेश महर्जनले जानकारी दिए।

राजमार्गका लागि यति ठूलो रकम भएपनि काम भने भएको छैन। तलसीपुर–कपुरकोट सडक खण्डमा ३ खण्ड गरी काम हुँदैछ। जसमध्ये एक खण्डको काम लगभग सकिएको बताउँदै सूचना अधिकारी महर्जनले दुई खण्डको काम बाँकी रहेको बताए।

ती दुई खण्डको काम राम्री, चोर खोलातिर हो। तर यस क्षेत्रमा उपलब्धिमुलक रुपमा काम भएको देखिदैन। सडकका खाल्टखुल्टीले यात्रा जोखिम त छ नै, वर्षाको समयमा खसेको माटोसमेत राम्रोसँग अझै पनि हटाइएको छैन। यस राजमार्गमा परेको ४० करोड बजेट ०७७ सालको हो।

बिचमा कोरोना महामारीको कारण देखाउँदै ठेकेदार कम्पनीले काम गरेनन्। म्याद थप गरेर अहिले काम गरेको भए पनि काम सन्तोषजन हुन नसकेको सूचना अधिकारी महर्जन बताउँछन्।

काम गर्ने ठेकेदार कम्पनीले कोरोनाका सयमा पनि गरेका थिए। सरकारले विकास निर्माणका काममा कोरोनाका समयमा पनि रोकेको थिएन। स्वास्थ्य मापदण्ड अपनाउँदै काम गर्न दिएको थियो। तर राप्ती राजमार्गमा ठेकेदार कम्पनीले समयमै काम गर्न नसकेपछि म्याद थप गर्दै सडकको दुरावस्था बढाइदैछ।

समयमै सडकको काम हुन नसकेपछि सडक स्तरउन्नतिका लागिसमेत सरकारले बजेट विनियोजन गर्न सकेको छैन्। तुलसीपुरदेखि सितलपाटीसम्म २० करोड र सितलपाटीदेखि खौलासम्म २० करोडको बजेटमा सडक मर्मतको काम हुँदैछ। यहाँ कुल २१ वटा खण्डमा गरी  काम गरिन लागेको भए पनि फेरि यस आर्थिक वर्षमा सकिनेमा सडक डिभिजन दाङ ढुक्क छैन।

‘अघिल्लो दुई वर्ष कोरोना भन्दै काम हुन सकेन। सरकारले नै म्याद थप गरेपछि अहिले पहिलेकै निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिएका छौँ,’ सूचना अधिकारी महर्जनले भने, ‘उनीहरुले विभिन्न कारण देखाउँदै समयमै काम गर्न सकेका छैनन्। यस आर्थिक वर्षमा सक्नै पर्छ भनेर हामीले दबाब दिइरहेका छौँ।’ ठेकेदार कम्पनीले दाङबाट सडक निर्माणका सामाग्री ढुवानी गर्न गाह्रो भएको भन्दै अहिले पनि काम गर्न नसकिरहेको उनले बताए।

राप्ती राजमार्गको स्तरउन्नतिका लागि सडक डिभिजन कार्यालय दाङले एक खर्ब ३४ करोड बजेट माग गरेको थियो। तर सरकारले १ खर्ब बजेट पठाएको सूचना अधिकारी महर्जनले बताए। अब यो बजेट पनि ठेक्का प्रकृयामा लगेर काम सुरु हुने उनले जानकारी दिए।

‘सडक राम्रो भएपछि सवारी दुर्घटना घट्छ’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख शरद चौधरीले सडकको अवस्था राम्रो हुने हो सवारी दुर्घटनामा कमी आउने बताउँछन्। उनले सल्यानमा हुने प्रायः दुर्घटना राप्ती राजमार्गको रहेको बताउँदै यस राजमार्गलाई सुधार गर्न पटक–पटक ठेकेदार कम्पनीलाई भन्दा पनि ढिलाई भइरहेको बताए।

उनी सडक दुर्घटना हुनुमा पहिलो कारण विग्रएको सडकलाई लिन्छन्। अझ सल्यान जिल्ला भौगोलिक दृष्टिकोणले पनि ग्रामीण क्षेत्र भएको र सडक पनि मोडसँगै बढी उकालो, अरोला हुँदा सवारी दुर्घटना बढी हुने जोखिम रहेको उनको भनाई छ।

उनले सडक सुधार भएपछि सवारी दुर्घटनामा धेरै कमी हुने बताउँछन्। ‘सवारी दुर्घटनाको पहिलो कारण सडक नै हो। रुकुमबाट हिँडेको बस खाल्डाखुल्डीले गर्दा सल्यानमा आएपछि विग्रीन्छ,’ चौधरीले भने, ‘यहाँको भौगोलिक अवस्थाले बाटो राम्रो भएको छैन। राम्रो भएमा सवारी साधन विग्रदैन र सवारी दुर्घटना कमी आउँछ।’

सवारी चालकले लापर्वाही गर्दैन भन्दा पनि कतिपय ठाउँमा सडक नाजुक भएका कारण सवारी साधन कन्ट्रोल गर्न नसक्दा दुर्घटना भएका उदाहरण रहेको उनले बताए। सवारी दुर्घटना पूर्ण रुपमा रोक्न सकिने अवस्था नरहेको बताउँदै उनले सडक सुधार भएमा दुर्घटनाका घटनाहरु कमी आउने बताए।

प्रकाशित मिति: : 2023-01-05 17:30:00

प्रतिकृया दिनुहोस्