लमजुङकाे सुन्तला बगैंचामा 'ग्रिनिङ' काे प्रकाेप

File Photo
File Photo

लमजुङमा  सुन्तला बगैँचामा 'ग्रिनिङ' राेगकाे प्रकाेप देखिएकाे छ।

बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाण्डाैकाे प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा 'ग्रिनिङ' रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए।

उनका अनुसार बेसीसहर नगरपालिका १ उदीपुर, बेसीसहर नगरपालिका ११ चिती, मर्स्याङ्दी गाउँपालिका ९ लामागाउँ र सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो। 

परीक्षणका क्रममा बेसीसहर नगरपालिका ११ चितीका तीन वटा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताए। 

सुन्तलामा 'ग्रिनिङ' समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने उनको भनाई छ।यस समस्याले वरिपरि रहेका बगैँचामा पनि असर गर्न सक्ने भएकाले 'ग्रिनिङ' को समस्या देखिएका सुन्तलाका बोटहरू पूर्णरूपमा नष्ट गरी नयाँ सुन्तलाका बिरुवा लगाउन उनको सुझाव छ।

अन्य किसानले पनि सुन्तला उत्पादन वृद्धिका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ। लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ। विगतमा ठूलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको छ।

प्रकाशित मिति: : 2023-01-18 08:55:00

प्रतिकृया दिनुहोस्