बिहिबार, १८ सेप्टेम्बर २०२५

समर्पण

कुसुम गौतम

कुसुम गौतम

म्यान्मार
BreaknLinks
• • •

'कमरेड अमन, तिम्रो चिठी आएको छ' टेन्ट बाहिरबाट कसैको आवाजले अमन लेखिरहेको डायरी छेउको मेचमा राखेर बाहिर निस्कन्छन्। उनकै एक कमरेड साथीले गुलाबी रङको खाम उनको हातमा राखिदिन्छन्।

अमनले गुलाबी चिठीको खामलाई ओठले स्पर्श गर्दै साथीलाई एउटा हल्का मुस्कान दिन्छन् र टेन्टभित्र पस्छन्। उनलाई थाहा छ, यो गुलाबी रङको खामभित्र चिठी हैन उनकी प्रियसीले मुटुको एकअंश नै पठाएकी हुन्छिन् भन्ने।

चिठीभित्रका सधैँकै जस्तो माया-प्रेम, पिरती, सम्झना र नियास्रोले भरिएका भारी शब्दहरूले अमनको छातीलाई बेस्सरी थिचिदिन्छन्। चिठीको अन्तमा 'तिमी कहिले आउँछौँ अमन। म तिम्रो प्रतिक्षामा जिउँदो लास बनेकी छु' लेखिएकाे थियाे। चिठीको अन्तिम वाक्यले उनको मुटु नै चिरिदिन्छ। अमनले चिठीलाई चुपचाप छातीमा टाँस्छन्। आँखाका डिलहरूलाई न्यानो आँशुका छालहरूले छुन्छन् र अतीतको लहरमा बगाउँदै लान्छन्।

सन् २०२१, पहिलो फेब्रुअरीकै दिन बिहानै 'सैनिक शासनले देशको बागडोर हत्यायो रे...' भन्ने खबरले देशभरि नै तहल्का मचिन्छ। त्यति मात्र हैन प्रजातन्त्रका नेताहरू साथै 'आमा सुकीलाई पनि सैनिकले हिरासतमा लियो रे' भन्ने समाचार वनको डढेलो जस्तै देशैभरी फैलिँदै जान्छ।

बल्ल-बल्ल देशले ५० वर्षपछि एक टुक्रा उज्यालोको आशा बोकेको थियो, तर तानासाहको तुफानले उज्यालोको अस्तित्व नै चपाइदिन्छ। देशले न्याय पाउला कि भन्ने सोचहरू पनि खरानीझैँ उडेर जान्छन्।

देशले स्वतन्त्रसंग स्वास फेर्न नपाउँदै, जनताहरूले स्वतन्त्रताको स्वाद चाख्न नपाउँदै मातृभूमि फेरि पनि अतीतको अँधेरो खाडलभित्र पस्न लाग्छ। तानासाहको अत्याचार फेरि पनि यी देशवासीले खेप्नुपर्ने भो भन्दै प्रत्येकको मनमा ज्वालाहरू विस्फोट हुँदै जान्छ। त्यसैले ठाउँ-ठाउँमा सैनिक विरोधी आवाजहरू उठ्न लाग्छन्।

सैनिक पदाधिकारीहरूले ती आन्दोलनहरूलाई गोली, बारुद, बमद्वारा दमन गर्न थाल्छन्। कति आन्दोलनकारीहरूलाई ठाउँको ठाउँ गोली हान्ने, पकडेर जेल लाने, जेलभित्र काँचै छाती चिरेर, धाँटी रेटेर मार्ने, महिला आन्दोलनकारीहरूलाई बलात्कार गर्नेजस्ता क्रूरताले गर्दा आन्दोलानकारीहरू भूमिगत हुँदै जान्छन्।

भूमिगत हुनेहरूमा अमन जस्ता नवयुवकहरूले ठूलो भूमिका निभाएका छन्। हातमा कलम र कापी बोक्ने अमन जस्ता नव युवकहरू, गुलाबका काँढाले हत्केलामा प्रेमिकाको नाम लेख्ने पागल प्रेमीहरू, भविष्यका डाक्टर, इन्जिनियरहरू समेत देशको उज्वल भविष्यका लागि आफ्ना हरेक इच्छा चाहनाहरू मेटेर हातमा हतियार उठउँदै सैनिक विरोधी बन्छन्।

अमन कलेजमा दोस्रो वर्षको पढाइ गर्दै थिए। अहिले उनी जनसेनामा भर्ति भएर जङ्गलमा देशप्रेमीहरू संगै स्वतन्त्रताको लडाइँमा छन्। अतीतको छालले अमनलाई फेरि वर्तमानको किनारमा ल्याएर पछारिदिन्छ।

घर छोडेको पनि करिब डेढ साल जति भइसकेको छ। के होला घरको हाल, के होला बाबाआमा, भाइबैनीको समाचार! आमा र बाबाले भन्नु भो रे 'एउटा छोरो मातृभूमिको लागि समर्पित गरिदियौँ। युद्धमा विजयी भए खुसी हुनेछौँ, यदि हारेछ भने पनि वीरगती प्राप्त गरेछ भनेर गौरव गर्नेछौँ' भन्नुहुन्छ रे।

मुटुलाई जति नै ढुङ्गा बनाए पनि घरको याद, राधाको चिठीले उनका आँखाका डिलहरूबाट एक/दुई छल्का उर्लिएर आउँछन्। अमनले छेउमा भएको डायरी र कलम लिएर मनभित्र गुम्सिएका भावनाहरू पोखिदिन्छन्.....

नसोध  प्रिये
कहिले आउँछौ? 
म गन्तव्य अन्तै मोडिसकेको मान्छे
म शिरमा कफन बाँधेर
कलम र कापी छोडी
गुलाबका मिठा सुगन्धलाई
बन्दुकका धुवाँहरूसंग
सम्झौता गरिसकेको छु
नाता सम्बन्धहरूका डोर फुकाएर
युद्धको मैदानमा
मृत्यु र जीवनको खेलसंग
नाता गाँसिसकेको छु प्रिय!
त्यसैले नसोध मलाई कहिले आउँछौ भनेर!
निधारका भाग्य रेखाहरूमा
मातृदेशको दायित्व कोरिदिएको छु
शरीरभित्र बगेका
रगतका प्रत्येक बुँदहरू
पवित्र धर्तीप्रति सिंचिदिएको छु
अब मेरो जिन्दगी
मेरो अधिनमा छैन
किनकी मैले 
मेरो जीवनको सम्पूर्ण भाग
मातृभूमिको लागि समर्पित गरिसकेको छु 
त्यसैले 
नसोध प्रियकहिले आउँछौ भनेर।
तिम्रै अमन
मनका भावहरूसंगै अमन र राधाको प्रेम कथा पनि डायरीभित्र बन्द हुन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!