को हुन् नवनियुक्त आइजीपी वसन्त कुँवर ?

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक भएका छन् । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागु हुने गरी उनलाई महानिरीक्षकमा पदोन्नति गरेको हो।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा पिता भीमबहादुर कुँवर र माता नमकला कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मिएका प्रहरी महानिरीक्षक कुँवरका श्रीमती लक्ष्मी पराजुली र दुई छोरा छन्। प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए। व्यावशायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ मा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख भई पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए। उनी प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक,दुर्गम सेवा पदकलगायतका मान, पदवी र विभूषणबाट विभूषित भएका छन्।

यसैगरी तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार प्राप्त गरेका कुँबर नागरिकस्तरवाट विभिन्न प्रशंसापत्रद्वारा सम्मानित भएका छन्। साथै उनले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

व्यावशायिकता, निष्ठा र इमान्दारिताको जगमा नेतृत्वदायी पेशागत कार्यसम्पादनको संगठन  अब्बल क्षमता भएका प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटीमा खटिएर काम गर्नु भई प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखमा कमाण्डको जिम्मेवारी पूरा गरेका थिए।

प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए। प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। साथै उनीसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको अनुभव गरेका कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन्।

कार्य कुशलताका हिसावले अब्बल प्रहरी अधिकृत प्रहरी महानिरीक्षक कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशलता प्रस्तुत गरेका छन्। असहज परिस्थितिमा पनि सहज तरीकाले काम गर्न सक्ने क्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको बखत नागरिकले महसुस हुने गरी अव्वल कार्यसम्पादन क्षमताको पहिचान बनाएका थिए । महानिरीक्षक कुँवरले आफू खटिएका हरेक प्रहरी कार्यालयमा आफू नमुना र उदारहरणीय रुपमा प्रस्तुत भई मातहत प्रहरी कर्मचारीहरुको मनोवल उच्च गराउने, काम गर्दा आइपर्ने चुनौतीलाई संयमित भई नविनतम र श्रृजनशिल कामलाई प्राथमिकता दिई एउटा उत्कृष्ट प्रणालीको विकास गर्ने परिपाटी बसाएका छन्।

राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए। जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उनले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको बताइन्छ ।

प्रकाशित मिति: : 2023-03-24 21:25:00

प्रतिकृया दिनुहोस्