भय र त्रासमा टिकेको सरकार

ओम आचार्य

विराटनगर
BreaknLinks
BreaknLinks

नेकपा एमालेसहित पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीबाट त्रसित बनेपछि नेपाली काँग्रेससहितका दलहरुसंग गठबन्धन गर्न पुगे। अहिले त्यो गठबन्धन १० दलमा परिणत भएको छ। गणितको हिसाबले यो संख्या सरकारको लागि उत्साहजनक हो।

यही अंकगणितकाे हिसाबले पनि सरकार बलियो छ भन्ने देखिन्छ। तर यथार्थमा त्यस्तो नहुन सक्छ। अहिले सरकार भय र त्रासमा टिकेको छ। सरकारको नेतृत्व प्रचण्डले गरेका हुनाले सरकारमा सम्मिलित भएका र सम्मिलित हुने तयारीमा रहेका सबै यो सरकार भय र त्रासको जगमा निर्मित भएको देख्दैछन्।

प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन्। त्यो कुर्सीको उर्जा, त्यो कुर्सीको राप-ताप प्रचण्डमा देखिँदैन। उनकाे अनुहारमा तेज, उज्यालोपन केही देखिँदैन। देखिन्छ त मात्र भय र मलिन। प्रचण्डको त्यही अनुहारबाट भय प्लावित भइरहेछ, जो कोहीले पनि त्यो देख्न सक्छ।

अहिले देशको आर्थिक अवस्था जर्जर छ। उद्योग व्यवसायीदेखि साना व्यवसायीहरु पनि सडकमा आन्दोलित छन्। त्यो आन्दोलनको तारो प्रचण्ड बन्दै गइरहेका छ। उनकाे उपस्थितिमै भएको समारोहमा उनकाे विरुद्ध नाराबाजीदेखि लिएर अन्य गतिविधि पनि भइरहेका छ्न्। एउटा भयको कारण यो पनि हो।

अझ ठुलो भय त उनका विरुद्धमा द्वन्द्वकालमा पीडित भएका पक्षबाटै कारवाहीको लागि अदालतमा दायर गरिएको मुद्धा हो। यही भय र त्रासको वरिपरी रहेर पूर्व माओवादीमा संलग्न नेताहरु एकै ठाउँमा उपस्थित भएर अदालतमाथि चुनौती दिनसम्म पुगे। अर्को भयको कारण यो पनि हुन सक्छ, रुसका पुटिनलाई अन्तर्राष्ट्रिय अदालतले जारी गरेको पक्राउ पुर्जी।

जे होस्, विश्वासको मत पाएर बलियो देखिए पनि वास्तवमा त्यस्तो भोलि नहुन सक्छ। जब मन्त्रिमण्डलमा नसमेटिएका दलहरुले पुन: विश्वासको मत फिर्ता लिन सक्छन्। अहिले राजनीति यसरी नै विकसित भइरहेको छ।

अहिलेको राजनीतिमा ठुला दल भनिएकाहरुले साना दलहरुलाई यही सिकाइरहेका छन्। यही राजनीतिक संस्कार दिइरहेका छन्। चाहे त्यो काँग्रेस होस् या नेकपा एमाले होस्, अझ यसमा माओवादी अघि छ। माओवादीले राजनीतिको यही शिक्षा, संस्कार दिएको छ। माओवादीको यही शिक्षा र संस्कार अव उसैतिर भारी पर्ने देखिन्छ।

भारी यस कारणले हो कि अहिले संसदमा कुनै पनि राजनीतिक दलको बहुमत पुग्दैन। संसदको अहिलेको संरचना नै यस्तो छ कि यो संसदबाट निर्मित हुने सरकार दिगो र भरपर्दो देखिँदैन। यिनै कारणहरुबाट यो सरकार सधैँ भय, त्रास, मलिन र उर्जाविहीन भएर प्रस्तुत भएको देखिन्छ।

प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने उदघोष गर्नु पनि यही भय हो। आफू सुरक्षित रहने रणनीति। विश्वासको मत दिने दलहरु पनि यति लामो समयसम्म धैर्य गरेर सरकारमा जाने लिप्सामा देखिनु नै स्वस्थ्य राजनीति देखिँदैन।

कुनै पनि दलबाट नेतृत्व गरेका सरकार प्रमुखले यति लामो समयसम्म मन्त्रिमण्डल विस्तार नगरेर मुलुकलाई अँध्यारोमा राख्न मिल्दैन। अझ वर्तमान प्रधानमन्त्रीले त १६ वटा मन्त्रालय आफ्नै मातहतमा राख्नु गणतान्त्रिक लोकतन्त्र र सुशासनको विरुद्ध हो भन्ने देखिन्छ। यो सबै भय र त्रासको अवस्थाले सिर्जित घटना हुन्।

अहिले सरकारमा जाने दलहरुले पनि आफ्नो घोषणापत्र र मतदातासमक्ष गरेका वाचाहरु, प्रतिज्ञाहरु पनि पूरा गर्न सक्ने छैनन्। अहिले सरकारमा जाने दलहरुले आफ्नो दलको भविष्यमा समेत प्रतिकुल प्रभाव पार्ने मात्र छैनन् कि यी दलको नेतृत्व गरेर जाने नेतृत्वकर्तामा समेत प्रश्न  चिन्ह लाग्न सक्छ।

अहिलेको देशको वर्तमान राजनीतिक अवस्था

आर्थिक अवस्थामा सुधार ल्याउन सकेन भने, जनताले चाहेको इच्छा, अवस्था र माग सम्बोधन हुन सकेन भने वर्तमान सरकार र त्यसमा सम्मिलित दलहरुमा दाग लाग्नेछ, त्यो कुनै पनि धोनीले छुटाउन सक्दैन। अहिले यस्तै दाग लागेकाहरु, रंग उडेका दलहरु, खुइलिएका दलहरुलाई हिजोसम्म धोवीहरुले दुरुस्त बनाउने गर्दथे। खुइलिएकोलाई चमक दिन्थे र दाग लागेकालाई दागहिन बनाउँथे। अब धोवीहरुले त्यस्तो गर्ने छैनन्। अब त्यो अवस्था छैन। त्यसैले यो सरकार भयमा टिकेको छ।

प्रकाशित मिति: : 2023-03-26 21:50:00

प्रतिकृया दिनुहोस्