रास्वपाले नेपाली राजनीतिमा चटक देखाइरहेको छः पोखरेल (भिडियोसहित)

राष्ट्रिय जनमोर्चा संसदीय व्यवस्थाको विरुद्धमा छ। संसदीय व्यवस्था महंगो भयो, देशको अर्थतन्त्रले थेग्न सक्दैन भन्छ तर आफैं संसदीय व्यवस्थाकै संघ, प्रदेशदेखि स्थानीय तहसम्म चुनावमा भने भाग लिन्छ।

भाग लिने मात्र होइन। संघदेखि प्रदेशको सरकारमा भाग खोज्छ। यसले जनमोर्चाको दुई चरित्र देखिन्छ। आज हामीले जनमोर्चाको दुई चरित्र कहिलेसम्म ? संसदीय व्यवस्था अन्त्य गर्ने भन्ने पार्टीहरुबीच सहकार्य किन हुन सक्दैन ? आदि विषयमा कुराकानी गरेका छौँ।

प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि धुब बस्यालले जनमोर्चानिकट विद्यार्थी संगठन अखिल छैठौँका पूर्व अध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका युवा नेता विमल पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंशः


राजतन्त्रबाट देश विकास सम्भव भएन भन्ने नेपालका राजनीतिक दलहरुले किन अस्थिरताको खेल खेलिरहेका छन् ?

नेपालको राजनीति जुन ढंगले अगाडि जानुपर्ने थियो गएको छैन। निर्वाचनपछि सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचन स्वभाविक नै हो तर सरकार गठन गर्ने तरिका व्यक्तिगत स्वार्थ केन्द्रीत देखियो।

निर्वाचनपछि पहिलेको गठबन्धन भत्काएर वाम गठबन्धन भयो। तर, त्यो सरकार निरन्तर चलेन। किनभने एमालेसँग गरेका भित्री वाचाहरु जे–जे थिए प्रधानमन्त्रीले पूरा गर्न सकेनन् र फेरि नेपाली काँग्रेस, माओवादी लगायत गठबन्धनको सरकार बन्यो।

भागबण्डामै अडिएको अहिलेको सरकार पनि कतिबेला टुट्ने हो अनिश्चित छ। अहिले नेपालको राजनीति व्यक्ति केन्द्रीत, स्वार्थ केन्द्रीत, पदलोलुप प्रवृत्ति र देश जनताको आवश्यकताभन्दा पनि व्यक्ति केन्द्रीत भएको छ।

राजनीतिमा देखिएको अस्थिरता र त्यसबाट हुन नसकेको विकासले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। उनीहरुको उदयलाई कसरी हेर्नुहुन्छ ?

कुनै मन्दिरमा मेला लाग्यो भने विभिन्न प्रदर्शन, भीड हुन्छ। मेला हेर्न जानेहरुको कुनै निश्चित उदेश्य हुँदैन। ठिक त्यस्तै गतिविधि नेपालको राजनीतिमा देखिएको छ । किनभने, कुनै दर्शन, विचार, सिद्धान्त, राजनीति, नीति र संगठनले काम नगर्ने भएको छ।

कत्तिबेला के हुन्छ अनिश्चित छ, जस्तै: मेलामा बाजाहरु बजिरहेका हुन्छन्। मान्छेहरु आ–आफनो ढङ्गले नाचिरहेका हुन्छन्। आफ्नो तालले हिँडिरहेका हुन्छन्। नेपालको राजनीति पनि त्यस्तै भएको छ।

तर, राजनीति त्यो होइन। तपाईंले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको उदय कुरा गर्नुभयो त्यो मैले भनेकोझैं मेलामा देखिएको भीडको दुश्य मात्र हो। किनभने, निश्चित दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम र भीडलाई सम्हालेर लैजाने संगठन रास्वपामा छैन। राजनैतिक मेला हेर्न गएकाहरुले भोट हाल्दिएर २० वटा सिट आयो। त्यो जमातलाई रास्वपा भन्दिए।

उनीहरुको तमासा भने अझै हेर्न बाँकी छ। केही सांसदहरुको तमासा हामीले अहिले पनि देखिरहेकै छौँ। आफ्नो खल्तीमा भएको नागरिकता नक्कली वा सक्कली थाहा नपाउने र दुई करोडको बार्गेनिङ अडियो सार्वजनिक हुने तमासा देखिएकै छ। उनीहरुको राजनीति मेलाको भीड हो। अहिले रास्वपाले नेपालको राजनीतिमा चटक देखाइरहेको छ।

अहिले प्रतिनिधिसभामा बोली चर्को गर्नेहरु छन्, यसले नेपालको राजनीतिलाई सही दिशा दिन्छ कि अराजक बनाउँछ ?

संसद भनेको उच्चस्तरीय बहस गर्ने ठाउँ हो। अध्ययन, अनुसन्धान, राष्ट्रको समस्यालाई गहिरो रुपमा बुझ्ने, संविधानमा भएका कमिकमजोरीबारे छलफल गर्ने, कस्ता कानुन निमार्ण गर्ने बहस गर्दै कानुन निमार्ण गर्ने ठाउँ हो। दुनियाँमा भएका कानुनहरुको कसरी निमार्ण भयो ? कस्ता शासन प्रणाली लागु भएका छन् ? बनाएका कानुन कसरी लागु हुँदैछन् ? यी विषयमा गहिरो अध्ययन र अनुसन्धान गर्ने ठाउँको र देशको आर्थिक प्रणालीलाई कता लैजाने भन्नेबारे छलफल ठाउँ सांसद हो।

तर, अहिले संसदमा सांसदहरुले बोल्ने विषय जनताको चासो भन्दाको परको विषय बन्न लागेको छ। किनभने, शून्य समय भन्यो एक–अर्का बोल्छन् सकियो। सांसद जनताप्रति जवाफदेही र जिम्मेवारविहीन भएको देखिन्छ। जनताले संसदमा सांसद भएको महसुस गर्न पाएका समेत छैनन्।

तत्काल संसद सुरु भएको तीन महिना भएको छैन। कुर्सी पूरै खाली देखिन्छ भनेपछि ती सांसदहरु हाजिर लगाएर बाहिरिने, भत्ता पकाउने काम गरिरहेका छन्। यो नेपाली जनता र संसदीय प्रणालीका लागि निकै दुःख लाग्दो परिस्थिति हो। विभिन्न तहबाट यसलाई जनता, मिडिया र नेपाली जनता, मतदाताले खबरदारी गर्ने समय आएको छ।

युवाहरुले उनै रवि लामिछाने, ज्ञानेन्द्र शाहीकै चर्को बोली मन पाराइरहेका छन् ? तपाईं युवाले मन पराएको कुरलाई किन नकारेको ?

व्यक्तिका कुरामा नजाउँ। मुलतः संसदमा कस्ता विषयवस्तुको छलफल भइरहेको छ भन्ने हो। राप्रपाले अहिले काँधमा सिनो बोकिरहेको छ। त्यो भनेको राप्रपाले हिन्दू धर्मलाई अस्त्र बनाइरहेको छ। नेपाली जनताले फ्याँकेको राजतन्त्र बोकिरहेको छ। र, भनिरहेको छ हामीले कस्तुरी बोकिरहेका छौँ।

वास्तमा राप्रपाले नेपाली राजनीति कहाँ लग्न थालेको छ ? धार्मीक द्वन्द्व निम्त्याउन खोज्दैछ। अहिले दुई प्रकारका खराब प्रवृत्तिहरु संसद र राजनीतिमा देखिएका छन्। एउटा क्रिश्चियन साम्राज्यवाद। जसले धर्म किन्ने, पास्टरहरुलाई गाउँ-गाउँ पुर्‍याउने र त्यसलाई राजनीतिक संरक्षण गरिरहेको छ। यसले नेपाली समाजलाई विभाजित र अस्थितर बनाउँदैछ। साम्राज्यवादले जसरी क्रिश्चियन बनाउँन पैसामा नागरिकलाई किनिरहेको छ, यसलाई तत्काल रोक्नु पर्दछ।

धर्म व्यक्तिको आस्थाको विषय हो। नेपाली जनता सचेत हुन जरुरी छ। कसैले कोही धर्म मान्ने भनेर कसैले भन्ने होइन। नेपालमा आफ्नै धर्म, संस्कृति छन् र यहाँ मिलेर बसेका नेपालीलाई द्वन्द्वमा लग्न मिल्दैन। हिन्दू धर्म धेरै छन् भनेर अरु धर्मलाई थिचोमिचो गर्न मिल्दैन।

रास्वपाले र जनमोर्चाको एउटा मान्यता मिल्छ संघीयता मान्दैनौँ भन्ने। तर, यस विषयमा किन सहकार्य हुन नसकेको ?

संघीयताको नेपालमा जस्केलाबाट छिराइएको हो। अहिले संघीयता प्रचारप्रसार गरिँदैछ। संघीयता भएको पाँच वर्षमा देशको अर्थतन्त्रले धान्न अवस्था छैन। देश टाट पल्टिने विषय संघीयतासँग जोडिएको छ।

रास्वपाले प्रदेश मान्दैन भन्ने छ। यो हामीसँग मिल्छ तर उहाँको कुरा छाड्नुस, न उहाँहरुसँग विचार छ, न दृष्टिकोण छ, न यो पार्टीले आकार प्रकार ग्रहण गरेको छ। २० जना सांसद छन् रास्वपा त्यत्ति हो। तर, नेकपा मसाल वा राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्नुको अर्थ पिछाडिएको सामाजिक संरचना, आर्थिक रुपमा निकै कमजोर मुलुक र नेपालजस्तो सानो भौगोलिक क्षेत्र भएको मुलुकमा यी थुप्रै प्रदेश बनाएर र त्यहाँका सांसद, मन्त्रीलाई पैसा खुवाएर अर्थतन्त्र स्वहा पार्ने संघीयतालाई हामीले फाल्न चाहन्छौँ।

संघीयता नमान्ने र जनताको बोली बोल्ने भन्ने तपाईंको पार्टीले एक सिट जित्यो, अनि त्यही एक सिट जितेको तपाईंको पार्टी संघीयताको बचाऊ गर्ने शक्तिसँग गएर मुख मिलाउनु जनताको अपमान भएन र ?

कति सिट जितियो भन्ने विषय राजनीतिमा गौण विषय हुन। हाम्रो दर्शन सांसद जित्ने मात्र हुन र ? कुरा त्यसो होइन। राजनीतिक चेतना भनेको निकै दुर्गामी समयसम्म राजनीतिक चेतना जागृत गर्ने विषय हो।

नेपालका नयाँ पुराना सबै दल उस्तै हुन। जुन नयाँ भनेको रास्वपाको सत्तामोहले पुष्टि गर्छ। यसलाई कसरी हेर्नुहुन्छ ?

यो निकै महत्वपूर्ण प्रश्न हो। आफ्ना अपराध लुकाउन रवि लामिछाने राजनीतिमा आए। नागरिकताबाट बच्च राजनीतिमा आए पनि तर सर्वोच्चले बचाएन। नेपालको राजनीति कस्तो भयो भने कसैले आर्थिक अपराध गरेमा जोगिन राजनीतिमा, गुण्डागर्दी गरे जोखिन राजनीतिमा, शिक्षाको व्यपार गर्ने जोखिन राजनीतिमा, मेडिलक माफियाहरु जोखिन राजनीतिमा, विनोद चौधरीमा राजनीतिमा आए।

राजनीति त अपराध जोगाउने जस्तो भयो। राजनीतिबाट यिनलाई ठेगान लगाउनुपर्छ। राजनीतिमा त देशको भविष्य बनाउने मान्छे पो आउने हो। विचार, दर्शन बोकेपछि मात्र राजनीति गर्ने हो। अपराध गरेर होइन। देशको भविष्य बनाउनेहरु अरबमा छन्।

तपाईंहरुले कल्पना गरेको व्यवस्था कस्तो हो ?

हामीले सोचेको भनेको व्यवस्था समाजवादी व्यवस्था हो। अहिलेको जस्ताे भ्रष्ट व्यवस्था होइन। अहिलेको व्यवस्था बदनाम भइरहेको छ, जसरी राजतन्त्र बदनाम भएको थियो। त्यसैले जसरी राजतन्त्र जनताले फालेका थिए, उसैगरी यो व्यवस्था पनि जनताले फाल्नेछन्।

प्रकाशित मिति: : 2023-04-10 20:25:00

प्रतिकृया दिनुहोस्