आइतबार, १३ जुलाई २०२५

‘सुप्रिमो’लाई इँट्टा–मजदूरको ‘रक्तिम’ शुभकामना !

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-04-14 22:00:00
News Image
तस्विरः राससकाे सहयाेगमा
• • •

पात्रो फेरियो। मौसम फेरियो। ऋतु फेरियो। व्यवस्था फेरियो। सत्ता फेरियो। तर उस्तै छ, दैनिकी। उस्तै छन्, कथा–व्यथा। उस्तै छ, खाल्डोभित्र हराइरहेको ‘इँट्टा–जीवन’।

जग–जगमा हिँडिरहेका छन्, मानिसहरू। उनीहरूले ‘सुबह से शाम तक’ लगाइरहेका छन्, फन्को। नयाँपन खोज्दै नथामिएका पाइलाहरू दशकौँदेखि कनिकुथी दौडिरहेका छन्। तन्किरहेका छन्।

‘अहो! एउटा सन्देश झण्डै बिर्सिएछु’। आज वैशाख १ गते। चारैतिर उत्सव छ। जताततै रमाइलो छ। यो ‘साल फेरिएको दिन रहेछ’। नयाँ वर्षको शुभकामना छ। तर ‘दिइरहेका शुभकामनाका शब्द’ मेरा होइनन्, यी रोल्पाली ‘इँट्टा–मजदूर’का शब्द हुन्।

०००

शुक्रबार, काठमाण्डूमा रमझम छ। अर्कोतिर भक्तपुरको श्री सरस्वती इँट्टाभट्टामा धमाधम काम भइरहेको छ। आजको दिन देशमा जे भइरहेको छ, इँट्टाभट्टामा त्यो छैन। मालिकले ‘नयाँ वर्षको दिन बिदा मनाऊ’ भन्दापनि मजदूरहरू काममै फर्के। किनकि उनीहरूलाई उत्सव मनाउन बिदा होइन, दैनिकी चलाउन रुपैयाँ चाहिएको थियो।

रोल्पाका ‘रक्तिम–मजदूर’ बमबहादुर रोका तीन वर्षदेखि भक्तपुरकाे श्री सरस्वती इँट्टाभट्टामा काम गर्छन्। एकाबिहानै झुत्रो कपडा लगाएर इँट्टा बोकिरहेका उनी ‘गुजाराको जोहो गर्नुपर्ने’ बाध्यता सुनाउँछन्। ‘नयाँ वर्ष भनेको यस्तै हो हजुर आउँछ–जान्छ। हामीलाई कहिल्यै मतलब हुँदैन। काम नगरेर खाना पुग्दैन। नयाँ वर्ष आयो भन्दैमा काम नगरेर पनि भएन। त्यसैले हामीहरू सबेरै काममा निस्कियौँ,’ बमबहादुरले भने।

त्यो इँट्टाभट्टामा लहरै छन्, रोल्पाका थ्रुपै मजदूर। टाउकोमाथि बर्को छ। बर्कोमाथि नाम्लो छ। पिठ्यूँमा इँट्टा बोकेका छन्। थाप्लोमा छारो छ। सफासुग्घर नभएका कपडा लगाएका छन्। पसिनाले निथ्रुक्क भिजेका छन्। उनीहरूले नबिसाइकन इँट्टा ओसारिरहेका छन्। थकान छ। पीडा छ। त्यहाँ एउटा सिंगो रोल्पा छ। अनि रोल्पालीहरू इँट्टा बोकिरहेका छन्।

मजदूरका नानीबाबुहरू इँट्टाको अग्लो पहाडसामु खेलिरहेका छन्। नयाँ वर्षको पहिलो बिहानी भएर–होला, उनीहरू चिटिक्क परेका छन्। नयाँ कपडा लगाएका छन्। ‘हाम्रो नयाँ वर्ष त यस्तै भयो तर साना–साना केटाकेटीहरूले खाने–लाउने कुरामा चिज गर्छन्, त्यसैले उनीहरूलाई नयाँ कपडा किन्देका हौँ। अब यिनीहरू दिनभर खेल्छन्,’ अर्का मजदूर अजय मगरले आफ्नो व्यथा सुनाए।

सत्ता राजनीतिमा रोल्पाको बेग्लै शान छ। के पाएन रोल्पाले– उपराष्ट्रपति पायो। सभामुख, उपप्रधानमन्त्री पायो। गृहमन्त्री पायो, अर्थमन्त्री पायो। उर्जामन्त्री, मुख्यमन्त्री पायो। प्रचण्डलाई दश वर्ष लुकायो। प्रचण्डलाई पहिलोपटक हजारौँ मतान्तरले जितायो। रोल्पाले ‘सांसद त कति हो कति’ पायो। तर गरिखाने वर्गको जीवनस्तर उकास्ने एउटा गतिलो नेता पाएन।

नेता जन्माउने रोल्पाले किन दुःख बिसाउने चौतारी भेटाएन? प्रश्न अनेकौँ होलान्, उत्तर पनि आउलान् तर उपत्यकामा छरिएर मजदूरी गर्दैआएका रोल्पालीहरूको वास्तविक पीडा कसले भुलाउने? कहिले भुल्ने?

०००

पचासको दशक बित्यो। साठीको दशक बित्यो। अनि सत्तरीको दशक पनि बित्यो। ०५२ सालतिर रोल्पाबाट सल्किएको द्वन्द्वले गाउँ जलायो। घर–परिवार भाँड्यो। बाआमा मारिए। कलिला नानीबाबुहरूले शिक्षालय छाडे। ‘युद्ध’को नाउँमा कैयौँ बेपत्ता पारिए। खै! कहाँ छ न्याय, कहाँछन् बेपत्ता पारिएका व्यक्तिहरू तर जिउँदा रोल्पालीहरू भने इँट्टाभट्टामै छन्।

०६३ साल मंसिर ५ गते तत्कालीन गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही–सुप्रिमो ‘प्रचण्ड’ले दन्किरहेको आगो निभाए। तर त्यो द्वन्द्वको भुँग्रोमा पेलिएका रोल्पालीहरूको सपना अन्ततः ‘खाडी र खाल्डो’मै थन्कियो।

रोल्पा– शान्ति प्रक्रियापछि ‘आफू बदलिने सपना’ देखिरहेको थियो। रोल्पाली जनताले उस्तै खालका सामान्य सपना नदेखेका होइनन्। तर यी सबै सपना ‘सपना’मै सीमित रहे। आज यो मुलुकको प्रधानमन्त्री उनै व्यक्ति छन्, जसले रोल्पालाई भविष्यको आशा वा कल्पना देखाएका थिए।

‘कमरेड प्रचण्ड’ यतिबेला सिंहदरबारमै छन्। उनी एकताका रोल्पाली जनतालाई राम्रोसित चिन्थे। आफूलाई जमिनको सारथी ठान्थे। त्यतिखेर बेलाबेला रोल्पा पनि जान्थे। तर आजभोलि सत्ता राजनीतिमा रमाइरहेका छन्। रोल्पालीलाई भुलेका छन्। मजदूरले अड्डा जमाइरहेको भक्तपुरको इँट्टा उद्योग कहिल्यै गएनन्। कहिल्यै रोल्पाली भेटेनन्। उनीहरूले भोगिरहेको ‘इँट्टा–जीवन’ पत्तो पाउने कोशिशसमेत गरेनन्।

‘संकल्प गरौँ, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ। राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ,’ उनै प्रधानमन्त्री प्रचण्डले वैशाख १ को अवसर पारेर शुक्रबार एउटा सन्देश सम्प्रेषण गरे। तर उनले भनिरहेको नेपाली जनताको ‘सामाजिक जीवन’ भक्तपुरमा बाँचिरहेका रोल्पाली मजदूरजस्तै छ। फगतः बोलिने र भनिने शब्द–वाक्यको कुनै अर्थ छैन। प्रधानमन्त्रीज्यू क्यालेन्डर परिवर्तन भयो तर हाम्रो दैनिकी हिजोजस्तो छ, आज पनि त्यस्तै छ।

सत्ताको रंगरसमा अलमलिएका ‘कमरेड प्रचण्ड’लाई इँट्टा मजदूरको एउटा गम्भीर प्रश्न छ– प्रधानमन्त्रीज्यू तपाईंले नेतृत्व गरेको राज्य कतै ‘विभेदकारी’ त छैन! यो समाज असमान रुपमा चलिरहेको त छैन? एकखालका मान्छेहरू आज वैशाख १ गते रमाइरहेका छन्, तपाईंको परिवार पनि रमाइरहेको छ। तपाईंको मन–मस्तिष्कले कतै रोल्पाली जनता बिर्सिनुभयो कि? तर हाम्रो कुनै गुनासो छैन पीएमज्यू, तपाईंको ‘दरबारमा भव्य भोज होस्’, हाम्रो तर्फबाट नयाँ वर्षको शुभकामना छ।

०००

सूर्यले पृथ्वीमा एक–फन्को मार्नैलाग्दा उघ्रिँदै छन्, नयाँ सपना। भूइँ मान्छेको ढाडमा टेकेर ‘सत्ता–स्वार्थ’मा रमाइरहनुभएका ‘प्रिय पीएम’ज्यू! राज्यले ठगेका, दशवर्षे सशस्त्र द्वन्द्वबाट पेलिएका हामी रोल्पालीहरू आज पनि भक्तपुरको रातो माटोमा पिसिँदै आएका छौँ।

पात्रो फेरियो– हामीहरू धुलोमै छौँ। मौसम फेरियो– हामीहरूले काम गर्ने भट्टाको ताप उस्तै छ। ऋतु फेरियो– हामीहरूले महसुस गरेका छैनौँ। व्यवस्था फेरियो– तपाईं पटकपटक सत्तामा जानुभयो! सत्ता फेरियो– तपाईं प्रधानमन्त्री बन्नुभयो। न थबाङमा राजधानी बन्यो, न रोल्पाली जनताले राम्रो शिक्षा पाए। न अस्पतालमा उपचार पाए। न गाउँमै काम गर्ने वातावरण बन्यो! बन्यो त केवल, छोटे राजाहरूको लुट्ने अखडा।

‘कमरेड प्रचण्ड’ तपाईंलाई देशमा नयाँ वर्ष भित्र्याएकोमा बधाई–शुभकामना छ। आज जे–जस्तो छ, त्यो तपाईंकै कारण भइरहेको छ। राजा लखेटियो, तपाईंकै कारण। समाजवादउन्मुख संविधान लेखियो, तपाईंकै कारण। समानुपातिक र समावेशीता, तपाईंकै कारण। धर्मनिरपेक्षता र संघीयता, तपाईंकै कारण।

सत्ताको स्वाद डरलाग्दो हुँदोरहेछ, त्यो तपाईंको चरित्रबाट भान हुन्छ। तपाईंको प्रसंशा मात्र होइन तीव्र आलोचना पनि हामीहरू नै गर्छौं। पढ्न पाएनौँ, तपाईंकै कारण। अस्पताल र स्कुल भत्किए, तपाईंकै कारण। खाडी र खाल्डोमा छौँ, तपाईंकै कारण। घर–परिवार र आफ्न्त गुमायौँ, तपाईंकै कारण। शरीरभरि घाउखटिरा बोकेर हिँडिरहेका छौँ, तपाईंकै कारण। गाउँ–गाउँमा सिंहदरबार र लुटतन्त्र पायौँ, तपाईंकै कारण। र, आज सकिनसकी ‘इँट्टा–जीवन’ बाँचिरहेका छौँ, तपाईंकै कारण।

त्यो सपना। त्यो इतिहास। त्यो कहालीलाग्दो विगत। खै! कहाँ छ, आज? गुनासो तपाईंसित सबैभन्दा धेरै छ। कनिकुथी लत्रिरहेका हामी रोल्पालीको अवस्था बुझ्न भक्तपुर आउने दिन कुरेर बसिरहेका छौँ। तपाईं मात्र होइन, यहाँ आएनन् रवि दाइ। आएनन् ओली ‘बा’। आएनन् देउ‘बा’। आयो त केवल एकाबिहानै एउटा दुःखको पहाड आयो। हिजो–अस्तिजस्तै इँट्टा बोक्ने कर्म आइपुग्यो।

०००

भक्तपुरका विभिन्न इँट्टा उद्योगमा रोल्पाका हजारौँ मानिसहरूले इँट्टा बोक्ने काम गर्छन्। उनीलाई रोल्पामा जीवन धान्न मुस्किल छ। रोजीरोटी गुम्ने अवस्था आएपछि काठमाडौँ आएका हुन्। इँट्टाभट्टामा पसेका हुन्।

राष्ट्रिय राजनीतिलाई बेलामौका सहजै प्रभाव पार्ने रोल्पा र रोल्पालीहरूको रोदन किन कसैले सुन्दैन। अझ् भनौँ– सुन्नैपर्ने प्रचण्डले चाहिँ किन सुन्दैनन्। देशमा सबै कुरा फेरिँदा पनि रोल्पा किन फेरिएन– यो मजदूर वर्गको प्रश्न हो।

हेर्नोस्, कसैलाई यस्तो लाग्न सक्छ– ‘रोल्पा नबन्नुमा प्रचण्ड वा कुनै अमुक व्यक्तिको मात्र दोष छ? यो त नेपाली समाजको दुर्भाग्य हो।’ तर्क आ–आफ्ना होलान्, मत आ–आफ्ना होलान् तर रोल्पाले भोगिआएको ‘वर्तमान–जीवन’ले प्रधानमन्त्री प्रचण्डलाई वेस्सरी पोल्छ!

‘कमरेड प्रचण्ड’ सत्ता वरिपरि हुँदा रोल्पाले थप पीडा महसुस गर्छ। न्याय खोज्छ। रुन्छ, कराउँछ! चिच्याउँछ। हाम्रो जीवनस्तर उकास्देऊ भन्छ। बालबच्चा पढाइदेऊ भन्छन्, मजदूर। तर सुन्ने कसले, ‘प्रचण्ड सरकार’ मौन छ। सचिवालय निन्द्रामा छ। रोल्पा रोइरहेको छ। मजदूरहरू इँट्टाभट्टामा छन्। प्रचण्डले नयाँ वर्षको शुभकामना बाँडिरहेका छन्। ‘सुप्रिमो’लाई इँट्टा–मजदूरको ‘रक्तिम’ शुभकामना छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?