गाह्रो हुँदैछ अमेरिका, टाढा हुँदैछ नेपाल

नेपाली मिडियामा अमेरिकामा त यस्तो हुन्छ, उस्तो हुन्छ भनेर सबै राम्रैराम्रो मात्र हुन्छ कि जस्तो गरेर सामग्री सम्प्रेषण भइरहेका हुन्छन्। मिडियाले गरेको एक किसिमको त्यही एजेण्डा सेटिङको भरमा नेपाली समाजमा अमेरिकाको जबर्जस्त ‘सुकिलो छवि’ बनेको छ।

त्यही छविका कारण धेरैजसो नेपालीले एउटा सपना देख्ने गरेका छन्। बोलीचालीको भाषामा ‘अमेरिकी सपना’ भनिने त्यो सपनाको मूल्य बढी नै छ। यद्यपि, अमेरिकी सपना देख्ने त्यो नेपाली लोभ कम भएको छैन, बढेकै छ।

अब प्रश्न उठ्छ– के साँच्चै अमेरिका मिडियाले एजेण्डा सेटिङ गरेजस्तै सपना देख्ने गरी बिछट्टै राम्रो छ त ? के अमेरिकी समाज आजको आदर्श मानक समाज हो त ? के यहाँ समस्या नै छैनन् ? अझ भनौँ अमेरिकाले हरेक प्रश्नको उत्तर पाइसक्यो; यहाँ कुनै प्रश्न नै छैनन् ?

अहँ, त्यस्तो पटक्कै हैन। अमेरिका पनि अहिलेको विश्व भूमण्डलीयकरणबाट प्रभावित यही ‘ग्लोबल भिलेज’को एक खण्ड हो। अझ, यहाँको हावापानी र प्रकृति टिठलाग्दो छ। ठूलाठूला युद्ध बेहोरेको अमेरिका अझै पनि युद्धपूजक प्रकृतिबाट बाहिर आउन सकेको छैन। भेट्रन कल्चरको दबदबा अझै पनि छ। हरेक राजनीतिक मुद्दाहरूको केन्द्रमा भेट्रन र यहुदी नै हुन्छ।

थाहा छ, अमेरिकी सपना  क्रमशः भ्रममा अनुवाद  हुँदैछ। तर , यही बेला नेपाल फर्कने बहाना पनि बाँकी छैन। छोराछोरी पुस्ता अमेरिकामै रमाउन थालिसक्यो। उसलाई नेपाल फर्काउन सम्झाउने तर्क छैनन्, भएका पनि निम्छरो भैसके। आखिर कसका लागि र के का लागि फर्कने नेपाल ?

प्रविधिको चरम विकासले मानवीय समवेदनाको क्षयीकरण पनि त्यत्तिकै छ। अझ त्यसमा पनि अमेरिका आफैंमा आप्रवासीको देश हो जहाँ संसारभरका अलि बढी महात्वाकांक्षी र स्वार्थी मानिस बास बस्न आइपुगेका छन्। अमेरिका आउँदा उनीहरू आफैं मात्र आएका छैनन्, उनीहरूका महत्वाकांक्षा र स्वार्थ पनि सँगै आएका हुन्छन्। ती सबैको व्यवस्थापन गर्दै जन्मेको देश छोड्नु र बनाएको देश अंगाल्नुको दबाब पनि चर्को छ।

अमेरिका एक दिन अगाडि पुग्नेले आफूलाई रैथाने ठान्छ र एक दिन पछाडि आउनेलाई शरणार्थी भन्छ। यो रैथाने र शरणार्थीको विभाजन रेखा केही वर्ष यता अरू मोटो हुँदैछ। अमेरिका राजनीतिक रूपमा रातो र नीलोमा त विभाजित छ नै, यहाँका मानिसको अनुहारको रङको आधारमा कालो, खैरो र सेतो अमेरिकामा पनि जबर्जस्त किसिमले विभाजित छ।

अमेरिकी समाजशास्त्रीहरू नै भनिरहेका छन्, अमेरिकी विभाजन पहिला तेर्सो मात्र थियो, अहिले ठाडो हुँदैछ। यसरी चार फ्याक भएको अमेरिकामा अरू जटिलता थपिएका छन्।

अमेरिकाको आन्तरिक आयाममा मात्र जटिलता छैनन्, बाह्य आयाममा पनि त्यतिकै जटिलता छन्। अमेरिका आफ्नो भूगोलमा मात्र सिमीत छैन, एलायन्सका नाममा संसारभर छरिएरको छ। ठाउँ ठाउँमा ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन्, आफ्नो मात्र हैन, अरू धेरैको सुरक्षाको पनि जिम्मा लिएको छ।

यति मात्र होइन, अमेरिका आफूलाई मानवअधिकार, स्वतन्त्रता र प्रजातन्त्रको एकलौटी ग्लोबल ठेकेदार पनि ठान्छ। यो ठेकेदारी दाबीका कारण उसले थुप्रैखाले शत्रु कमाएको छ। राजनीतिक रूपमा कम्युनिष्ट शत्रु छन्, धार्मिक रूपमा कट्टरपन्थी मुस्लिम शत्रु छन्, सामरिक रूपमा रूस–चीन शत्रु छन्। शत्रुको सूची बनाउँदै जाँदा अमेरिकी शत्रुको सूची लामै हुन्छ।

यी सबै भूमिका र दायित्वका कारण अमेरिकाको खर्च पनि ठूलो छ। संसारभर चल्ने अमेरिकी डलर जति छापे पनि हुन्छ भनेजस्तै गरेर डलर छापेर प्रचलनमा ल्याउँदा अमेरिका अहिले ३३ ट्रिलियन डलर ऋणमा छ। यो अमेरिकाले ऋण लिन पाउँने सीमा हो। यो सीमा नाँघ्न उसले कंग्रेसको रिपब्लिकन पर्खाल नाघ्नुपर्ने हुन्छ। अहिलेका लागि यो सहज छैन।

अमेरिकाका मुद्रास्फिति, महँगी, ब्याजदर, बेरोजगारीलगायतका सबै आर्थिक सूचाङ्कहरू निराशलाग्दा छन्। यसले अमेरिकी समाजमा हतासा, निराशा र कुण्ठा चुलिएका छन्। परिणामस्वरूप अपराधको ग्राफ ह्वात्तै बढेको छ। मास सुटिङका घटनाले अमेरिकालाई अत्याएको छ। अमेरिकालाई बचाउने भनिएका दुई जी ‘गड’ र ‘गन’ मध्ये एक जी ‘गन’ले मार्न थालेको छ भने, अर्को जी गड पनि उपायहीन हुँदै गएको हो कि जस्तो अवस्था छ।

अमेरिकी वास्तविकता यस्तो भए पनि अझै अमेरिकाका बारेमा बनेका मिथकहरू पूरै च्यातिएका छैनन्। त्यो क्रममा केही गति भने देखिएको छ। त्यसका लागि गुगल, युट्युवलागयतका मिडिया प्लेटफर्मका कन्टेन्टले निक्कै सघाएको छ। अमेरिका पुगेर फर्केका र अमेरिकामा बसेकैले बताउने अमेरिकी यथार्थ पनि अब क्रमशः पत्याउने वातावरण बन्दैछ। यद्यपि, अमेरिकाका बारेमा बनेको सुकिलो छवि र त्यसका कारण अमेरिकी सपना देख्नेको कमी छैन।

धेरैलाई लाग्दो हो, अमेरिकी सपना नेपालीको मात्रै सपना हो। हैन, यो संसारभरकै मानिसको लगभग साझा सपना हो। त्यही सपना देख्नेहरूकै कारण आज पनि अमेरिका विश्वभरका मानिसको नम्बर एक गन्तव्य रहेको छ।

अमेरिकाका बारेमा एउटा बहुचर्चित भनाइ छ– अमेरिकाका बारेमा जे सुनिन्छ, त्यो एक–चौथाई सत्य हो, जे पढिन्छ त्यो आधा–सत्य हो, जे देखिन्छ त्यो तीन–चौथाईं सत्य हो, बाँकी एक–चौथाई अमेरिका कहीँ कतै सुनिदैन, पढिदैन, देखिदैन, नभेटिई जो कोही पनि यो संसारबाट विदा हुन्छ।

यही नै अमेरिकी सिक्रेट पनि हो र यथार्थमा अमेरिका यही सिक्रेटको आधारमा संसारभरका मानिसलाई अमेरिकी सपना देखाएर लोभ्याइरहेको छ भन्दा फरक पर्दैन।

यही मेसोमा अर्को एउटा जबर्जस्त प्रश्न पनि उब्जन्छ– आखिर अमेरिका जे हैन, त्यही हो भनेर किन मानिस पत्याइरहन्छन् त ?

यसको मूल कारण अमेरिकी समाचार ‘फ्लो’को प्रभाव हो। आमसञ्चारमा फ्लो भन्ने एउटा शव्दावली हुन्छ, त्यसको नेपालीमा समाचार प्रवाह भने हुन्छ। त्यसलाई समाचारको प्रवाह त भन्न सकिन्छ तर त्यसले त्यसको ओज बोक्दैन। यसलाई बुझ्न पानीको प्रवाहको उदाहरण दिन सकिन्छ। जस्तो कि– पानी उकालोबाट ओरालोतिर बग्छ, त्यस्तै समाचार ग्लोबल–नर्थबाट ग्लोबल–साउथतिर प्रवाह हुन्छ।

आमसञ्चारमा ग्लोबल–नर्थ समाचारको धनी गोलाद्र्ध हो भने ग्लोबल–साउथ समाचारको गरिब गोलाद्र्ध। समाचारको धनी गोलाद्र्धमै संसारका ८० प्रतिशत समाचार उत्पति हुन्छन् र गरिव गोलाद्र्धतिर प्रवाहित हुन्छन्। यसैलाई समाचारको फ्लो भनिन्छ। बाँकी २० प्रतिशत समाचार गरिब गोलाद्र्धमा उत्पति भएर धनी गोलाद्र्धतिर प्रवाहित हुन्छन्, यस्तो समाचार प्रवाहलाई कन्ट्रा–फ्लो भनिन्छ।

समाचारको फ्लो सधैं सङ्लो हुँदैन, यदाकदा साउने भेलजस्तो धमिलो पनि हुन्छ। फ्लो धमिलो हुँदा त्यसमा सूचना मात्रै हँुदैनन् भ्रम र गलत सूचना पनि सँगसँगै प्रवाहित भैरहेका हुन्छन्। त्यसैले फ्लोलाई पश्चिमा मिडियाहरूले आफ्नो भुइँ सफा देखाउन प्रवाह गर्ने एक किसिमको मिसइन्फर्मेसन र डिस्इन्फर्मेसनको प्याकेज नै हो भन्ने गरिन्छ।

यही फ्लोले अमेरिकाको सुकिलो छवि बनाइ दिएको हो। जस्तो कि, अमेरिकी प्रजातन्त्र, महिला स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आदर्श राजनीति, उच्चतम शिक्षा र स्वास्थ्य अवस्था आदि– इत्यादि। वास्तवमै भन्ने हो भने यी यावत पक्षमा नेपालमा जे जस्ता धारणा बनाइएका छन्, ती सबै तथ्यभन्दा निक्कै टाढा छन्, अझ टाढिदैछन्।

अमेरिका राजनीतिक रूपमा वैचारिक आधारमै दुई दलीय ध्रुवीकरणमा छ। प्रणालीहरू मान्य र स्थापित छन्। बाहिरबाट देखिदा अमेरिकी समाज आधुनिक जस्तो देखिए पनि यहाँको रैथाने समाज ज्याँदै परम्परागत छ। विज्ञान प्रविधिको चरम विकास र बाहिरबाट आएका आप्रवासीको चर्को दबाबका कारण मात्र यो समाज चलायमान भएको हो। अन्यथा, अहिले पनि यहाँका मानिस बाइबलकै आधारमा धारणा बनाएर जीवन चलाइरहेका हुन्थे।

अमेरिकी राजनीतिमा धेरै सुनिने एउटा शव्दावली छ, अमेरिकी क्यारेक्टर्स। उनीहरू जहिले पनि यो वा त्यो वहानामा भनिरहेकै हुन्छन् कि ‘यो अमेरिकी क्यारेक्टर हैन।’ खासगरी २०१५ मा डोनल्ड ट्रम्पको आँधीबेहेरीझै राजनीतिक उदय भएपछि यो शव्दावलीको अधिक प्रयोग हुँदै आएको छ।

ट्रम्पले राष्ट्रवाद र लोकरिझ्याइँको कम्बो मेनु बनाएर सारा दक्षिणपन्थी रिपब्लिकनलाई टेस्ट गराए। टेस्ट गरेको वर्ष दिनमै उनले रिपब्लिकन भान्छामा अरू मेनु नै लगभग बन्द गराइदिए। २०१६ को चुनावमा अमेरिकी स्विइङ स्टेटको जनमत पनि त्यही फ्लेभरमा लट्ठिदा अप्रत्यासित रूपमा चुनाव जितेर ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति भए।

ट्रम्पले त्यसपछि अमेरिकाले घरभित्र र घरबाहिर जे जे गर्दै आएका थिए, ठीक त्यसलाई उल्ट्याउने कोशिस गरे। नातावादको घोरविरोध गरे तर छोरी–ज्वाइँलाई ह्वाइटहाउसमा सल्लाहकार नियुक्त गरे। व्यापारको कागजी हस्तान्तरण गरे तर पर्दापछाडि आफैंले ब्यापार गरे। चीनको घोर विरोध गर्दै अमेरिकी उत्पादनको प्रवर्द्धन गर्नुपर्छ भने तर ‘मेक अमेरिका, ग्रेट अगेन’ लेखिएको प्रचार क्याप चीनमै उत्पादन गरे। उनले अमेरिकी एकताको फलाको गरे तर श्वेत अमेरिकाको अतिरिक्त प्रवर्द्धन गरेर जबर्जस्त दुईखालको अमेरिका निर्माण गरे। विश्वभूमण्डलीयकरणको डंका बजाए तर अमेरिकी सीमामा पर्खाल ठड्याए। मानवताको ठूलो वकालत गरे तर आप्रवासीलाई घृणा गरे।

अर्थात्, वर्षौदेखि लगाएर बनाइएका मूल्य, मान्यता र चरित्रको आधारमा स्थापित अमेरिकी छवि धरासायी बनाइदिए। अमेरिकी भूमिका उल्टाइदिएर अर्कै अमेरिका बनाइदिए। उनले सन् २०२० को चुनावअघिको चार वर्षमा जे जति हर्कत गर्न सक्थे, गरेर अमेरिकालाई ट्रम्पेरिका बनाए।

अमेरिकीलाई लाग्यो ट्रम्पलाई अरू चार वर्ष ह्वाइट हाउसमा राख्यो भने पहिलाको अमेरिका बाँकी रहँदैन, ट्रम्पको नयाँ अमेरिका अस्तित्वमा आउँछ। उनलाई अमेरिकीले पराजित गराएर डेमोक्रेटिक उम्मेद्वार जो बाइडनलाई भारी मतले जिताए। तर, उनले निर्वाचनको यो परिणाम स्विकारेनन्। उल्टै, वासिङ्टन डीसीमा आफ्ना समर्थक उतारेर २०२० को जनवरी ६ मा संसदभवन क्यापिटल हलमै आक्रमण गराए। आक्रमणमा केही सुरक्षाकर्मी मारिए पनि।

यति गर्दा पनि निर्वाचन परिणाम उल्ट्याउने मनसाय पूरा नभएपछि जनवरी २० को राष्ट्रपति पद हस्तान्तरण समारोहमै सहभागी नभएर ट्रम्पले वासिङ्टन डीसी छोडे। अहिलेसम्म पनि २०२० को राष्ट्रपति निर्वाचन परिणाम स्वीकार नगरेका ट्रम्पले त्यस्तो जत्था नै खडा गरेर रिपब्लिकन पार्टी कब्जा गरेका छन्। परिणाम सबैका सामुन्ने छ, अनेकखाले संगीन मुद्दा खेपिरहेका उनै ट्रम्प २०२४ को राष्ट्रपति उम्मेद्वारको लागि रिपब्लिकन पार्टीमा नम्बर १ आकांक्षी छन्।

बहुमत अमेरिकीहरू भन्छन्, ट्रम्पले जे गरिरहेका छन्, त्यो अमेरिकी क्यारेक्टर हैन, ट्रम्पले जस्तो अमेरिका बनाउन खोजिरहेका छन्, त्यो वास्तविक अमेरिका हैन। बहुमतले भनेपछि हैन भन्न त सकिएला तर पनि अमेरिकाभित्र ट्रम्प क्यारेक्टर पछ्याउने एउटा ठूलो अमेरिका छ। जुन अमेरिका आप्रवासीका लागि खतरनाक छ, श्वेत रङका बाहेक अन्य अमेरिकीका लागि घातक छ, रूढीबादी उग्रदक्षिणपन्थी अमेरिकी बाहेक अन्यका लागि असुरक्षित पनि छ। जुन अमेरिकामा गर्भपतन गर्नु अपराध हुन्छ, गर्भनिरोधक औषधीहरू प्रतिवन्धत हुन्छन्, तेस्रो लिङ्गीहरू हुलहुज्जत गरिन्छ, बन्दुकको गुणगान गरिन्छ र मास सुटिङ गर्नेको अनुहारको रङ हेरेर घटनाको परिभाषा गरिन्छ।

यसरी बाँडिएको अमेरिकामा नेपाली मूलका अमेरिकी पनि बाँडिएका छन्। अधिकांश मूलधारकै अमेरिकी रहे पनि छिटफुट ट्रम्प र उनको अमेरिकाका समर्थक पनि भेटिन थालेका छन्। यस्ता नेपाली आर्थिक रूपमा अलि सक्षम, अमेरिकी कागजातको व्यवस्था गरिसकेका र आफू र आफ्ना आइहाले अरू कोही पनि नेपाली अमेरिका नआउन् भन्ने मनसाय राख्ने छन्।

समग्रमा हेर्दा आजको अमेरिका हिजोको अमेरिका जस्तो छैन। खासगरी आप्रवासीकै देश आज आप्रवासीमैत्री छैन। यद्यपि, अमेरिकी मिडियाको ‘फ्लो’ले अमेरिकाको परम्परागत छवि धानिदिएकै छ। अमेरिका जे हो, त्यस्तो देखिनबाट जोगाएकै छ। यहाँ आइपुगेका हामी नेपाली पनि आफू अर्कै अमेरिकामा आइपुगेको भनेर खिसिट्यूरीको पात्र किन बन्ने भनेर अमेरिकाको छवि टालटुल पार्न लागेकै छौ।

हो, अमेरिकाका बारेमा जे सुनिन्छ, त्यो एक–चौथाईं सत्य हो, जे पढिन्छ त्यो आधा–सत्य हो, जे देखिन्छ त्यो तीन–चौथाईं सत्य हो, बाँकी एक–चौथाईं अमेरिका कहीँ कतै सुनिदैन, पढिदैन, लेखिदैन, न भेटिई जो कोही पनि यो संसारबाट विदा हुन्छ।

अमेरिकामा रहेका नेपाली पनि त्यही मार्गमा छौं। थाहा छ, अमेरिकी सपना  क्रमशः भ्रममा अनुवाद  हुँदैछ। तर , यही बेला नेपाल फर्कने बहाना पनि बाँकी छैन। छोराछोरी पुस्ता अमेरिकामै रमाउन थालिसक्यो। उसलाई नेपाल फर्काउन सम्झाउने तर्क छैनन्, भएका पनि निम्छरो भैसके। आखिर कसका लागि र के का लागि फर्कने नेपाल ?

प्रकाशित मिति: : 2023-04-27 21:45:00

प्रतिकृया दिनुहोस्