डोल्पामा जेठ १ गतेदेखि यार्सापाटन खुला गरिने

डोल्पामा यार्सागुम्बा संकलनको लागि यही जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पटनहरु खुल्ला गरिने भएको छ।

शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधहरुको यार्सागुम्बा सङ्कलन तथा संरक्षणसम्बन्धी सरोकारवालाहरुसँग समन्वयात्मक बैठकले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायीक वनहरुमा रहेका यार्सा पाटन यही जेठ १ गतेदेखि असार १  गते १ महिनासम्म यार्सागुम्बा संकलन गर्न पाउने निर्णय गरेका हाे।

बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जिल्लामा अवस्थित सुरक्षानिकायका प्रमुख, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका पदाधिकारी, डिभिजन वन कार्यालयका  प्रमुखसहित, जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

बहुमुल्य जडिबुटीको रुपमा पाइने यार्सागुम्बा डोल्पा जिल्लाका स्थानीय लगायत छिमेकी जिल्लाका स्थानीयहरु राम्रो आम्दानी गर्ने गर्दछन। प्रायः जस्तो स्थानीयहरु यार्सागुम्बा संकलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्दछन।

कोभिड– १९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुल्ला रुपमा संकलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाको लागि यार्सा पाटन खुल्ला गरिने भएको हो। यार्सा संकलनको लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्ला भित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावली अनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ।

यार्सापाटनमा यार्सा संकलन गर्न जाँदा निकुञ्जकाे मध्यवर्ती क्षेत्र भित्रका बासिन्दाले रु. ५००, निकुञ्ज बाहिर जिल्ला भित्रका बासिन्दाले रु. २००० र जिल्ला बाहिरदेखि यार्सा सङ्कलन गर्ने आउनेले प्रवेश शुल्क रू. ३००० का दरले काट्नुपर्ने छ। यार्सागुम्बा संकलनकर्ताहरुको लागि सुलिगार्ड, धो, साल्दाङ्ग, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ।

यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकताअनुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको करिब दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनहरुमा सर्वसाधारणको भीड हुने भएकोले विभिन्न किसिमका अपराधिक गतिविधिहरु हुन सक्ने भएकोले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्नको लागि श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा थप छलफल गरी सुरक्षा परिचालन गरिने भएको छ।

यार्सागुम्बा संकलनको अवधिमा यार्सा संकलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ।

यस्तै यार्सागुम्बा संकलनको अवधिमा सर्वसाधारणको लागि विभिन्न नाकाहरुमा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरुसँग समन्वय नि:शुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहोर मैला व्यवस्थापनको लागि यार्सागुम्बा संकलनकर्ताहरुलाई नाकाहरुमा अभिमुखिकरण गर्ने जनाइएको छ।

प्रकाशित मिति: : 2023-04-29 17:15:00

प्रतिकृया दिनुहोस्