बरियारपटी गाउँपालिकामा ब्रम्हलुट: कृषि विद्युतीकरणकाे नाममा ८५ लाख अनियमितता

सिराहाका स्थानीय तहहरूमा खुल्लमखुल्ला अनियमितता हुँदै आएका तथ्यहरू धमाधम सार्वजानिक हुन थालेका छन। यसैबीच सिराहाको बरियारपटी गाउँपालिकामा जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता गरिएकाे पाइएकाे छ।

आर्थिक वर्ष २०७६/ २०७७ मा कृषि विद्युतीरणका लागि ६ हजार मिटर तार खरिद गरेर ८५ लाख अनियमितता गरेकाे पाइएकाे छ। कृषि विद्युतीकरणका लागि गठन गरिएको बद्रीनारायण यादवको अध्यक्षतामा गठित उपभोक्ता समितिले ६० हजार मिटर विद्युत तार खरिद गरेकाे भन्दै गाउँपालिकाबाट ५० लाख भुक्तानी लिएको भेटिएकाे छ। भुक्तानी निकासामा गाउँपालिका अध्यक्ष सन्ताेष महताे, उपभाेक्ता समिति अध्यक्ष यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जितजंग अधिकारीकाे मिलाेमताे रहेकाे खुलेकाे छ।

स्राेतकाअनुसार गाउँपालिकाकाे वडा नं. १, २ र ५ मा कृषि विद्युतीकरण लागि गाउँपालिकाले उक्त उपभोक्ता समितिसँग ८५ लाख रुपैयाँको सम्झौता गरेको थियो।

२०७६ जेठ १४ गते भएको सम्झौताअनुसार २०७६ असार १६ गतेसम्म विद्युतीकरण योजना सम्पन्न गर्नुपर्ने भनि कार्यादेश दिइएकाे थियो। तर, सम्झौताअनुसार कार्यसम्पन्न नै नगरी दुई पटक गरेर ८५ लाख रुपैयाँ भुक्तानी गरेकाेप्रति महालेखापरीक्षकको कार्यालयले आपत्ति जनाएको छ।

६० हजार मिटर तार खरिद गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ६ हजार मिटर खरिद गरेर ढुवानी भाडासहित ५० लाख रुपैयाँ भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयस्रोतले जनाएको छ।

एक महिनाकाे अवधिमै २ सय ५० ज्यामी लगाई १९ पाना डोर हाजिरी फाराम संग्लन गरी ३३ लाख खर्च गरेको जनाइए पनि विश्वास योग्य नभएको पनि महालेखाले जनाएको छ। त्यस्तै महालेखाले उक्त कार्यको लागि लागत स्टिमेट स्वीकृत नभएको, कार्य सम्पन्न प्रतिवेदन सम्बन्धित पदाधिकारीबाट प्रमाणित नभएको, सामाजिक परीक्षण र खर्चको सार्वजानिकीकरण नभएको, अनुगमन रिपोर्टमा उपाध्यक्षको हस्ताक्षर नभएको बताएको छ।

कृषि विद्युतीकरणमा भुक्तानी गरिएको ८५ लाख रुपैयाँ बेरुजु देखिएपछि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंह र अध्यक्ष सन्तोष महतोबीच बेरुजु फर्छौटको विषयलाई लिएर ठुलै विवाद निम्तिएको थियो। मतभेद बढेपछि सिंहलाई सरुवा गरेर अर्का प्रशासकीय अधिकृत रञ्जितजंग अधिकारीलाई ल्याइएको थियो।

यस विषयमा प्रतिक्रिया लिन पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि अध्यक्ष महतो सम्पर्कमा आउन चाहेनन्। स्मरण रहाेस्, यही गाउँपालिकाकाे पूर्वी सीमाना जाेडिएकाे लक्ष्मिपुर पतारी गाउँपालिकाका तत्कालीन, प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसहित २३ जनाविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले हालै विशेष अदालमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ।

प्रकाशित मिति: : 2023-05-05 16:45:00

प्रतिकृया दिनुहोस्