हामीले ल्याएको गणतन्त्रमा घुनपुत्ला लाग्न दिनुहुँदैन: माओवादी नेता शर्मा (भिडियोसहित)

BreaknLinks
BreaknLinks

तत्कालीन माओवादीले सुरु गरेकाे १० वर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनको जगमा स्थापना भएको गणतन्त्रकाे डेढ दशक पूरा भएको छ। संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेकाे थियाे। साेही दिनकाे सम्झनामा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ। यस वर्ष १६औँ गणतन्त्र दिवस मनाइँदैछ।

गणतन्त्र स्थापना भएको डेढ दशकमा देशमा नेपालले संविधानसभाबाट संविधान निर्माण गर्‍याे। यो अवधिमा ठुला–ठुला राजनीतिक परिवर्तनहरु भए। तर, जनताले चाेहअनुसार परिवर्तन र उपलब्धी हासिल हुन सकेकाे छैन। यही बिचमा राजतन्त्र पुन: स्थापनाकाे आवजसमेत उठ्ने गरेका छ। आखिर जनताले रगत पसिना बगाएर ल्याएकाे गणतन्त्र याे अवस्थामा कसरी आइपुग्याे ? यसमा कसकाे दाेष ? बिएल संवाददाता ध्रुब बस्यालले नेकपा (माओवादी केन्द्र)का सचिव दीनानाथ शर्मालाई प्रश्न गरेका छन्।

प्रस्तुत छ, कुराकानीकाे अंश :


गणतन्त्र स्थापना भएको डेढ दशक भयो, यो डेढ दशकमै राजनीतिक दलहरुको अलोकप्रियता बढ्दै गएको देखिन्छ, तपाईंहरुले के काम गर्नुभयो त्यस्तो आफैं अलोकप्रिय हुने गरी ?

लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा हामीले जनताबीच लोकप्रिय बन्ने प्रयत्न गरिरहेका छाैँ। अहिले पनि गणतन्त्र अलोकप्रिय छैन। लोकतन्त्रभित्र आउने सबै मान्छेहरु राम्रा हुन्छन् भन्ने पनि हुँदैन, केही खराब मान्छेले असल समाजलाई खराब बनाउन खाेजीरहेका मात्रै हुन्, लोकतन्त्र खराब छैन। लोकतन्त्रमा प्रवेश गर्ने खराब व्यक्तिहरुले लोकतन्त्रको सुन्दरतालाई कुरुप बनाउने प्रयत्न गर्छन्, भएको यत्ति मात्र हो।

पूर्वराजा ज्ञानेन्द्रको दौडधुप देशमा मात्र होइन, बाहिर पनि देखिन्छ। यसो नियालेर हेर्ने हो भने उनको फेरि लोकप्रियता बढेको हो कि भन्ने आभास हुन थालेको छ, के गणतन्त्र असफल हुन लागेकाे हो ?

गणतन्त्र कहिले पनि असफल हुँदैन। बागमती कहिले पनि फर्किएर माथितिर आउँदैन निरन्तर अगाडि बढिरहन्छ। गणतन्त्र समाजवाद उन्मुख छ, गणतन्त्रभित्र पसेका सामन्ती अवशेषहरुको अन्त्य गरेर समाजवादतर्फ अग्रगमन भएको समाजमा अन्तरविरोध छ। कसैले मन्दिरमा गएर पूजा गर्दै देवी देवतालाई भेटी चढाउँदैमा बागमती पछि फर्किएर आउने अवस्था छैन। समयको नियम हो, निरन्तर अगाडि बढिरहन्छ, कसैले मरेर गएको बा-आमालाई पूजा गरेर फिर्ता लिन मिल्दैन।

गणतन्त्र स्थापनापछि नेताहरुदेखि कर्मचारीसम्म भ्रष्ट भएकाे देखिन्छ, जस्ताे अहिले उत्कर्षमा रहेकाे नक्कली भुटानी शरणार्थी प्रकरण भयाे। गल्ती त राजनीतिक दलहरुले नै गरेका हुन् नि ?

राजनीतिक दलहरुले गल्ती गरेका होइनन्, दलभित्रका केही स्वार्थी तत्वहरु छन्, जसले यो परिर्वतनको महत्वलाई बुझ्न नसकी आफ्नो स्वार्थलाई केन्द्रविन्दूमा राखेर जनताको हितलाई पछाडि राखेर अगाडि बढ्न खोज्नेहरुबीच केही नराम्रो काम गरेका छन्। ती तत्वहरुले गरेको नराम्रो कामहरुलाई देखाएर दलहरुलाई नराम्रो आरोप मात्र लगाइएको हो। दलीय व्यवस्थामा दल रहन्छ, दल राम्रा छन्।

हामीले ल्याएकाे गणतन्त्रमा घुन/पुत्लो लाग्दैन, लाग्न पनि दिन हुँदैन। लोकतन्त्रभित्र घुसेका सामन्तभाव बोकेको स्वार्थी तत्वलाई नामेट पार्नका लागि अहिले जे भइरहेको छ। अब यो समाजमा यो प्रकारको पञ्चायतकालदेखिका भ्रष्टहरुलाई कारबाही हुन्छ। आज भगवान पूज्दै हिँड्ने, देवी देवता मान्नेहरुले नै हिजो युरोप, अमेरिकालगायत देशमा चोरी गरेर पठाएका मूर्तीहरु, बहुमूल्यका सम्पदाहरु अहिले धमाधम पक्रिने काम भइरहेको छ। हिजो राजाहरु राम्रा थिए भन्नेहरु नै राजदरबारमा बसेर मूर्तीको बिक्री गर्ने गरेका थिए, अहिले पूजा गर्ने यिनै हुन्। सामन्ती राजतन्त्रले नै यस्ता प्रकारका कुकीर्ति र तस्करी गरेकाे थियो। गाँजा चरेससमेत तस्करी गरेको हुन्थ्यो। त्यही लिगेसी बोकेर आएका तत्वहरु अहिलेको व्यवस्था र दलभित्र छिरेकाले अहिले गणतन्त्र, लोकतन्त्र र दलहरुलाई बद्नाम गर्न प्रयास गरेका छन्। यस्ता घुनपुत्लाहरुलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ, नेपाली जनता र दलहरु एकढिक्का छन्। विकृति र विसङ्गतीले छाएको समाजलाई सफा गर्नका लागि सबै राजनीतिक दल सरकार, जनता प्रयन्तनशील छन्। दलहरुभित्र भएका यस्ता शक्तिहरुलाई दलहरुले सफाइ गर्दैछ। दलहरु गलत कहिले छैनन्, व्यक्ति गलत हुन्।

तर, गणतन्त्र स्थापनापछि सयाैँ राजाहरु जन्मिए, जनतालाई लुट्नेबाहेक केही भएन, बरु हिजोकाे एउटै राजा ठिक हो भन्ने आवाज पनि उठिरहन्छ नि ?

गणतन्त्र स्थापना नभएको भए आज यसरी खुलेआम बोल्न सक्ने परिस्थिति सम्भव थियो ? राजाको पालामा बोल्ने र लेख्ने अधिकार उनीहरुको परिवारबाहेक कसैलाई थिएन। अहिले आर्थिक, सामाजिक अधिकारसँगै गाउँ-गाउँमा विकासको पुगेको छ। हिजो राजालाई पूजा गरेर बस्ने अवस्था थियो।

आज गणतन्त्रले गर्दा दलित, जनजाति, आदिवासी, विपन्न वर्ग, मधेसी, महिला, मुस्लिमलगायत सम्पूर्णलाई संसदमा पुर्‍याएकाे छ। आफ्नो आवाजलाई बुलन्द पार्ने, सडक आन्दोलन गर्ने, जागरणको काम गर्ने र चेतनामुलक काम गर्न पाइएकाे छ। त्यसैले हिजोको राजाकाे पालामा राम्रो थियो भन्नेहरु नबुझ्ने, आग्रह, पूर्वाग्रह राखेर दलभित्र छिरेका केही स्वार्थी व्यक्तिहरु हुन्।

अझ यो व्यवस्थामा पसेर गणतन्त्रलाई धुमिलाउन लागेका केहीले यस्तो अभिव्यक्ति दिनु स्वभाविक हाे। राजाले २ सय ४० वर्ष सामन्ती रुपले बसेकाले राम्रो गरेको भन्न मिल्दैन। राजाहरुले वर्षौ खरानी बनाएको देशलाई अहिले बोटबिरुवा उम्रेको देखेर यसलाई पनि मास्न सक्रिय रुपमा लागेका छन्। जनताको हक अधिकारलाई सुनिश्चता र समानुपातिक, समावेशीता कायमको अधिकार प्राप्त गरेकाे नदेख्ने विरोधीहरुले यस्तो भन्ने गरेका हुन्।

फेरि भन्छु, मरेका बा-आमालाई धुप बालेर पूजा गरेर फिर्ता लिन सकिँदैन। गणतन्त्रलाई विस्थापित गरेर राजतन्त्र ल्याउँछु भन्नु मरेका बा-आमालाई ब्युँझाउँछु भन्नु हो। काली नदीलाई मुस्ताङ फर्काउँछु भन्नु मूर्खता हाे।

तपाईंहरुले ल्याएको व्यवस्थामा संसदमा पनि अराजकता खुबै बढेकाे छ ?

यो लोकतन्त्र हो, यसमा बेला बखत अराजक तत्वहरु आउने गर्छन्। यो समाजमा राम्रो र नराम्रो दुबै व्यक्तिहरु छन्, त्यसैले यही समाजबाट जन्मिएका अराजक व्यक्तिलाई ठिक ढङ्गले कानुन प्रयोग नहुनु र कानुन नबन्ने यो स्थिति सिर्जना भएको हो। अब संघीयता कार्यन्वयन हुन्छ, कानुनलाई कार्यन्वयन गर्न सरकार प्रतिबद्ध हुँदैछ। समाजमा हुने यस प्रकारको अराजकतालाई नियन्त्रण गरेर मर्यादित, संयम र सुशील समाज निर्माणमा लागेर, नैतिकतालाई व्यवस्थित गरेर, हामी सबै मिलेर असल समाज निर्माणमा लाग्नु हामी सबैको कर्तव्य हो। आज गणतन्त्र दिवसले हामीलाई सभ्य समाज बनाउ, समावेशी समानुपातिक समाजको निर्माणमा लाऔँ, सबै अधिकार सम्पन्नशील बऔँ भन्ने सन्देश हो।

गम्भीर अपराधमा शीर्ष नेताहरु मिलेर दोषी उम्काउनेदेखि आममाफीका नाममा पीडितलाई थप पीडा दिने गरी राजनीतिक दलको मनपरी कहिलेसम्म ?

यसलाई मनपरी भन्न मिल्दैन। संविधान, कानुनभन्दा माथि राजनीतिक दलहरु छैनन्। अदालत, संविधान र कानुन भएकाले यी क्षेत्रहरुले मुक्त गर्छ भने कसैले चाहदैमा आममाफी हुँदैन। सरकार, राष्ट्रपति, मन्त्रीहरु पनि संविधान, कानुनभन्दा माथि हुँदैनन्, हिजोको राजाजस्तै अहिलेको कानुन छैन। हिजो जे-जे भए पनि अहिले जनता छन्, जनताको प्रतिनिधि, जनताको व्यवस्था भएकाले सबै क्षेत्रमा जनता छन्। त्यसैले संविधानले गर्न पाउँछ भन्ने छ भने जे मिल्छ त्यो गर्ने हो, मिल्दैन भने अगाडि बढ्ने अधिकार कसैलाई छैन।

माओवादी, कि सक्किने कि सच्चिने अभियानमा छ, सच्चिन कति सजिलो भइरहेकाे छ ?

जनताले अब माओवादी सच्चिनुपर्छ भनिरहेका छन्। अहिले पनि केन्द्रमा माओवादी नै छ। गणतन्त्रपछि प्रधानमन्त्री बनाउने, अधिकार सम्पन्न बनाउने, सबैलाई समावेशी समानुपातिकता ल्याउने, सामाजिक जागरण ल्याउने, संविधान बनाएर घोषण गर्ने, संविधान कार्यन्वयन गर्ने ठाउँमा समेत अहिले माओवादी छ। अहिले संख्याले कमजोर हो तर संख्याले कुनै निर्धारण गर्दैन, सबैभन्दा मुख्य कुरा विचार, सिद्धान्त हो। माओवादी नै राष्ट्रिय राजनीतिको केन्द्रमा भएकाले अहिलेका काम गर्ने अवसर भएकाले सच्चिएर माओवादीभित्रका फोहोर मैला लागेका व्यक्तिहरलाई सडाएर वा सच्याएर सफा बनेर आउनुपर्छ।

गणतन्त्र स्थापना गर्न तपाईंहरुले चलाएको जनयुद्धमा हजारौँले रगत बगाए, यसमाथि प्रहार हुँदा कस्तो लाग्छ तपाईंहरुलाई ?

सबै व्यक्ति सचेत, अग्रगमतिर जान्छन् भन्ने होइन, आफूनिहित प्रकारका स्वार्थ पूरा नभए असन्तुष्ट हुनु स्वभाविक हो। कसैले खराब सोच राखेर भ्रममा बाँचेर स्वार्थको भावना राख्छ भने त्यो गलत हो। हिजो सामन्ती राजतन्त्र थियो, अहिले फराकिलो जनताको व्यवस्था छ। अब विश्व पुँजीवादले आक्रान्त पारेको छ, यसलाई प्रराष्ट गर्दै समाजवादको बाटोमा जान जरुरी छ। हाम्रो अगाडि संविधान छ, त्यो संविधानलाई टेकेर समाजवादमा जान सबै जनतालाई समावेशी समानुपातिक लोकततान्त्रिक प्रद्धतिमा लागेर संविधानसँग केन्द्रित भएर काम गर्नु आवश्यक छ।

अन्त्यमा, गणतन्त्रलाई थप बलियो बनाएर नागरिक तहसम्म गणतन्त्रको प्रत्याभूति दिलाउन राजनीतिक दल कसरी अगाडि बढ्नुपर्छ।

अब दलहरु संविधानको मार्ग निर्देशन प्रतिबद्ध हुँदै इमान्दारीपूर्वक अगाडि बढ्नुपर्छ। प्रतिगामी शक्तिहरुले संघीयता कार्यन्वयन हुन नदिएका तत्वहरुले गर्दा यस्तो भएको हो। संघीयता जनताको रगत रगतमा जोडर लोकतान्त्रिक प्रणालीलाई जोडेर जनताको अधिकारको निम्ति काम गर्नु अहिलेको राजनीतिक दलको बाटो हो। युगले समेत समाजवादमा लगेको छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-29 22:00:00

प्रतिकृया दिनुहोस्