
बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)का पूर्व महाप्रवन्धक वृतान्त खनालले क्यानका अध्यक्ष चतुबहादुर चन्दले रक्सी खाएर आफूलाई गाली गरेपछि पदबाट राजीनामा दिएको बताएका छन्।
खनालले राजीनामा दिनुको कारण सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै यस्ताे बताएका हुन्। ‘चतुरबहादुर चन्द, कांग्रेसका बैतडी जिल्ला सभापति पनि हुनुहुन्छ। उहाँका केही आर्थिक अनियमिततामा व्यवस्थापनको प्रश्न उठेपछि उहाँ पुरानै शासकीय शैलीमा उग्ररूपमा गाली गलौजमा फर्किनुभएको हो’, उनले भने, ‘दिउँसै रक्सी सुरमा धुत भएर संघको केन्द्रीय कार्यालयमा आएर मलाई अभद्र गाली गरेपछि मैले राजीनामा दिएको हुँ। विवादास्पद टी-२० लगायत संघका श्रोतका अन्य धेरै विषयहरु क्रमशः व्याख्या गर्दै गरौंला।’
महाप्रवन्धक खनालले अध्यक्ष चन्दले सबै विषयमा पार्टीबाट वा प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने र काम गर्न नमिलेपछि बर्खास्तीको धम्की दिने गरेकाेले राजीनामा दिएकाे जिकिर गरेका छन्।
‘क्रिकेट संघका अध्यक्ष चतुबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिन्ने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने हुँदा राजीनामा दिएको हुँ’, उनले भनेका छन्।
२०७९ वैशाखमा क्यानको महाप्रवन्धक नियुक्त भएका खनालले पदाधिकारीहरुसँग विवाद भएपछि इमेलमार्फत राजीनामा दिएका थिए। यता, क्यानले शुक्रबार बसेको बोर्ड बैठकले उनको राजीनमा स्वीकृत गरेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया