‘न्यायमूर्ति’ले निभाउन खोजेको एउटा ‘आरती’

श्रीमती भनेर वर्षौंदेखि ‘यौनदासी’ बनाएका न्यायाधीश भुवन गिरीले धेरैपटक आरतीको जीवन निभाउन खोजे। उनको मुख थुन्नमात्रै होइन, उनैलाई घरभित्रै थुनिराखे। र, पनि न्यायाधीशको त्यो पिचासु पञ्जाबाट फुत्किएकी एउटी ‘आरती’ माइतीघरको सडकमा न्याय माग्दै धिपधिपाइरहेको छ।


आरती रावल गिरीले माइतीघर मण्डलाको चिसो सडकमा रात बिताउन थालेको एक साता बितिसक्यो। क्षण-क्षणमा मौसम बदलिन्छ। घरि चर्को घामले ज्यान चर्काउँछ, घरि झरीले चुट्छ।

सडकमा भोकै पल्टिरहेको ज्यान। सडकबत्तीले माइतीघरको रात त उज्यालिएको हुन्छ, तर पीडाले भरिएको आरतीको मन कतिखेर झ्याप्प निभिदिन्छ, पत्तै हुन्न।

आरती एक बहालवाला न्यायाधीश भुवन गिरीकी श्रीमती हुन्। भएकी होइनन्, बनाइएकी हुन्। विवाहअघि पनि उस्तै थियो। धम्क्याएर श्रीमती बनाए। अनि फेरि पनि उस्तै।

आफ्ना श्रीमानले वैवाहिक बलात्कार गरेको भन्दै मुद्दा हालेकी आरती ती ‘श्रीमान’लाई कठघरामा उभ्याउन चाहन्छिन्, जो सबका लागि ‘न्यायमूर्ति’ कहलिएका छन्।

श्रीमतीको ‘छाप’ लगाएर चार वर्षदेखि वैवाहिक बलात्कार, यौनशोषण गर्दै मानसिक समस्या दिएको भन्दै श्रीमान भुवनलाई सजाए दिलाउन उनी एक सातादेखि माइतीघरको सडकमा अनशन बसिरहेकी छिन्।

०००

‘न्यायाधीश भुवन गिरीले चार वर्षसम्म विवाहको नाममा बलात्कार गरेका छन्। बारबार मेरो ज्यान मार्ने धम्की दिएका छन् र कोसिस पनि गरेका छन्। कति सहने मैले, सहन नसकेरै माइतीघर आएकी छु’, उनले भनिन्, ‘अब न्याय नपाई हट्ने छैन।’

भुवनले आफूलाई ‘युज एण्ड थ्रो’ को रुपमा हरेको उनको आरोप रहेको छ। ‘न्यायाधीशले जे गरेपनि कानुन नलाग्ने हो र? श्रीमतीलाई बन्धक बनाएर बलात्कारउपर कुनै कानुन छैन? पैसा र पावर भएपछि हामी कहिलेसम्म मर्नुपर्ने?’, उनले भनिन्।

०००

२०७५ सालमा कपिलवस्तुका न्यायाधीश भुवन गिरीले आरतीलाई अयोध्यामा पुर्‍याएर विवाह गरेका थिए। अदालतमा मुद्दा लडिरहेकी आरतीको त्यही क्रममा गिरीसँग चिनजान भएको थियो। भुवनले आरतीलाई विवाहको प्रस्ताव राखे। आरतीले अस्वीकार गरिन्। तर भुवनले मानेनन्। उल्टै आफ्नै नियन्त्रणमा राख्न खोजे र विवाह गरे।

‘साथीभाई र आफन्तसँग भेटघाट नगर्, कतै जाने होइन’ भुवन आरतीलाई धम्काउँथे। उनी घरमै बस्थिन्। ‘म घरबाट कतै निस्कन पाउँदैन थिएँ, भुवनले कतै जान दिँदैन थियो। बाहिर गए भने आत्महत्या गरेर म र मेरो परिवारलाई फसाइदिने धम्की दिन्थो’, उनले भनिन्, ‘अनि म विवाह गर्न बाध्य भएँ।’

आफैँ न्यायाधीश भएपछि अरुले के गर्नसक्छ? गिरीमा एउटा घमण्ड थियो। आरतीलाई बन्धक बनाएर राखे।

विवाहअघि पनि भुवनले आरतीको यौन शोषण नगरेका होइनन्। तर, आरतीलाई लाग्यो- ‘विवाह अघि व्यवहार जस्तो भएपनि पछि राम्रो होला।’ पछि त भुवनको व्यवहार झन् परिवर्तन भयो। आरतीले आफ्नो श्रीमानको सोचाइ एकदमै तल्लो स्तरको पाइन्। अनि भुवनले उनलाई श्रीमती होइन, यौनचाहना पूरा गर्न मात्र विवाह गरेको चाल पाइन्।

श्रीमानको सोच जस्तो भएपनि समाजका अघि घरपरिवारको बेइज्जत हुने डरले आरती भुवनसँगै बस्न  बाध्य भइरहिन्। ‘उ कस्तो खालको मान्छे हो, मैले थाहा पाइसकेकी थिएँ। त्यसैले तिहारमा माइत गएपछि फर्किन मन लागेन। केही दिन त माइतीमै बसेँ’, उनले भनिन्, ‘तर, समाजको डरले मलाई बस्न दिएन। अनि फेरि फर्किएँ।’

२०७४/७५ मा भुवन नेपालगञ्ज पुनरावेदन अदालतमा निमित्त रजिस्ट्रार थिए। त्यसपछि ०७६ मा धनगढी थिए। अनि ०७६ कै माघमा सर्वोच्चमा सरुवा भए।

न्यायाधीश गिरी जँहाजँहा सरुवा हुन्थे, आरतीलाई पनि सँगै लिएर जान्थे। भुवनलाई आरतीको जिन्दगीको कुनै मतलबै थिएन, आफ्नो यौनकुण्ठा मेटाउनमात्रै आरतीलाई सिनोसरी लुछ्थे। बिरामी हुँदा होस् या महिनावारी, आरतीले सधैँ भुवनको यौन प्यास मेटाइदिनुपर्थ्यो।

दुई पटकसम्म भ्रूण हत्या

जब ०७६ मा उनीहरू धनगढी थिए, आरतीको कोखमा नयाँ जीवन हुर्किंदै थियो। उनी मातृत्व आभाष गर्न चाहन्थिन्। तर, गिरीले उनको आमा बन्ने अधिकार खोसे। गर्भको बच्चालाई औषधि खुवाएर पतन गराए।

‘विवाहित नारी भएपछि सबैलाई आमा बन्ने चाहना हुन्छ। मैले उसलाई आमा बन्न नपाएको दुःख पोखेँ। तर, उनले तँलाई मेरो यौन प्यास मेटाउन ल्याएको हो, मेरा छोराछोरी घरमा छ भन्थे’, आरती भन्छिन्, ‘२०७६ गर्भमा आएका दुईवटा बच्चाको भ्रूण हत्या गरिदियो।’

०००

विवाहित नारी आमा बनेपछि आफूलाई पूर्ण ठान्छन्। सँगै भाग्यमानी पनि। आरती न पूर्ण हुन पाइन, न त भाग्यमानी नै। आफूलाई सधैँ अपूर्ण मानिरहिन्। एक औसत नारीका जस्तै आरतीका चाहना पनि यस्तै थिए।

आमा बन्ने अधिकार खोसेपछि आरतीले आफ्नो बाटो खोजिन् र न्यायाधीश श्रीमानविरुद्ध लड्ने विचार बनाइन्। त्यहीबेला आरतीले धनगढी जिल्ला प्रहरी कार्यालयमा भ्रूण हत्या गरी मातृत्वबाट बञ्चित गराएको भन्दै भुवन गिरीविरुद्ध उजुरी दिइन्।

‘मैले उजुरी त दिएँ, तर ऊ आफैँ कानुनी जानकार भएकाले कर्मचारीको मिलेमतोमा कागज हेरफेरि गरी उजुरी फिर्ता गराए’, उनले भनिन्,‘ त्यसपछि मैले झन् बढी यौनहिंसा र कुटपिट सहनुपर्‍यो।’

त्यसपछि आरतीले झन् दु:ख झेल्नुपर्‍यो। गिरीले आरतीलाई घरबाट निस्किन पनि दिएनन्। माइती पक्षसँग सम्पर्क टुटाइदिए। कोठामा बन्द गरी ताल्चा लगाइदिन्थे। आरती कैदी जसरी त्यहीँ बस्थिन्।

२०७६ मै दोस्रोपटक भुवनको धनगढीदेखि सर्वोच्च अदालतमा सरुवा भयो। भुवनले आरतीलाई पनि काठमाडौं ल्याए। उनीहरू मैतीदेवीमा बस्थे। यौनको त्यो लत काठमाडौंमा झन् मनपरी भयो। आफन्तबाट टाढा भइसकेकी आरतीसँग भुवनको यौन प्यास मेटाइरहनुबाहेक अर्को विकल्प थिएन।

‘उसको धनगढीबाट काठमाडौँ सरुवा हुँदा मलाई पनि सँगै लिएर आयो। मलाई जान त मन थिएन, तर बन्धक जस्तै थिएँ। जे भने त्यही गर्नुपर्ने’, उनले भनिन्, ‘अनि एकपटक भनेको नमान्दा रातको ११ बजे मलाई कोठाबाटै लखेट्यो।’

पहिलो पटक न्यायाधीशको परीक्षामा अनुत्तीर्ण भएका भुवनले दोस्रो पटक ०७८ मा न्यायाधीशको परीक्षा उत्तीर्ण गरे। अनि ०७९ असारदेखि कपिलवस्तुमा न्यायाधीशको जिम्मेवारी सम्हाल्न थाले। गिरी कपिलवस्तु पुगे। आरतीलाई पनि सँगै लगे।

चार वर्षसम्म आरतीले भुवनको ज्यादती चुपचाप सहेरै बसिन्। तर, जबजब आरती न्यायको लागि हात फिँजाउन खोज्थिन्, तब गिरी भीमकाय पहाड बन्थे। तर, आरतीले हिम्मत हारिनन्। ०७९ मंसिर २ गते कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा श्रीमानविरुद्ध वैवाहिक बलात्कार र घरेलुहिंसा गरेको भन्दै उजुरी दर्ता पुगिन्। तर, प्रहरीले उनको मुद्दा दर्ता गर्न मानेन। कारण, भुवन गिरी कपिलवस्तुकै न्यायाधीश थिए।

कपिलवस्तु प्रहरीबाट कुनै सहायता नभएपछि उनले अदालत जाने सोचिन्। अनि काठमाडौँ आइन्। काठमाडौँमा आरतीले महिला आयोगदेखि मानवअधिकार आयोग र अहिले ‘महिला अधिकारवादी’ संघसंस्थासम्म धाइन्। तर, सबैले उनलाई न्यायाधीशसँगै मिलेर बस्न भने।

प्रहरीबाट न्याय नपाएपछि आयोगका ढोका ढकढककाउन पुगेकी उनले यो कल्पनासमेत गरेकी थिइनन्। ‘मलाई थाहा थिएन, प्रहरीबाट न्याय नपाएपछि आयोग पुगेकी थिएँ। तर, महिला आयोगकी अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेल खतिवडाले भुवनलाई मुद्दा हालेर केही हुँदैन, ऊ न्यायाधीश हो। बरु मिलेर बस्नुस् भने’, आरती भन्छिन्, ‘त्यसपछि भुवनविरुद्ध एक्लै लड्ने निर्णय लिएँ।’

फेरि पनि हिम्मत हारिनन्। फेरि प्रहरीमै फर्किइन्। यसपालि भने बल्लबल्ल प्रहरीले उजुरी लियो। न्यायाधीश गिरी काठमाडौंमा थिए। त्यही अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले न्यायाधीश गिरीलाई चैत २८ गते समाएर कपिलवस्तु लग्यो र केही समयपछि छोडिदियो।

न्यायाधीश गिरीले उल्टै १० कक्षाको सर्टिफिकेट कीर्ते गरेको भन्दै आरतीविरूद्ध मुद्दा हालिदिए। त्यो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। 

श्रीमती भनेर वर्षौंदेखि ‘यौनदासी’ बनाएका न्यायाधीश भुवन गिरीले धेरैपटक आरतीको जीवन निभाउन खोजे। उनको मुख थुन्नमात्रै होइन, उनैलाई घरभित्रै थुनिराखे। र, पनि न्यायाधीशको त्यो पिचासु पञ्जाबाट फुत्किएकी एउटी ‘आरती’ माइतीघरको सडकमा न्याय माग्दै धिपधिपाइरहेको छ।

आफूलाई श्रीमती बनाएर यौनदासी बनाएका न्यायाधीश श्रीमानलाई कारबाही माग्दै आरती भोकभोकै सडकमा छिन्। न्यायाधीश गिरी भने खुलेआम छाती फुलाएर हिँडिरहेका छन्। 

प्रकाशित मिति: : 2023-07-15 05:39:00

प्रतिकृया दिनुहोस्