अपराधमा मुछिएका लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै मन्त्री किराती

विवादित छविका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लागिपरेका छन्।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे दबाबमा कोषको कार्यकारी पद विवादित पात्र लामालाई सुम्पिँदैछन्।

यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को पदावधि साउन ९ गते कार्यकाल सकिएको थियो। उनी २०७५ सालमा लुम्बिनी विकास कोषका उपाध्यक्षमा नियुक्त भएका थिए। त्यसपछि त्यहाँको उपाध्यक्ष बन्नका लागि उनै विवादित ल्हारक्याल लामादेखि चर्चित गायिका आनी छोइङ डोल्मासम्मले लविङ गरिरहेका छन्।

त्यस्तै, भर्खरै कार्यकाल सकिएका त्रिपाठी आफैँ पनि यो दौडमा छन्। यीबाहेक सिद्धार्थ महर्जन, पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षु पनि त्यो लाइनमा उभिएका छन्। महर्जन कोषका पूर्वउपाध्यक्ष पनि हुन्।

ल्हारक्याल लामालाई नियुक्त गर्न लागिएको शंका पाएपछि विभिन्न बौद्धमार्गी संघ–संस्थाहरूले विरोध जनाएका छन्।

को हुन् ल्हारक्याल लामा?

पहिलो संविधान सभामा नेकपा एमालेले उनलाई सभासदमात्रै बनाएन, झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री नै बनायो। त्यसपछि फरक गुटको भनेर केपी शर्मा ओलीले उनलाई ‘दबाब’मा राख्न थालेपछि दोस्रो संविधान सभाको चुनावताका उनी नेकपा माओवादीतिर लागे।

माओवादी प्रवेश गरेकाे हप्तादिन नपुग्दै उनी समानुपातिक सांसद बने।

त्यसअघि लामा २०४६ सालको परिवर्तनपछि कांग्रेसको जनलहरतिरै सोझिएका थिए। त्योबेला पनि उनले कांग्रेसमा लागेर लाभका थुप्रै पद लिए।

झलनाथ खनालको मन्त्रिपरिषदमा रहँदा उनले नक्कली नागरिकता र पासपोर्टहरू लिएको भन्दै व्यापक आलोचना भयो। त्यसपछि खनालले उनलाई मन्त्रिपरिषदबाट हटाए।

सिन्धुपाल्चोकबाट जारी भएको नेपाली नागरिकतामा नै उनको नामको अघि डा. लेखिएपछि त्यो विवादमा तानिएको थियो।

त्यस्तै उनले खेन्पो छिरिङको नामबाट भारतीय नागरिकता पनि निकालेको पुष्टि भएको थियो। त्यसअघि उनले तिब्बती शरणार्थीको परिचयपत्र पनि बनाएका थिए।

नेपालमा रहँदा उनी करोडाैँ ठगीका मुद्दामा पनि पक्राउ परे। त्यस्तै एउटा गोली काण्डमा पनि उनी आरोपी थिए। अकुत सम्पत्ति कमाएको भन्दै उनको सम्पत्ति छानबिन गर्न अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले आदेश दिएको थियो।

विरोध

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ–बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले ‘खल्तीबाट झिकेर विवादित मान्छे’ नियुक्त गर्न लागेको भन्दै आफूले त्यसलाई स्वीकार नगर्ने बताएका थिए।

कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको तथा फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको माग छ।

‘हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरू नियुक्त गरियो भने हामीले देशभरिमात्रै होइन, संसारभरिका बौद्धमार्गीहरूलाई लुम्बिनीमा उर्ताने छौं’, उनले भने, ‘हामी शान्ति अग्रदुतका अनुयायी हुँदाहुँदै पनि, हामी लाखौं लाख बुद्धका शिष्य यहाँ रहँदा पनि त्यहाँ आफ्नो पकेटका व्यक्तिहरु त्यहाँ नियुक्ति गरिरहँदा, कर्मचारी भर्ती गरिरहँदा शान्तिमय क्षेत्रलाई विवादमा तानिएको छ।’

उनीहरूले ‘स्वच्छ’ छवि भएका व्यक्तिलाई उपाध्यक्ष नियुक्त गर्न भन्दै लुम्बिनीको पवित्र आस्था र त्यसको इतिहासलाई नगिजोल्न पनि चेतावनी दिएका छन्। यसअघि नै यी विभिन्न संघसंगठनहरूले मन्त्री सुदन किराँती तथा प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन्। 

प्रकाशित मिति: : 2023-08-01 13:31:00

प्रतिकृया दिनुहोस्