
बिएल संवाददाता
२०७७ असाेज १५ गते बेपत्ता भई हालसम्म फेला नपरेका ट्याक्टर चालकले न्याय नपाएकाे भन्दै कर्णाली राजमार्ग बन्द गरिएकाे छ।
चन्दननाथ नगरपालिका-९ बयालकाटियाका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन्।
बिहीबार बिहानैदेखि कर्णाली राजमार्ग बन्द भएपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन बन्द भएका छन्। बन्द भएकाे कर्णाली राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। उनका अनुसार बन्द भएकाे सडकखण्डमा सुरक्षाको टोली पुगिसकेको छ।
चालक गिरीकाे अवस्था हालसम्म पत्ता लागेकाे छैन। उनी २०७७ असाेज १५ गते सहचालक एक बालकसहित जुम्ला बजारबाट ट्याक्टरमा सरिया र सिमेण्ट लिएर गुठीचौर गाउँपालिका-१ मणीसाँघु गएका थिए। त्यहाँका कर्ण बस्नेतको घरमा झारेर फर्की आउनेबेला गुठीचौर गाउँपालिका-५ लामाकार भिरबाट बेपत्ता पारिएको थियाे।
चालक गिरीका दाइ भैरे गिरीका अनुसार सोही वडाका विमल महतसहित ४ जनाको समूहले ट्याक्टर रोकेर ०७७ असोज १५ गते राति साढे ९ बजे चढेको थियाे। उनीहरुले चालकबाट ट्याक्टरको चापी खोसेर ढुंगामुडा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ। त्यसमा भएका सहचालक भागेपछि जीवित अवस्थामै छन्।
घटना विवरणका आधारमा ४ जनाविरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले २०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले २०८० असार ३ गते सफाई दिएको तुलराज गिरीले बताए। उनले भने, 'हामीले अहिलेसम्म न लाश भेटाएका छौँ, न सास। दुई तहको अदालतबाट पनि न्याय पाएनाैं। अदालतको फैसला त्रृटिपूर्ण रहेको छ।'
तुलराजले थपे, 'प्रतिबादीले नै अदालतको बकपत्रमा भनेका छन् हामीले ट्याक्टर रोकेर चापी नियन्त्रणमा लिएका हौँ। चालक र सहचालकमाथि हातपात गरेका हौँ भनेर स्विकार्दा पनि हामीले न्याय पाएनौँ। प्रतिवादीलाई नै सफाई दिएको छ।'
अदालतले नै पीडितलाई अन्यायमा पारेर पीडकलाई उन्मुक्ति दिएको तुलराजको आरोप छ। यस फैसला उपर पुर्नविचार गर्न माग गरेर बिहीबार सडक बन्द गरिएकाे छ।
उनका अनुसार ट्याक्टर मालिक प्रतिवादी रेणु शाहीले घटनास्थलमा रहेको ट्याक्टर प्रहरीको उपस्थिति विनै आफ्नो घरमा ल्याउनु र सहचालकलाई सत्यतथ्य बोल्न नदिनु जस्ता क्रियाकलाप भएका छन्। घटना घटेकाे ७ महिनापछि तातोपानी गाउँपालिका-५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटियो। त्यो कंगाल ‘हाम्रै मान्छे चालक धन गिरीको हो’ भनेर दावी गरे। पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयाे।
२०७८ जेठ ४ गते प्रहरीले उमेर नमिलेको भनेर त्यो कंगाल तपाईंहरुको हुन नसक्ने प्रतिक्रिया दिएको तुलराजले बताए। ९ महिनापछि त्यो कंगालको डिएनए पोजेटिभ हुन सकेन भनेर प्रतिवादीलाई जिल्ला अदालतले सफाई दियो।
जिल्ला अदालतको फैसलापछि पुन: उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरिएको हाे। सरकारी वकिल कार्यालयले पुन: डिएनए परीक्षणको माग गरेपछि बेपत्ता चालक धन गिरीका दाई भैरे गिरी र छोरी ऋचा गिरीको स्याम्पल लिएको हो। केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौँबाट प्रतिवेदन नआउँदै मुद्दा फैसला गरी प्रतिवादीलाई सफाई दिएपछि सडक बन्द गरिएकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया