डोल्पामा संघीय शिक्षा ऐनविरुद्ध धर्ना, पठनपाठन प्रभावित

हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा संघीय संसदमा टेबुल हुने तयारीमा रहेको संघीय शिक्षा ऐनविरुद्ध धर्ना दिइएको छ।

शिक्षकका विशेष मुद्धालाई सम्बोधन नै नगरी संघीय शिक्षा ऐन ल्याउन लागिएको भन्दै देशभरका शिक्षकहरुको छाता संगठन राष्ट्रिय शिक्षक महासंघको सर्कुलरअनुसार जिल्लाका सबै पालिकामा  पुगेर शिक्षकहरुले धर्ना दिएका हुन्।

सरकारसँग सम्झौता भएको ३० र ५१ नम्बरको बुँदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने, राहत, उच्च मावि शिक्षक, बाल विकास, विद्यालय कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, नयाँ शिक्षा ऐनमा ल्याउन लागिएको शिक्षकका सेवा सुविधाका विषयमा निजामती सो सरह व्यवस्था गर्नुपर्ने लगायतका माग शिक्षकहरुले राखेका छन्।

जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि शिक्षकहरुले धर्ना दिए।

त्रिपुरासुन्दरी नगरपालिकामा शिक्षक महासंघका पालिका अध्यक्ष कमला हमालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तुलबहादुर बिष्ट, राहत शिक्षक समितिका जिल्ला अध्यक्ष पूर्णकेशर न्यौपानेलगायतका शिक्षकहरुको उपस्थितिमा नगरप्रमुख जनचन्द्र रोकायलाई मागपत्र बुझाइएको हो।

मागपत्र बुझ्दै नगरप्रमुख रोकायले शिक्षकहरुको माग जायज भएकाले कार्यपालिका बैठकबाट तुरुन्त पारित गरी केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी ठुलिभेरी नगरपालिकामा पनि शिक्षक महासंघका जिल्ला अध्यक्ष बालकृष्ण डाँगीको नेतृत्वमा धर्ना दिइएको छ। केन्द्रबाट आएको सर्कुलरसहितको मागपत्र नगर प्रमुख सुवर्ण बुढालाई बुझाइएको हो।

पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा पालिकामा धर्ना दिने कार्यक्रम भव्यरुपमा सफल भएको शिक्षक महासंघ डोल्पाका अध्यक्ष बालकृष्ण डाँगीले बताए।

सम्बन्धित स्थानीय तहमा रहेको महासंघको नेतृत्वमा विभिन्न संघ, संगठनका नेतृत्वहरु, राहत शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता सहित भएर धर्नासहित मागपत्र बुझाइएको अध्यक्ष डाँगीको भनाई छ।

शिक्षकहरु पहिलो चरणको आन्दोलनमा होमिएपछि डोल्पाका विद्यालयको पठनपाठन प्रभावित भएको छ।

केन्द्रीय सर्कुलर अनुसार जिल्लाका कुनै विद्यालयले विद्यालयनै बन्द गरे भने कुनै विद्यालयले सात विषयमध्ये दुई पिरियडमात्र पढाएर विद्यार्थीहरुलाई छुट्टी गरे।

आगामी मंगलबार जिल्लाभरीका शिक्षकहरु भेला भएर शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिने कार्यक्रम रहेको शिक्षक महासंघ डोल्पाले जनाएको छ।

जबसम्म सरकारले शिक्षक हकहित र वर्तमान आवश्यकतालाई पूरा गर्न सक्दै तबसम्म देशैभरबाट आन्दोलनका आँधीहुरी आउने राहत शिक्षक डोल्पाका अध्यक्ष पूर्णकेशर न्यौपानेले बताए।

आफ्नो माग पुरा गराउनका लागि जिल्लाभरका राहत शिक्षकहरुलाई जुनसुकै प्रकारको आन्दोलमा होमिन पनि तयार रहन निर्देशन दिए।

प्रकाशित मिति: : 2023-08-13 17:59:00

प्रतिकृया दिनुहोस्