घरभित्र बाढी पस्याे अनि उठिबास भयाे (भिडियाेसहित)

BreaknLinks
BreaknLinks

रातको १ बजिसक्यो। पानीको दर्कन छ। दर्किएको पानीसँगै मस्त निन्द्रामा छन्, सबै। नजिकै चाङचुङ खोला बढ्दै छ। निन्द्रासँगै खोला बढे घरमै पस्ने चिन्ता पनि छ। त्यसैले बेलाबेला निन्द्राले आँखा खुलाउँछ।

केही आवाज आयो, सुसाहट र धुमधुमको। लौ बाढी आयो, अर्को आवाज आयो। अब भाग्ने। सबै उठे। घरदेखि निस्किए। त्यति गर्दा गर्दै बाढी घरमा पसिहाल्यो। सामान निकाल्न सकिएन। अन्नपातदेखि लत्ताकपडा सबै घरभित्र बाढीमा डुबे।

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका–१ छार्कामा आइतबार राति बाढी पस्दा दुई घर पूर्णरुपमा क्षति भयो। दर्जनौँ जनाको खेतमा लगाइएको धान बगे। ‘राति १ बजेको थियो होला। बाढी आएर दुई घरमा क्षति भयो,’ वडा नम्बर–१ का अध्यक्ष दावा लामा गुरूङले भने, ‘धेरै जनाको खेत बगाएको छ।’

बाढी निमा हाचेरको घरमा पस्यो। निमाले घरबाट कुनै सामान निकाल्न पाएनन्। अन्नपात सबै बाढीले लग्यो। ‘निमाको घरबाट एउटा कुनै सामान निकाल्न पाइएन। सबै बगायो,’ वडाध्यक्ष गुरुङले भने।

बाढी घरमा पसेदेखि निमाको परिवार सोमबार (हिजो)देखि टेन्टमा बस्न बाध्य छन्। छिमेकीको सहयागमा टेन्ट बनाएर उनीहरु त्यही टेन्टमा बसिरहेका छन्। पानी अझै रोकिएको छैन। आज (मंगलबार) पनि पानी परिरहेको वडाध्यक्षले लामाले जानकारी दिए।

आइतबार आएको बाढीले कार्मा लोत्साङको घरमा पनि क्षति पुर्यायो। घर नजिकै रहेको चाङचुङ खोला बढ्दै गएपछि कार्माले घरबाट सामान निकाल्दै थिए। खोलामा बाढी बढ्यो। घरमाथिबाट आएको बाढी कार्माको घरमा पनि पस्यो।

उनले निकाल्दै गरेको आधा सामान निकाल्न सकेनन्। बाढी पस्यो। निकाल्न नसकेको सामान बग्यो। ‘कार्माको घरबाट आधा मात्र सामान निकाल्न सकियो। बाँकी बाढीले बगाएर लग्यो,’ अध्यक्ष लामाले भने।

बाढी घरमा पसेपछि कार्माको परिवार अर्को पुरानो घरमा सरेको छ।

बाढीले दुई घर परिवारको उठिबास बनाएको र अझै पानी परिरहे थप क्षति हुने अवस्था रहेको लामाले बताए।

मंगलबार भारी वर्षासँगै आएको बाढी पाँच रोपनीभन्दा बढी खेतमा पसेको छ। बाढीले लगाएको धानबालीमा क्षति गरेको छ। यस्तै पानी परिरहे बाढीले थप खेतमा क्षति पुर्याउने वडाध्यक्ष लामाले बताए।

‘ले’ गाउँ जोखिममा

कम पानी परेको भएपनि पानी रोकिएको छैन। जसले गर्दा छार्काको ‘ले’ गाउँ जोखिममा रहेको वडाध्यक्ष लामाले बिएल नेपाली सेवासँग बताए। ले गाउँमा ३० घर बढीको बसोबास छ। यस गाउँमा बाढी पस्न सक्ने सम्भावना रहेको उनले बताए।

चाङचुङ खोलामा तटबन्ध नहुँदा दुई घरमा क्षति पुर्याइसकेको छ। आइतबारको बाढीले भत्काएको केही ठाउँमा ग्याबिन (तारजालीसहितको छेकबार) लगाउने काम भइरहेको छ। तर धेरै ग्याबिन नभएकाले सबै ठाउँ लगाउन सम्भव नभएको वडाध्यक्ष लामाले बताए।

केन्द्र, प्रदेश सरकारले यहाँको अहिलेको अवस्थाबारे छिटो सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले बाढीले बगाएको केही ठाउँमा गाउँले मिलेर सानो–सानो ग्याबिङ लगाएका छौँ। तर प्रयाप्त छैन,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारले यहाँको समस्याका बारे हेर्नुपर्छ।’

प्रकाशित मिति: : 2023-08-15 21:40:00

प्रतिकृया दिनुहोस्