
बिएल संवाददाता
चोरी, हत्यामा संलग्न, मानव बेचबिखनमा, झै-झगडा, बालविवाहलगायतका अपराधमा मुछिएका २ सय ९७ जना बालबालिकालाई भक्तपुरको ठिमीस्थित बालसुधार गृहमा राखिएको छ।
सानै उमेरमा अपराधमा लागेकाले उनीहरुको व्यवहार सुधार गर्ने भन्दै बालबालिकालाई सुधार गृहमा राखिने गरिन्छ।
तर व्यवहार सुधार गर्न राखिएका बालबालिकाले सोमबार (हिजो) एकाएक बबन्डर मच्चाए। सुधार गृह सुरक्षामा खटिएका प्रहरीमाथि जाइलागे। तोडफोडमा उत्रिए। भित्र जे छ, उसैले प्रहरीमाथि आक्रमणसमेत गरे।
जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १८ जना घाइते भए। प्रहरीले लाठी प्रहार गर्दा ६ जना बालबालिका पनि घाइते भए।
बालबालिकाले आक्रमण मात्र गरेनन् कि सुधार गृहको ढोका फोडेर बाहिरै निस्किए। प्रहरीसँग झगडा गर्दै दुई सय २१ जना बालबालिका सुधार गृहको घेरा तोडेर भाग्न सफल भए।
त्यसपछि ठुलो संख्यामा प्रहरी खोजतलासमा निस्कियो। भक्तपुर, ललितपुर र काठमाडौँको सीमा नाका नै बन्द गरेर प्रहरीले भागेका बालबालिकाको खोजी गर्यो। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुधार गृहको घेरा तोडेर भागेका बालबालिकालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको बताए।
सोमबार सुधार गृहबाट भागेका २ सय २१ जना बालबालिकामध्ये २४ घण्टा पुग्दासमेत अझै ११ जना बालबालिका भेटिएका छैनन्। २ सय १० जना बालबालिकालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। र केही बालबालिकालाई अभिभावकले नै प्रहरीको सम्पर्कमा ल्याएको निरौलाले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनकाअनुसार ११ जना बालबालिकाको खोजी भइरहेको छ।
किन मच्चाए बालबालिकाले बबन्डर?
सोमबार बालबालिकाले सुधार गृहमा बबन्डर मच्चाउनु अघिल्लो दिनदेखि नै सुधार गृहमा बालबालिका सशंकित थिए। किनभने आइतबार सुधार गृहमा रहेका एक १९ वर्षीय किशोरको मृत्यु भएको थियो।
बालबालिकाले बाल सुधार गृह प्रशासनले उपचारमा लापर्वाही गरेकै कारण ती किशोरको मृत्यु भएको आरोप लगाएका छन्।
१९ वर्षीय किशोरको मृत्यु भएपछि सोमबार उनका आफन्तले सुधार गृह पछाडिको गेटमा विरोध गरेका थिए। बाहिर आफन्तको विरोध र सुधार गृहभित्र बालबालिकाले अर्को विरोध गरेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन सकेन।
जसले गर्दा सोमबार सुधार गृहबाट २ सय २१ जना बालबालिका भागेका थिए।
व्यवहार सुधारका लागि राखिएका बालबालिका नै हिंसात्मक क्रियाकलापमा उत्रिएपछि सुधार गृहप्रति प्रश्न उठेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया