बुधबार, ३० जुलाई २०२५

सुदर्शन सहकारीको आर्थिक कारोवार लगातार ओरालो लाग्दै

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
News Image
• • •

उर्लाबारीस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक कारोवार तीन वर्षदेखि लगातार ओरालो लागेको छ।

आफ्ना नियमित बचतकर्ता नभएको सुदर्शन साकोसले विभिन्न स्किम देखाएर सर्वसाधरणसँग निक्षेप सङ्कलन गर्दैआएको छ। सुदर्शन साकोसको वासलात आर्थिक वर्ष २०७७–०७८ मा ६९ करोड ४८ लाख रुपैयाँ थियो। त्यसको १ वर्ष अघि वर्ष कोभिडले अर्थतन्त्र थलिएका बेला पनि ४९ करोडबाट एकै पटक ६९ करोड रुपैयाँको वासलात पुर्‍याएको सुदर्शनको त्यसपछि लगातार वासलात घट्दो छ।

आर्थिक वर्ष ०७८–०७९ मा ६६ करोड ५० लाख रुपैयाँ वासलात पुगेको सुदर्शन साकोसको वासलात ०७९–०८० मा आइपुग्दा ६३ करोड ११ लाख रुपैयाँमा झरेको छ। वासलात मात्र होइन,संस्थाको शेयर पुँजी समेत लगातार ओरालो लागेको छ।

गतवर्ष संस्थाको शेयर पुँजी ५ करोड ७७ लाख ४४ हजार ४ सय रुपैयाँ थियो। ०७९–०८० मा ५ करोड १५ लाख ९२ हजार ७०० रुपैयाँ भएको छ। यो अघिल्लो वर्षको तुलनामा झण्डै ६२ लाख रुपैयाले कमि हो।

संस्थाले तीनवर्ष यता शेयर, निक्षेप, कोष र शुद्ध बचतको लक्ष्य पुरा गर्न सकेको छैन। संस्थाको आन्तरिक खर्च बढ्दो छ। त्यति मात्र होइन संस्थाको नगद  असार मसान्तमा समेत १ करोड ३५ लाख ४ हजार २३० रुपैयाँ मौज्दात देखिन्छ। बीसभन्दा बढी बैंक भएपनि संस्थामा नगद मौज्दात देखिनु भनेको त्यो पैसा कर्मचारीको जिम्मामा हो भन्ने बुझिन्छ। 

बैंकमा मौज्दात हुनुलाई सामान्य मानिन्छ, किनकी असार अन्तिम तिर असुल भएको पैसा लगानी गर्ने समय नरहन सक्छ। दुई वर्षअघि नगद मौज्दात १ करोड १५ लाख रुपैयाँ थियो। सहकारीको वोर्ड टाँगेर सर्वसाधरणका  पैसा सङ्कलन गर्ने सुदर्शन सहकारीले नगद मौज्दातमा करोड भन्दा कमको लक्ष्य कहिलै राखेको छैन्। 

संकटपर्दा शेयर सदस्यलाई संस्थाको चेकबाट भुक्तान दिन सकिने बाटो हुँदा हुँदै नगद मौज्दात धेरै रहनु शंकास्पद मानिन्छ। कमजोर लेखा तथा सुपरिवेक्षण समितिले न कहिल्यै भल्ट निरीक्षण गर्छ न, कोषाध्यक्ष जिम्मेवार छन्।

संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल सर्वेसर्वा रहेको सहकारी संस्थामा १० हजार १६ सदस्य रहेका छन्। सामान्यता सहकारी संस्थामा सदस्य बढेपछि शेयर पुँजी पनि बढ्छ। तर,२ वर्ष अगाडि ८ हजार ८२६ जना शेयर सदस्य रहेको संस्थामा ११ सय ९० जना सदस्य बढ्दा पनि शेयर पुँजी घटेको घट्यै छ। 

आर्थिक वर्षको अन्त्यको रिपोर्ट अनुसार संस्थाले लगानी गरेको कुल ऋण ५४ करोड २५ लाख ३३ हजार ११२ रुपैयाँ रहेको छ। जबकी संस्थाको शेयर पुँजी, कोषहरू र बचत निक्षेपको रकम ५४ करोड ६४ लाख ६० हजार ७६२ रुपैयाँ रहेको छ। असार मसान्तको तथ्याङ्क अनुसार संस्थाले २८ लाख ८८ हजार १८० रुपैयाँ शुद्ध बचत गरेको छ। जबकी अघिल्लो वर्ष ७० लाख ६५ हजार ८९४ रुपैयाँ शुद्ध बचत गरेको थियो। शुद्ध बचत अघिल्लो आर्थिक वर्षको भन्दा ४१ लाख ७७ हजार ७१४ रुपैयाँले कमी हो?

बाहिर जति सुकै राम्रो देखिएपनि सुदर्शनको गुदी बिग्रिदै गएको सहकारीका विज्ञहरू बताउँछन्। सहकारी संस्थाका छाता संघहरूमा समेत आवद्ध नरहेको सुदर्शन साकोसको पल्र्स विवरण पनि सन्तोषजनक देखिदैन। संस्थाको शेयर पुँजी कुल सम्पत्तिको १० देखि २० प्रतिशतको बिचमा हुनुपर्छ। सुदर्शनको शेयर पुँजी ८ दशमलव १७ प्रतिशत रहेको छ। 

यस्तै कुल सम्पत्तिको ७० देखि ८० प्रतिशत ऋण लगानी पर्नेमा संस्थाले ८५ दशमलव ८६ प्रतिशत ऋण लगानी गरेको छ। अधिकांश सुचक बिग्रिएको सुदर्शन साकोसको पुरै प्रतिवेदन हेरिसक्दा पनि सञ्चालक समितिका पदाधिकारी र सदस्यहरू को हुन्? पैसा डुब्यो भने जवाफदेही को हुने? कसलाई सम्पर्क गर्ने कहि कतै उल्लेख छैन्। संस्थाका सचिव र कोषाध्यक्षको नाम समेत  गोप्य राख्नुको कारण सदस्यहरूले खोज्न थालेका छन्।  

समूदायमा आधारित सहकारी संस्थाले आफ्नो प्रतिवेदनको दोस्रो पेजमा तस्विर र फोन नम्बर सहित नामावली राखेका हुन्छन्। तर, सुदर्शनका शेयर सदस्यले कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल बाहेक कसैलाई चिनेका छैनन्। पछिल्लो पटक यस्तै खालका सहकारीहरूले धेरैलाई उठिबास लगाइसकेका छन्।

राज्यको कमजोर संयन्त्रको फाइदा उठाएर समूदायमा आधारित सहकारीहरूलाई चुनौति दिइरहेका यस्ता सहकारीले नत शेयर सदस्यलाई आर्थिक रुपमा समृद्ध बनाउन सक्छन्। न पैसाको नै सुरक्षा गर्न सक्छन्।

आइतबार, आश्विन २८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)