‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ’

आइतबारदेखि सुरु भएकाे यो वर्षको दसैँ सामाजिक सञ्जालमा शुभकाना आदानप्रदान गरेको देखेर दसैँले छोपिसकेको थाहा पाइयो। हरेक पटक फोनमा टिङ्गरिङ्ग-टिङ्गरिङ्ग गरेर आउने शुभकामनाले मलाई आश्चर्य मिश्रित खुशी प्रदान गर्छ।

सामान्य अवस्थामा फुटेको आँखाले पनि हेर्न नरुचाउनेहरुले पनि के कारणले उन्नति प्रगतिको शुभकामना दिएका हुन् भनेर र पंक्तिकार जस्तो सामान्य सामाजिक, आर्थिक हैसियतको व्यक्तिलाई पनि शुभकामना आउँदो रहेछ भनेर आश्चर्य लाग्नुको साथै सम्झना गरेर साथीभाइले शुभकामना दिएछन् भनेर खुशी लाग्नु स्वाभाविक हो।

अब यस्ता शुभकामना कति हदसम्म लाग्छ, त्यो अर्कै बहसको विषय हो। अहिले त्यतातिर नजाँदा उचित होला। तर चाहिने समयमा फोन नलाग्ने नेपाल टेलिकम, मिसावटयुक्त पेट्रोलियम पदार्थ बेच्ने नेपाल आयल निगम र समयमा प्लेन नउडाउने नेपाल एयरलाइन्सलगायतका निकायहरुले पत्रपत्रिकामा दिएको शुभकामनालाई आधार मान्ने हो भने यस्ता शुभकामनाहरु पूरा हुँदैनन।

व्यक्तिगत रुपमा मलाई यो चाडसँग त्यति आत्मीयता छैन। कुनै खास कारणले होइन कि त्यसै यो चाडप्रति खासै रुचि नभएको हो। मान्छेहरुले महिनौँदिन अगाडिदेखि दसैँमा यस्तो र उस्तो गर्ने भनेर योजना बनाएको नै मलाई अच्चम लाग्छ। तर त्यो उनीहरुको स्वतन्त्रता हो, त्यसमा मलाई राम्रो वा नराम्रो भनेर टिप्पणी गर्नु छैन।

केटाकेटी छँदा लामो छुट्टी हुने र चङ्गा उडाउन पाइने बाहेक मलाई दसैँको अरु कुनै कुराले पनि तानेन। मासु खानेप्रति त्यति रुचि नभएको कारणले पनि हुनसक्छ यो चाडप्रति मलाई खासै आकर्षण नभएको होला। दसैँको अवसरमा र अरु सामान्य अवसरमामैले खाने पदार्थ वा भोजनमा कुनै फरक नहुने कारणले पनि दसैँमा खानेपिउने भनेर उत्तेजित हुनुपर्ने कुरा पनि आएन।

त्यस्तै मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने-दिने कुरा राम्रो हो तर आजको जमानामा सयौँ पाप सोचेको मन र हजारौँ झुट बोलेको मुखले दिएको आशीर्वाद लाग्ला भन्ने कुरामै मलाई शंका छ वा लाग्दैन भन्ने कुरामै ठोकुवा गर्न सकिन्छ। स्वीकार गर्न कठिन होला, आजकाल आफूलाई काम पर्ने, धनी र उच्च पदस्थ व्यक्तिको हातबाट मात्र टीका लगाउन तछाडमछाड गर्ने हो। सामान्य सामाजिक र आर्थिक हैसियत भएकाहरुको हातबाट टीका लगाउन कोही जाँदैन। केही अपवादको रुपमा यस्तो भेदभाव नगर्ने ठुलो हृदय भएका पनि होलान्, त्यसमा उनीहरुलाई हार्दिक अभिवादन गर्नुपर्छ।

त्यस्तै टीका लगाएर दिने पैसा (दक्षिणा)को रकमले पनि समाजमा एक किसिमको ‘हाइर्यार्की’ खडा गरेको छ। त्यस्तो थोरै दक्षिणा दिनेको घरमा के जानु वा अहो! त्यसले त धेरै पैसा दिन्छ, जसरी भए पनि जानु नै पर्छ भन्ने जस्ता मिल्दाजुल्दा संवादहरु पंतिकारले धेरै पटक सुनेको छ।

हामी केटाकेटी छँदा छोरीलाई मात्र दक्षिणा दिने चलन थियो, पैसा नपाउने कारणले टीका लगाउन जान त्यति रुचि हुन्थेन। एउटा नाताले हजुरआमा पर्नेले भने छोरालाई पनि पैसा दिने कारणले त्यहाँ जान छुटिएला कि भनेर चनाखो भएर बसिन्थ्यो। समग्रमा भन्नु पर्दा मेरो लागि दसैँ भनेको एक रूपैयाँ संकलन कार्यक्रमभन्दा माथि कहिले गएन।

आजकाल धेरैले यो चाडलाई  ‘स्केप’ (छल्न) गर्न कतै घुम्न जाने वा हाम्रो फलानो मरेको कारण दसैँ नमनाउने भनेर भन्ने गरेको पाइन्छ। आफन्त वा नजिकको व्यक्तिको मृत्यु भएको कारण चाड नमनाउने तर खानेपिउने कुरामा कुनै बन्देज नहुने क्रियाकलापलाई के उपमा दिने यो विद्धत पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु।

मेरो विचारमा सामान्य आर्थिक हैसियत भएकाहरुलाई त यो चाड दशा नै भएर आउने गरेको छ। आफ्नो हैसियतभन्दा बढी अरुलाई देखाउन खर्च गर्ने कारणले पनि धेरैलाई ‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ’ जस्तै हुने गरेको छ।

मान्छेले के भन्लान् भनेर देखावटी गर्नु कुनै कोणबाट पनि बुद्धिमानी होइन। आफ्नो जीवन आफूले बाँच्ने हो र खुशी वा दुख सबै आफ्नै मात्र हुने कारणले कसैले सम्पन्नताको प्रमाण पत्र देलान् भन्ने झुटो सपना नदेख्दा पनि हुन्छ। अरुको पिठ्युँ पछाडि कुरा काट्नेहरुले तपाईंले जे गरेपनि कुरा काट्न छोड्दैनन्। मैले भने त्यस्ता व्यक्तिहरुलाई तलब दिनु नपर्ने तर काम भने अति नै राम्रोसँग गर्ने दासको रुपमा हेर्ने गरेको छु, अर्थात आलोचना गर्ने दास!

त्यस्तै पशु बलिको विरोध गर्नेहरुको क्रियाकलाप हास्यास्पद छ। यदि दसैँ मान्ने हो भने पशु बलिलाई पनि मान्नुपर्छ। यदि पशुलाई मार्नु हुँदैन भन्ने हो भने सबैभन्दा पहिले मासुजन्य पदार्थ खान छोड्नुपर्छ। पशुलाई जिउँदै पोलेर र काटेर हेर्दै मन खल्लो हुने तरिकाले मासु खाने सेतो छाला भएकाहरुको कुरामा लागेर मारकाट गर्नु हुँदैन भनेर रोएर र कराएर सामाजिक सञ्जालहरुमा फोहर गर्नुको कुनै औचित्य छैन। पशुलाई काट्न हुँदैन भन्नेहरुले सबैभन्दा पहिले मासु त्याग गर्नुपर्यो, यदि मासु खाने हो भने चुप लागेर बस्नु अनिवार्य छ।

प्रस्तुत आलेखमा कसैलाई व्यक्तिगत रुपमा इङ्गित गर्न खोजिएको छैन, पात्रलाई नभई प्रवृतिलाई मात्र भन्न खोजिएको हो। मेरो विचारसँग सहमत हुनेलाई धन्यवाद छ र असहमत हुनेहरुले पनि अरुको विचारको कदर गर्नुपर्ने सामान्य शिष्टाचार पालना गर्नु हुनेछ भन्ने आशा गर्दछु। अन्तमा सबैलाई आफ्नो आफ्नो इच्छा र गच्छेअनुसार चाडको आनन्द लिन अनुरोध छ। बडादसैँको हार्दिक तथा मंगलमय शुभकामना!

#twitter@naviinr

प्रकाशित मिति: : 2023-10-16 18:51:00

प्रतिकृया दिनुहोस्