एनआरएनएको चुनाव गराएको ‘भेरो’ के हो, अब उसले के गर्छ?

बिनेश खनाल

काठमाडौं
BreaknLinks
BreaknLinks

पहिलोपटक अनलाइन भोटिङ गरेर अधिवेशन सक्काएको गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११औँ अधिवेशन विवादमा परेको छ।

डा.बद्री केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएपछि पराजित भएका दुई अध्यक्षका उम्मेदवारले त्यसलाई अस्वीकार गरे। त्यसका लागि उनीहरूले यो अधिवेशनका लागि प्रयोग गरिएको अनलाइन भोटिङको सिस्टमलाई दोष देखाएका छन्।

भएको के थियो?

गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११औँ महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत् मत कब्जा गरेको आरोप पराजितहरूको छ।

एकदिन ढिलागरी निर्वाचित पदाधिकारीहरूले होटल सोल्टीमा ‘सपथ’ लिँदै गर्दा पराजित भएका अध्यक्षका दुई जना उम्मेदवार महेशकुमार श्रेष्ठ र आरके शर्माको समूहले हिमालय होटलमा एनआरएनएकै अर्को समानान्तर समिति बनाइरहेका थिए।

उनीहरूको यो भेलाले आरके शर्माको अध्यक्षतामा एउटा पूर्ण कमिटी बनाएको छ।

‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन। संघको तर्फबाट भेरोसँग मास्टर कपी माग गरिएको छ,’ श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘२० अक्टोबर २०२३ काे मध्यराति घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले हामीलाई मान्य छैन। अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ। भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मतमात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ। यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन।’

उनीहरुले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११औँ महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमार्फत् जनाएका छन्।

यता निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ।

‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत् प्रेसित निर्वाचन परिणाम जस्ताकाेतस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिई सत्यतथ्य सार्वजनिक गरिनेछ।’

भेरोले कसरी काम गर्छ?

अस्ट्रेलियामा मुख्य कार्यालय रहेको ‘भेरो भोटिङ’ एक सफ्टवेयर कम्पनी हो। विश्वभरिका प्रतिष्ठित संघ संगठनहरूले पनि यसकै सफ्टवेयर प्रयोग गरेर आफ्ना वार्षिक भेला र अधिवेशनहरू गरेका छन्।

एनआरएनएले पनि यसपालि भेरो भोटिङकै सफ्टवेयर प्रयोग गरेर अनलाइन भोटिङ प्रणाली बनाएको थियो। यस्तो प्रणालीबाट पहिलोपटक एनआरएनएका डेलिगेट्स(महाधिवेशन प्रतिनिधिहरू)ले संसारभरिबाट आफूले चाहेका मतदातालाई भोट गरेका हुन्।

यो चुनावमा विवाद आएपछि संस्थापन पक्षले भेरोका प्रतिनिधिहरूसँग अनलाइन बैठक पनि गरेको थियो। त्यसक्रममा भेरोले हरेक कुराको ‘डिटेल्स’ (विस्तृत विवरण) आफूहरूसँग सुरक्षित हुने भन्दै सफ्टवेयरमा कुनै समस्या नभएको बताएको थियो। त्यसपछि संघमा विजयी भएका पदाधिकारीहरूले सपथ ग्रहण गरेका हुन्।

यो सफ्टवेयरले हरेक मतदाताको फेस भेरिफिकेसन (अनुहारको प्रमाणिकरण) गरेरमात्रै भोट गर्ने ठाउँसम्म पुग्नसक्ने गरी प्रणाली बनाएको छ।

र, मतदाताले दिएको मत पनि निकै नै सुरक्षित गरेको छ। त्यसलाई तलमाथि गर्न पूरै सिस्टम नै ‘ह्याक’ हुनुपर्छ।

उसले मतदाता र उम्मेदवारको स-साना विवरणहरू पनि सुरक्षित गरेर राखेको हुन्छ। यस्तै विवादका बेला आवश्यक परेको खण्डमा भेरोले सबै विवरणहरू उपलब्ध पनि गराउनसक्छ।

जस्तो कि, कुन मतदाताले कुन समयमा कहाँबाट भोट गरेको हो भन्ने कुराको विवरण पनि उसँगै हुन्छ। कम्प्युटरबाट सफ्टवेयर खोलेर भोटिङ गरेको हो कि वा मोबाइलबाट भन्ने कुराको प्रमाण पनि यसले उपलब्ध गराउनसक्छ।

‘यो मात्रै होइन चाहिएको बेला कम्पनीले अरु पनि सबै विवरणहरू हामीलाई दिनसक्छ। त्यसैले हामी यो निर्वाचनमा धाँधली भएको कुरा अस्वीकार गर्छौं’, नवनिर्वाचन अध्यक्ष बद्री केसीले भने।

उनका अनुसार मतदानको सबै जिम्मेवारी भेरोले नै लिनेछ।

अस्ट्रेलियन रेडक्रसको देखि रिजर्ब बैंक अफ अष्ट्रेलियालगायत विश्वका दर्जनौं प्रतिष्ठित संघसंगठनहरूले भेरोकै सफ्टवेयर प्रयोग गरेर आफ्ना ‘एजिएम’ (वार्षिक सम्मेलन) वा अधिवेशन अनि मतदानहरू गराएका छन्।

एनआरएनएको चुनावमा एक जना मतदाताको ‘शून्य’ मत आउनु भनेको सफ्टवेयरकै कुनै ‘एरर’ अर्थात् खराबी हुनसक्छ। तर, त्यसलाई पनि भेरोले प्रमाणित गर्ने जनाएको छ।

यसबारेमा भेराेले एनआरएनएलाई पत्र लेखेर प्रष्ट पारिसकेकाे छ। भेराेले  खासगरी एनआरएनएले भोटिङ सुरु हुनुभन्दा १२ घण्टाअघिमात्रै उम्मेदवारहरूकाे अन्तिम नामावली पठाएकाे थियाे। तर उनकाे नामका अंग्रेजी अक्षरहरू प्रमाणित गर्दा गर्दै भाेटिङ सुरु भइसकेकाे थियाे र सफ्टवेयरले त्यसलाई फिक्स गर्न सकेन। 

भेराेले एनआरएनएलाई भनेअनुसार त्याे भनेकाे मतपत्रमा वा मतपेटिकाकाे खास परिणाम हाेइन। समय नपुगेका कारण त्यस्ताे भएकाे हाे। 

‘खासमा विश्वभरिबाट मतदाना भइसकेपछि त्यसका डाटाहरू क्याल्कुलेट गर्न कम्तीमा ३ देखि ४ घण्टासम्म लाग्नसक्छ’ यो निर्वाचन प्रणालीलाई सघाएका एनआरएनएका एक जना प्रविधिविज्ञले भने।

तर, यहाँ मतपरिणाम गर्न हतार भएपछि संघले भेरोलाई तुरुन्त परिणाम पठाउन अत्याएको थियो। त्यसैले कतै-कतै त्यस्तो एररहरू देखिएको हुनसक्छ।

अब के हुन्छ?

अघिल्लो वर्ष पनि यस्तै भएको थियो। तर, त्यो वर्ष चुनाव नै भएन। लामो विवादपछि नेपालका सबै राजनीतिक दलहरू मिलेर अध्यक्षका तीन जना आकांक्षीहरूलाई नै अध्यक्ष घोषणा गरिदिएका थिए।

यता पार्टीहरूले मिलाइदिएपछि रविना थापा, कुल आचार्य र बद्री केसी ६-६ महिना कार्यकारी हुनेगरी तीन जना अध्यक्ष भए। अर्कोतिर संघका संस्थापकमध्येका एकजना शेष घलेले अरु गैरआवासीय नेपाली जम्मा गरेर अर्को एनआरएनए बनाए।

अहिले अनलाइन भोटिङ भयो। र, त्यसको परिणामलाई स्वीकार गर्न नसकेर पराजित भएका दुई अध्यक्षहरूले फेरि त्यस्तै समानान्तर समिति बनाए।

निर्वाचनको मतपरिणाम घोषणा भएपछि महाधिवेशन समापन समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। तर, पराजित भएसँगै अध्यक्षका दुई उम्मेदवार महेशकुमार श्रेष्ठ र आरके शर्मा बालुवाटार पुगेर आफूहरूलाई नजिता स्वीकार्य नभएको भने। त्यसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको कार्यक्रम नै स्थगित भयो।

अध्यक्षका उम्मेदवार श्रेष्ठ नेपाली काँग्रेसनिकट मानिन्छन्। शर्मा भने माओवादीनिकट हुन्। अध्यक्षमा विजयी भएका बद्री केसी नेकपा (एमाले) निकट छन्। माओवादी र नेपाली काँग्रेस सत्ता साझेदार पनि हुन्।

‘समानान्तर समिति’को कानुनी मान्यताबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।

तर, मुख्य विवाद वा आरोपप्रत्यारोपका बीच मुछिएको ‘भेरो’ एउटा अन्तर्राष्ट्रिय व्यावसायिक कम्पनी हो। जसको विश्वव्यापी प्रतिष्ठामाथि नै संघका ‘विपक्षी’हरू प्रश्न उठाएका छन्।

‘यो विवाद वा लडाइँ जे पनि अब महेश श्रष्ठ, आरके शर्मा र बद्री केसीबीचको भन्दा पनि श्रेष्ठ र आरकेविरुद्ध भेरो भोटिङ कम्पनी भइसकेको छ’, एनआरएनएका एक जना पदाधिकारी भन्छन्, ‘अब उनीहरूसँग अन्तर्राष्ट्रिय अदालतमा भेरो नै मुद्दा लड्छ। किनकि उसले आफ्नो प्रतिष्ठामाथि आँच आउन दिँदैन र विवादहरूलाई कानुनी समाधान खोज्नेछ।’

प्रकाशित मिति: : 2023-10-22 15:23:00

प्रतिकृया दिनुहोस्