६ दाजुभाइ सम्मिलित फुटबल टिम

कार्तिक ११ गतेबाट सुरु भएकाे वडा स्तरीय फुटबलको पहिलो संस्करण सेमिफाइनलमा पुगेको छ। स्तरीय रंगशाला र फुटबल संस्कृतिकाे राम्राे विकास नसकेपछि फुटबलप्रतिकाे क्रेज घटेको छैन।

कुल ३० वटा टिमकाे सहभागिता रहेकाे वडा कपबाट छनोट हुँदै चार वटा टिम बचेका छन्। ती सबै चन्दननाथ नगरपालिकाका छन्। चन्दननाथ नगरपालिका ३, ४, ६ र १० वडाका टिमहरु सेमिफाइनल पुगेका छन्। तीमध्ये १० नम्बर वडाकाे टिममा एकै घरका ६ भाइ सम्मिलित छन्।

साविकको कार्तिक स्वामी गाविस अहिले चन्दननाथ नगरपालिकाको १० नम्बर वडा बनेकाे छ। आयाेजनाबाट सहभागी भएकाे वडाकाे टिममा एकै घरका पाँच जनाकाे सहभागिता हुनुले फुटबलप्रतिको पारिवारिक मोह अचाक्ली रहेको देख्न सकिन्छ।

अत्यन्तै राम्रो प्रदर्शनी गरेर सन्यास लिइसकेका पूर्व खेलाडी तथा घरका जेठा दाइ दुर्लभ खत्री टिम म्यानेजर छन् भने उनी वडा सदस्य पनि हुन्।

उनले व्यवस्थापन गरिरहेकाे टिममा उनका पाँच भाइ खेलाडीकाे रुपमा मैदानमा उत्रिएका छन्। सन्ताेष, उत्तम, किशोर र हृदयेश सम्मिलित टिम साेमबार सेमिफाइनल खेल्दैछ भने पाेषण सम्मिलित बी टिम क्वाटरफाइनलबाट बाहिरिएको छ।

जिल्लामा नाम चलेका खेलाडी सम्मिलित वडा नम्बर १० को टिम उच्च मनोबलका साथ खेलिरहेको छ। पहिलो खेल एक शून्यमा जितेको टिमले दोस्रो खेलमा गोलको वर्षा नै गर्‍यो। चन्दननाथ-१ बीकाे गोल पोष्टमा आधा दर्जन गोल हानेकाे १० नम्बर वडाले ९ नम्बर वडासँगकाे खेलमा २-१ काे जित निकाल्यो।

यी सबै खेलमा टिमकाे उच्च मनाेबल बनाउन खत्री दाजुभाइले उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन्। समग्रमा टिमले राम्रो प्रदर्शनी गरिरहेको छ। जित्नै पर्ने मानसिकता र खेल संस्कृतिको विकास नहुँदा केही वर्ष यता नियमित खेल हुन सकिरहेका छैनन्। फुटबल आयोजना हुन नसक्दा राम्रो सम्भावना भएका खेलाडीहरु गुम्सिएर बस्न बाध्य छन्।

चन्दननाथ नगरपालिका-४ ले आयाेजना गरेकाे खेल पनि विवादरहित भने छैन। आयाेजक वडा र ५ नम्बर वडाकाे खेलमा विवाद हुँदा पाँच नम्बर वडा कारबाहीमा परेको आयाेजकले जानकारी दिएको छ।

लेख संस्कृतिको विकास हुन नसक्दा रेफ्रीको निर्णय नमान्नेदेखि रेफ्री कुट्नेसम्मका काम विगतका दिनहरुमा भएकाे जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए।

'जिल्लामा आयाेजना हुने अधिकांश खेल विवादित छन्। तथापि हामी खेल संस्कृतको विकासका निम्ति अहोरात्र खटिरहेका छौँ,' उनले भने, 'निकै कठिन मेहनतका साथ जुम्लामा फुटबल संघ स्थापना भएकाे हाे। संस्कार विकास गर्न केही समय अझै लाग्ने देखिन्छ।'

मोजाकाे बलबाट सुरु भएको जुम्लाको फुटबलले जन्माएका खेलाडी देशकाे प्रतिष्ठित ए डिभिजन लिक खेल्ने भएका छन्। द्वन्द शाही, सन्तोष खत्री र धर्मेन्द्र कुँवर ए डिभिजन लिक खेलिरहेका छन्। याे गर्भ गर्ने विषय भएकाे जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य भरत बुढथापाले बताए।

धान काटेपछि बाँझा भएका खेत र स्कुलका खाली चाैरमा खेल्दै जन्मिएका खेलाडीका लागि हालसम्म प्रशिक्षण केन्द्र र एकेडेमी बनेका छैनन्। तथापि खेलाडीहरुले फ्रि किक हान्ने, छलाउने, पास दिनेलगायत उत्कृष्ट कला प्रदर्शन गरिरहेका छन्।

निरन्तर खेल आयाेजना नहुनु, आयाेजना भएपनि खेलाडी मुठभेटमा उत्रिनु, त्यसैलाई निहुँ बनाएर सम्बन्धित गाउँका मान्छेसमेत मिलेर झगडामा सामेल हुनुले जुम्लामा खेलकुदकाे विकास हुन सकेकाे छैन। थुप्रै प्रतिभावान खेलाडीले आफ्नाे प्रतिभा दबाएर राख्नु परेकाे छ।

कुनै पनि हालतमा हार्न नचाहने मानसिकता विकास हुँदा नियमित आयाेजना गर्नलाई चुनाैती थपिएकाे अध्यक्ष बुढथापाले बताए। 'जुम्लामा फुटबलको अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रियस्तरमा खेलाडीकाे पहुँच पुर्याउन सकिएकाे छैन,' उनले भने, 'हाम्राे झगडालु स्वभाव परिवर्तन गर्न हामीले नै मेहनत गर्नुपर्ने छ। जसबाट हामीले राम्रा नामी खेलाडीकाे प्रतिभा उजागर गर्न सकुँ।'

कर्णाली प्रदेशमा जुम्ला र सुर्खेत उत्कृष्ट खेल प्रदर्शन गर्ने जिम्ला पर्छन्। प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुँदा सधैँजसाे जुम्ला र सुर्खेतकाे फाइनलमा भेट हुन्छ। निरन्तर खेलिरहेकाे सुर्खेतसँग साेमबारे औँसीजस्ताे कहिलेकाहीँ मात्रै खेल्ने जुम्ला हार्छ। निरन्तर खेल र निरन्तर प्रशिक्षण भएकाे खण्डमा जुम्ला एक नम्बर जिल्ला हुने चर्चित फुटबलर खड्गी कट्टेल बताउँछन्।

जुम्लाकाे फुटबल अझ अगाडि नबढ्नुमा उनकाे पनि एन्फा अध्यक्षकाे जस्तै धारणा छ। 'सुर्खेतका वडा-वडामा खेल मैदान छन्। फुटबल एकेडेमी छन्। हामी खेत खलियानमा खेलिरहेका छाैँ,' उनले भने, 'हामीमा हार स्वीकार गर्ने र खेल सुधार गर्नुपर्ने साेचकाे विकास हुनै सकेकाे छैन। यसैले प्रतिभाशाली खेलाडी खुम्चिनु परिरहेको छ।'

नियमित रुपमा प्रतियोगिताकाे आयाेजना भइरह्याे भने प्रशिक्षणहरु भइरहे र धेरै प्रतिभावान खेलाडी उत्पादन हुने महासचिव हमालको भनाइ छ।

नियमित प्रतियोगिता र संस्कार विकास नहुँदा धेरै खेलाडीहरुकाे भविष्य अनिश्चित बन्दै गइरहेको छ। पारिवारिक कठिनाइ र खेलकाे अनियमितताकाे बीचमा पनि आशा लाग्दो प्रदर्शनी भइरहेकाे आयाेजक ४ नम्बर वडाका अध्यक्ष नवराज देवकोटाले बताए।

'आगामी दिनमा फुटबलको दिशा कता जान्छ, त्याे हेर्न बाँकी नै छ,' उनले भने, 'हामीले याे वर्ष निराश भएर बसेका खेलाडीमा खेल आयाेजना गरेर आशा जगाएका छौँ। यसलाई निरन्तरता दिन हामीमा विकास हुने संस्कार निर्भर हुनेछ।'

प्रतियोगिता चलिरहेको हुनाले खेल प्रेमीहरुकाे घुइँचो छ। राम्रा खेलाडीहरुले खेल प्रेमीहरुलाई आकर्षण गरिरहेका छन्। त्यसमाथि पुरानाे छवि भएकाे लेकाली युवा क्लबका अधिकांश खेलाडी सम्मिलित वडा नम्बर दशको टिमलाई दर्शकहरुले उत्तिकै रुचाइरहेका छन्। त्यसमा अझ आकर्षक देखिएकाे छ, खत्री दाजुभाइको जाेडी।

प्रकाशित मिति: : 2023-11-06 11:50:00

प्रतिकृया दिनुहोस्