जाडाे छल्न रारा आइपुगे ३९२ पाहुना चरी

Breaknlinks
Breaknlinks

हिमालमा अत्यधिक चिसाे बढेपछि मान्छेहरु मधेस झरिरहेकाे बेला रारा ताल वरपर जाडाे छल्न विदेशी चराहरु पाहुना बनेर आएका छन्। रारा आउने चराहरु युरोप, साइबेरिया, तिब्बत र भारतलगायतका देशहरुबाट छन्।

हाल साइबेरिया, युरोप, मंगोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

रारा तालमा पुगेको चराको रारा राष्ट्रिय निकुञ्जले गणना गर्ने गरेको छ। विभिन्न देशबाट चिसो छल्न रारामा चराको आगमनले पनि पर्यटकलाई लालयित पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेले बताए।

उनकाअनुसार यस वर्ष रारा तालमा तीन सय ९२ वटा साइबेरियन चरा पुगेका छन्। साइबेरियाबाट चिसो छल्न तीन सय ९२ वटा चराहरु रारातालमा पुगेको संरक्षण अधिकृत घिमिरेले बताए।

‘निकुञ्जमा रहेका नेपाली सेनासहितका २४ जना जनशक्ति खटिएर चराको गणना गरिएको थियो,’ उनले भने, ‘चराहरुलाई ए देखि डि गुरुपमा विभाजन गरी गणना गरेका थियौँ।’

गणनाको विवरणनुसार मरुल १७८ वटा, कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस १ वटा, खोया हाँस ३ वटा, सुनजुरे हाँस ११७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा ३ सय ९२ वटा साइबेरियन चरा रारातालमा पुगेको गणनाबाट पत्ता लागेको निकुञ्ज प्रमुख घिमिरेले जानकारी दिए।

पाहुना लाग्न आएका चराहरुका कारण राराको सुन्दरता थप मनमोहक बनेछ। यतिबेला रारा ताल घुम्न आउने पर्यटकले राराको सुन्दरतासँगै पाहुना चराको पनि अवलोकन गर्न पाउँछन्।

उनकाअनुसार रारा ताल दिउँदको समयमा पर्यटकसँगै चराहरुको लागि निकै उत्कृष्ट गन्तव्य बनेको छ। साइबेरियामा नेपालका हिमाली जिल्लाभन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजातीका चरा रारा आउने गरेका छन्। विगतका तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन्।

सन् २०१२ मा पहिलोपटक रारा तालमा वरपर २७२ प्रजातिका चराहरू रहेको रेकर्डमा उल्लेख छ। जसमा ४९ प्रजातिका जल पन्छीहरू छन्। रारा ताल पर्यटकको आर्कषण केन्द्रका साथै पन्छीकाहरुका लागि आश्रयस्थलका रुपमा समेत रहेको निकुञ्ज प्रमुख घिमिरेको भनाइ छ।

यहाँ मंसिर दोस्रो साताभित्रै पंखथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएका छन्। कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा-चखेवी, कर्‍याङकुरुङ मरुललगायत विदेशी चराहरु जाडो छल्न रारा आउने गरेका छन्।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन्।

बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेकाे निकुञ्जले बताएको छ। निकुञ्जकाे मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चराहरु देख्न सकिन्छ।

तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चराहरु उक्लिने गरेका छन्। चराहरु राति बास बस्न तालनजिकका ढुङ्गेओढार, रूखमा आउने गरेका छन्।

मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठुला-साना चरा देखिनुका साथै चिरबिर सुनिने गरेको रारा मुर्मा गाउँका गोर्ख रोकायाले जनाए। उनकाअनुसार जिल्लाभित्रका रैथाने चरा पनि चिसोमा रमाउन रारा जाने गरेका छन्।

प्रकाशित मिति: : 2024-01-23 06:10:00

प्रतिकृया दिनुहोस्