बुधबार, २४ जुन २०२६

रास्वपा वरिष्ठ नेतामा बालेन शाह निश्चित, सभापतिले चाहे अरू पनि थप्न सक्ने

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीले विधान नै संशोधन गरेर ‘वरिष्ठ नेता’को पद सिर्जना गरेको छ।

रास्वपाको जारी प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै यसअघिको विधानमा कल्पना नै नगरिएको वरिष्ठ नेताको पद सिर्जना गरिएको हो।

विधानको धारा २२ (११) (ञ) मा वरिष्ठ नेतासम्बन्धी व्यवस्था गरिएको छ। ‘पार्टीको नीति निर्माण र साङ्गठनिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्‍याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले ‘वरिष्ठ नेता’ मनोनीत गर्न सक्ने’ भनि विधानमा व्यवस्था गरिएको छ।

योसँगै यसअघि केन्द्रीय समितिले मनोनीत गरेका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह विधान बमोजिमकै वरिष्ठ नेता बन्ने बाटो खुलेको छ। काठमाडौं महागरको मेयर छँदै गत पुस १३ गते रास्वपा भित्रिएका बालेनलाई पुस २० गते केन्द्रीय समितिले वरिष्ठ नेता मनोनीत गरेको थियो।

विधानको धारा २२ (११) (ञ) (२) मा ‘पार्टीको साङ्गठनिक मर्यादाक्रम तथा केन्द्रीय समितिको बैठकलगायत सम्पूर्ण औपचारिक कार्यक्रमहरूमा वरिष्ठ नेताको वरीयता पार्टी सभापतिपछिको दोस्रो (द्वितीय) स्थानमा रहने छ’ भन्ने उल्लेख छ।

त्यस्तै रास्वपाको संशोधित विधानले पार्टी सभापतिलाई आफूअनुकुल २ भन्दा बढी वरिष्ठ नेता मनोनीत गर्नसक्ने अधिकार दिएको छ।

धारा २२ (११) (ञ) (३) मा भनिएको छ, ‘यस धाराको उपधारा (१) बमोजिम मनोनीत वरिष्ठ नेताहरूको संख्या दुई वा दुईभन्दा बढी भएको अवस्थामा, निजहरूबीचको आपसी वरीयताक्रम केन्द्रीय समितिले निर्णय गरी निर्धारण गरेबमोजिम हुनेछ।’

रास्वपा विधानअनुसार वरिष्ठ नेताको काम, कर्तव्य र अधिकारः

(क) पार्टीको नीति निर्माण, साङ्गठनिक सञ्चालन र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयहरूमा पार्टी सभापति तथा केन्द्रीय समितिलाई आवश्यक सल्लाह, सुझाव प्रदान गर्ने।

(ख) पार्टीभित्र आन्तरिक एकता, साङ्गठनिक सुदृढीकरण र भावनात्मक सद्भाव कायम राख्न सन्तुलनकारी भूमिका निर्वाह गर्ने।

(ग) केन्द्रीय समिति वा पदाधिकारी बैठकले तोकेका तथा सुम्पेका अन्य विशेष जिम्मेवारीहरू पूरा गर्ने।

रास्वपाको संशोधित विधानअनुसार राष्ट्रिय महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित सभापति, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य, सभापतिद्वारा मनोनीत ५१ केन्द्रीय सदस्य, सात जना पदेन केन्द्रीय सदस्य (प्रदेश सभापतिहरू) गरी १५८ सदस्यीय केन्द्रीय समिति रहने छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!