उपचार खर्च तिर्न नसक्दा हेटौँडाका अमन पाटन अस्पतालमा ‘बन्धक’ (भिडियाे)

मिनु गोले

ललितपुर

मकवानपुरको रामधुनी नगरपालिका– १८ का १९ वर्षीय अमन पुर्कुटी दुई महिनादेखि पाटन अस्पतालमा ‘बन्धक’ बनेका छन् । उनी ब्रेन ट्युमरका बिरामी हुन्।

परिवारका अनुसार उनलाई गत पुष ८ गते ललितपुरस्थित पाटन अस्पतालमा उपचारका लागि ल्याइएको थियो। त्यसयता अमनको उपचारमा पाँच लाख सकिसकेको छ।

जसमा ३ लाख परिवारले बुझाएका छन्। बाँकी दुई लाख बुझाउन नसक्दा उनलाई अस्पतालले डिस्चार्ज नगरेको उनकी दिदी अनिशा पुर्कुटीले बिएल नेपाली सेवासँग बताइन्।

यद्यपि, अमनको अहिले पनि आइसियूमा उपचार भइरहेको छ। परिवारले आइसियूबाट निकालेर अन्यत्रै लैजाने तयारी गरेको छ। तर, थप दुई लाख तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको अनिशाले जानकारी दिइन्।

थप पैसा नहुँदा पाटन अस्पतालमा पनि राम्रोसँग उपचार हुन सकेको छैन। अमनले दुधबाहेक अन्य खान सक्ने अवस्था छैन। थप उपचार गरेमा ब्रेन ट्युमर निको हुने पाटन अस्पतालले परिवारलाई बताएका छन्।

तर, पैसाकाे अभावमा थप उपचार गर्न नसकेकाे अनिशाले बताइन्। अमन सुकुम्बसी जग्गामा बस्दै आएका छन्। उनको पाँच परिवारमध्ये कमाउने कोही छैन।

आमा–बुबा सुकुम्बासी बस्तीमा दैनिकी गुजारा चलाउन कठिन छ। वडाले बनाइदिएको घरमा बसेर दैनिकी गुजारा चलाउन अमनका आमा–बुबाले ज्याला-मजदुरी गर्छन्। दुई दिदीको बिहे भइसकेको छ।

अमनलाई ब्रेन ट्युमर जन्मजात नै थियो। आठ कक्षा पढ्दा आँखा नदेख्ने समस्या भएपछि उनले थप पढ्न पनि सकेनन्। उनी केही समयदेखि काठमाडौँमा बिरुवा रोप्ने काम गर्थे।

चाडपर्वमा मनाउन घर गएको समयमा उनी एक्कासी बिरामीले थलिएका थिए। त्यसपछि उनलाई पाटन अस्पतालमा ल्याइएको थियो। पाटनमा उपचार गर्दा पैसा अभाव भएपछि गाउँमा आमाले चन्दा मागेकी थिइन्।

आफन्तबाट ५० हजार ऋण लिएको र सहयोग मागेको पैसा गरी ३ लाख रुपैयाँ उठेको थियो। त्यही पैसाले आजसम्म उपचार गरिएको थियो।

‘उपचारमा अस्पतालमा पाँच लाख खर्च भएको छ। त्यो पनि सबै तिरेकै छैन। पैसा तिर्नु पर्दैन? भन्दै डाक्टर काराउँछन्’, दिदी पुर्कुटीले भनिन्, ‘काठमाडौँमा आफ्नो कोही छैन। म आएदेखि अस्पतालमै छु। अन्त जाने ठाउँ छैन। बाँकी पैसा नहुँदा भाई अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी भाइलाई अस्पतालबाट निकल्न सकिँदैन।’

उनले थप सहयोग चाहिएको बताइन्। केही अभियन्तालाई सहयोग मागको भए पनि कसैले नसुने झैं गरेको उनको गुनासो छ।

‘फेसबुक, युट्युबमा सहयोग गर्नेहरुलाई फोन गरेर हामीलाई पनि सहयोग जुटाइदिन भनेको हुँ। तर, उनीहरुले हामीलाई वास्तै गरेरनन्’, उनले गुनासो गरिन्, ‘अहिले त उनीहरुले फोन पनि उठाउँदैनन्।’

सहयोगका लागि: अनिशा (पुर्कुटी) राई, फोन नम्बर 9745717873

प्रकाशित मिति: : 2024-02-13 20:45:00

प्रतिकृया दिनुहोस्