नेपालीलाई भिसा दिन अमेरिका उदार, जनवरीमा २,३६७ नेपालीले पाए पर्यटक भिसा

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाले यो वर्ष नेपालीलाई उदारतापूर्वक पर्यटक भिसा दिने संकेत देखाएको छ। वर्षको पहिलो महिना जनवरीमा मात्र दुईहजार तीनसय ६७ नेपालीले अमेरिकाको पर्यटक भिसा पाएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । 

यो संख्यामा एक हजार नौ सय ५७ काठमाडौैस्थित अमेरिकी दूताबासले जारी गरेको यर्यटक भिसाको हो भने बाँकि चारसय १० अन्य देशमा रहेका अमेरिकी दूताबासबाट नेपाली राहदानीबाहक नेपालीले पाएको पर्यटक भिसाको संख्या हो । काठमाडौैंमा अमेरिकाको भिसा लिन लामो लाइन लाग्नुपर्ने र थप कडाइ पनि हुने भन्दै केही नेपाली भारतस्थित अमेरिकी नियोगहरूमा गएर भिसा आवेदन दिने चलन पनि छ ।

संयोग नै भन्नुपर्छ, काठमाडौैस्थित अमेरिकी दूताबासभन्दा भारतस्थित अमेरिकी नियोगहरूबाट तुलनात्मक रूपमा बढी नेपालीले अमेरिकाको पर्यटक भिसा पनि पाउने गरेका छन् । अझ, अन्य देशमा रहेका अमेरिकी नियोगहरूबाट अमेरिकाको भिसा पाउँन सहज हुने गरेको देखिएको छ ।

अमेरिकाले आर्थिक वर्ष २०२४ मा नेपालीलाई उदारतापूर्वक पर्यटक भिसा दिने संकेत गरेको छ। आर्थिक वर्षको पहिलो चार महिनामै आठहजार एकसय ३६ नेपालीले अमेरिकाको पर्यटन भिसा पाइसकेका छन्। जनवरीमा मात्रै  दुई हजार तीनसय ६७ नेपालीले पर्यटक भिसा पाएर एकै महिना धेरै भिसा पाउने महिनाको नयाँ कीर्तिमान बनेको छ।

आर्थिक वर्ष २०२४ को पहिलो चार महिनालाई आधार मान्ने हो भने जनवरीमा सबैभन्दा धेरै नेपालीले अमेरिकाको पर्यटक भिसा पाएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार यसअघि अक्टोबरमा दुई हजार ८१, नोभेम्बरमा एकहजार सात सय ८१ र डिसेम्बरमा एकहजार नौसय सात नेपालीले अमेरिकाको पर्यटक भिसा पाएका थिए । 

आमनेपालीको बुझाइ अमेरिकाले नेपालीलाई भिसा सजिलै दिदैन भन्ने छ । तर, यो आर्थिक वर्षको पहिलो चार महिनामा मात्र आठहजार एकसय ३६ नेपालीले अमेरिकाको पर्यटक भिसा पाइसकेका छन्। यो संख्या हेर्ने हो भने आमनेपालीको बुझाइभन्दा फरक  तथ्य भेटिन्छ। 

यसअघि आर्थिक वर्ष २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको  पर्यटक भिसा पाएका थिए । यो संख्या प्रतिशतमा ६८.७ प्रतिशत हुन्छ । यसको अर्थ पर्यटक भिसा आवेदन दिने एकसय नेपालीमध्ये झण्डै ६९ नेपालीले अमेरिकाको पर्यटक भिसा पाएका थिए ।

प्रकाशित मिति: : 2024-02-29 03:02:00

प्रतिकृया दिनुहोस्