‘सरखार हाम्मालेखी पुनि रछ…’

जुम्लाका पाटनहरूमा हरेक सिजन केही न केही जडीबुटी पाइन्छ। त्यसैले गाउँलेहरू पाटन उक्लिरहन्छन्। यो यहाँका स्थानीयको एउटा राम्रो र नियमित आम्दानी पनि हो।

जंगलका यी जडीबुटी खोज्न कम्ता गाह्रो हुन्न। कतै पाइन्छ, कहिले कतै पाइन्न। अनि खाली हात फर्किनुपर्छ। र, पनि पाटनमा पाइने बहुमूल्य जडीबुटी धेरैको घर धान्ने मेसो पनि बनेको छ।

घरधन्दा चलाउन भनेर हप्ता दिन अगाडि तातोपानी गाउँपालिका- ७ बारा र मछालदेउ गाउँका दुई जना पुरुष र छ जना महिला तातोपानी गाउँपालिका- ४ स्थित बजेडी पाटन पुगेका थिए। तर, एकाएक मौसममा बदली भयो।

उनीहरू ह्याड्या र महारंगी जरा कोर्न गएको र प्रतिकूल मौसमका कारण समस्यामा परेको तातोपानी गाउँपालिका- ४ का वडा अध्यक्ष अमरबहादुर रोकायाले बताए।

बारा गाउँका स्थानीय मुनबहादुर रावतकाअनुसार उनीहरूको टोली जडीबुटी संकलन गर्न जाँदा गिडीदह आसपासको क्षेत्रमा हिमपातका कारण सम्पर्कविच्छेद भएको थियो।

यथार्थ, विवरणका लागि जुम्लाका प्रमुख जिल्ला अधिकारीले ताम्ती प्रहरीलाई खबर गरेका थिए। त्यही बिचमा उनीहरु सम्पर्कमा आएपछि केही मात्रामा ढुक्क भएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

तर, बुधबार अचानक उनीहरुसँग सम्पर्क टुट्यो। पाटनमा बाख्लो हिउँ परेका कारण उनीहरुको विषयमा गाउँमा चिन्ता बढ्न थाल्यो। स्थानीयहरुले अत्तालिँदै पालिकालाई गुहारे। त्यसपछि उनीहरुलाई उद्दार गर्ने प्रक्रिया अगाडि बढ्यो।

स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालय, गृहमन्त्रालय, प्रदेश सांसद, नन्दाक्स गण जुम्लाकाे निरन्तर प्रयासपछि हिउँमा फसेका नागरिककाे उद्वार प्रक्रिया अगाडि बढाउन सकिएको वडा अध्यक्ष राेकायाले बताए।

उनकाअनुसार हिउँमा फस्नेमा २८ वर्षीया अत रावत,  ४० वर्षीया दीपा रावत, ५७ वर्षीया गौरी रावत, ४० वर्षीया हरिशाेभा रावत, ५७ वर्षीया ससिला रावत, ४० वर्षीया जगमति राेकाया, २७ वर्षीय संसार थापा र २७ वर्षीया गाेरी रावत थिए। उनीहरु सबैलाई हेलिकप्टरमार्फत् सकुशल उद्दार गरियो।

सामाजिक सुरक्षा भत्ता पाउन तीन वर्ष मात्रै बाँकी रहेकी ५७ वर्षीया गौरी रावतले आर्थिक समस्या परेको र समस्या टार्न भनि पाटन उक्लिँदा आफैँ समस्यामा परेको बताइन्।

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

समस्यामा परेको बेला हेलिकप्टर पठाएर आफूहरुलाई जोगाएको भन्दै ५७ वर्षीया ससिला रावतले सरकारलाई धन्यवाद दिइन्।

‘न घर कसैसँग कुडा हुना न कोही थाह पाउन्या छिया। हामीले त मरिजान्छु सोच्यौं। हामीकन जोगाउन को आउन्या छियो?,’ उनले भनिन्, ‘तर सरखार हाम्मा लेखी पुनि रछ। हामीकन बचाउन आयो। हामिकन बचाउन्या सबैलाई देवी देउवाले सँधै रक्षा गरून्।’

उनीहरु सबैले जिविको पर्जनका निम्ति पाटन गएको बताए। मौसम बिग्रेला भन्ने थाहा नपाएका कारण आर्थिक उपार्जनका लागि जोखिम मोलेर पाटन जानू परेको उनीहरुको भनाइ छ।

समस्यामा परेका आफ्ना नागरिकलाई हर हालतका जोगाउने कोसिस गर्नु स्थानीय सरकारको दायित्व भएको र त्यसैका लागि निरन्तर लागिपरेको पालिका अध्यक्ष चाैलागाईंले बताए।

‘आपतविपतमा जनताको सेवाकै निम्ति हामी छौं। त्यही भएर हामी उनीहरु सम्पर्कविहीन भएको सुन्ने बित्तिकै लागेका हौं,’ उनले भने, ‘निरन्तरकाे पहलपछि सबैलाई सकुसल उद्वार गर्न सफल भयाैं। हामीले हाम्रो कर्तव्य पूरा गर्‍यौं।’

उद्दार गरिएका सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार गरिरहेको निर्देशक डा. पुजनकुमार रोकायाले बताए। उनकाअनुसार चिसोका कारण उनीहरुको मुटुमा सामान्य असर देखिएको छ।

‘अत्यधिक चिसोका कारण मुटुमा समस्या देखिएको हो। हामीले नियमित रुपमा अब्जरभेसन गरिराखेका छौं,’ उनले भने, ‘थप २४ घण्टा हेरेपछि घर पठाउने तयारी छ। स्वास्थ्यमा अरु कुनै समस्या छैन।’

प्रकाशित मिति: : 2024-03-07 19:55:00

प्रतिकृया दिनुहोस्