चुनढुङ्गा प्रकरण : छटपटीमा भूमिकास्थानका मेयर थापा

मेयर थापा भन्छन्,- यदि पुष्टि भए कारबाही भाेग्न तयार छु।

फाइल तस्विर
फाइल तस्विर

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापाले सिमेन्ट उद्याेगलाई चुनढुङ्गा उत्खननका लागि अवैधरुपमा अनुमति दिएकाे खुलासा भएकाे छ।

राष्ट्रिय जनमाेर्चाबाट निर्वाचित मेयर थापाले नगर कार्यपालिका बैठककाे निर्णयविपरीत वडा नं. ९ ढिकुरास्थित सान्डेभामा रहेकाे चुनढुङ्गा उत्खननका लागि कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रा.लि.लाई अनुमति दिएकाे खुलासा भएकाे हाे।

२०७९ भदौको १७ गते र असोजको १४ गते नगर कार्यपालिका बैठकले साे स्थानकाे चुनढुङ्गा उत्खनन गर्न नदिने निर्णय गरेको थियो। यद्यपि, निर्णयविपरीत नगरपालिकाले मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएकाे थियाे। उक्त आशयपत्रमा मेयर थापाले स्पष्टसँग हस्ताक्षर गरेका छन्।

मेयर थापाकाे हस्ताक्षरसहित नगरपालिकाले गरेकाे सिफारिसका आधारमा भूगर्भ विभागले यही फागुन १४ गते चुनढुङ्गा उत्खननकाे अनुमतिपत्र दिएकाे छ।

मेयर, केही वडा अध्यक्ष र बाहिरका व्यक्तिहरुले कार्यपालिका बैठक तथा स्थानीयकाे मर्मविरीत विभागलाई चुनढुङ्गा उत्खननका लागि सिफारिस गरेकाे भन्ने घटना विगतदेखि नै भित्र-भित्रै चर्किएकाे भएतापनि केही दिनअघि मात्र बाहिरिएकाे थियाे।

घटना बाहिरिएपछि छटपटीमा रहेका मेयर थापाले सिफारिसपत्रमा रहेकाे हस्ताक्षर आफ्नाे नभएकाे दाबी गरेका छन्। ‘त्याे सिफारिसपत्र कसरी गयाे मलाई थाहा छैन, त्यसमा भएकाे हस्ताक्षर पनि मेराे हाेइन,’ मेयर थापाले बिएल नेपाली सेवासँग भने, ‘यस्ताे काम कसले गर्‍याे म खाेजीमा लागेकाे छु।’

एउटा सरकारी कार्यालयले तपाईंकाे हस्ताक्षरलाई सही ठहर गरेर अनुमति दिएकाे छ। कानूनत: तपाईं दाेषी देखिनु भयाे नि र ? भन्ने प्रश्नमा मेयर थापाले‘यदि पुष्टि भए कारबाही भाेग्न तयार छु। तर, याे देशमा कानुन हाेला, हस्ताक्षर जाँच गर्ने विधिविधान प्रयाेगशाला पनि हाेला नि त।’

विजया सिमेन्ट्स प्रा.लि.ले भने आफूहरु कानूनी बाटोमा जाने बताएको छ। पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिदिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताए। पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा भएको जनाउँदै उनले आफू पनि कानूनी बाटोमा जाने बताए।

प्रकाशित मिति: : 2024-04-03 18:57:00

प्रतिकृया दिनुहोस्