त्यो गीत, जसले नरेन्द्रको ‘मास्टरी’ खोसेर गायक बनायो

जिन्दगीको यात्रामा कुनै-कुनै यस्ता मोडहरू आइदिन्छन् कि जसले एकातिर अविष्मरणीय छाप छोडेर जान्छन् भने अर्कोतिर नयाँ गोरेटो तय गरिदिन्छन्।

भनिन्छ नि केही राम्रो हुनका लागि नै नमिठा पलहरूले पछ्याइरहका हुन्छन्। गायक नरेन्द्र रेग्मीको जीवनमा पनि ती पलहरूले निकै पछ्याए। 

खाइपाइ आएको जागिर छोड्नुपर्ने बाध्यता नआइदिएको भए सम्भवतः आज उनको परिचय यति व्यापक हुने थिएन होला। त्यो क्षण सम्झेर बझाङ्ग जिल्लाका तत्कालीन सिडिओलाई धन्यवाद दिँदै उनी भन्छन्, ‘ती सिडिओ साबको नाम त बिर्सेँ। अहिले भेट्न पाएको भए त ढोग्थेँ नै। उनकै कारण खाइपाइ आएको जागिर मात्रै गुमाइनँ, जागिर गुमेपछि नै कलाकारका रुपमा चिनिने अवसर पाएको हुँ। म शिक्षक नै भैरहेको भए यो चिनारी बन्ने थिएन। त्यसैले ती सिडिओलाई हृदयदेखि नै धन्यवाद दिन्छु।’

सानैदेखि नृत्य विधाले निकै नै आकर्षित तुल्याइरहेको हुन्थ्यो उनलाई। कतै नाचगान भइरहेको चाल पाउँदा घरबाट भागेर जान्थे। उनी ननाची छोड्दैन थिए। सानोमा गाउँघरतिर राम्रो नृत्य गर्ने ठिटोको रुपमा चिनिए।

‘गायनमा साधना गरेर आएको हैन। हार्मोनियमका सुरहरुसँग अझैं पनि अनभिज्ञ नै छु। बजाउन त तवला, मादल, हाम्रोनियम बजाउँछु। बिटमा अझैं ख्याल छैन’, उनी सम्झिन्छन्, ‘त्यसको कारण हो गुरुबिनाको ज्ञान। नृत्यमा भने छ महिनासम्म महेन्द्र नगरमा सुर्खेतबाट आएका टेकराज भारतीसँग तालिम लिने अवसर पाएको हुँ।’

विद्यालयमा सांस्कृतिक कार्यक्रम भैरहन्थे। उनी नृत्यमा जहिले पनि पुरस्कृत भैरहन्थे।

सत्यबादी मा.वि.बाट एसएलसी परीक्षा दिएर महेन्द्रनगर आएका रेग्मीले सिद्यनाथ क्याम्पसमा आइएस्सी पढे। फिजिक्स ब्याक लागेपछि सरस्वती मा.वि. उल्टाखाममा शिक्षक बने।

२०४० सालमा आइएस्सी उत्तीर्ण भएसँगै शिक्षक सेवा आयोगको परीक्षामा समेत नाम निकाल्न सफल भए। पढाइरहेकै विद्यालयमा पोस्टिङ भयो। केही समयपछि उनका कान्छा बुबा देवराज रेग्मीले बझाङ्ग सरुवा गर्न लगाए। सरुवा गराउनुको कारण थियो इनसर्भिस कोटामा अध्ययन गर्न पठाउने।

तर, उनी सरुवा भएर बझाङ्गस्थित थलारा पुगेकै समय सेती परियोजना र जिल्ला शिक्षा कार्यालय दुवैतिर इनसर्भिसअन्तर्गत अध्ययन गर्ने कोटा पूर्णरुपले कटौती भैदिए। त्यसपछि त्यतै शिक्षणमा रमाउनुको विकल्प रहेन।

२०४४ सालमा जिल्ला सदरमुकाम चैनपुरमा सांस्कृतिक कार्यक्रममा भाग लिन विद्यार्थी लगेर गए।

पञ्चायती शासनको चरमोत्कर्ष थियो। जिल्लामा सिडिओको अत्याचार बढिरहेको थियो। धेरैले सिडिओकाविरुद्ध केही गर्न भनिरहेका थिए। उसो त उनी पढाउने विद्यालयका शिक्षकहरुको एउटा समूह नै सकिए थियो अत्याचारविरुद्ध कदम उठाउनमा। तथापि पञ्चायत काल न थियो।

अहिलेको जसरी सजिलै बिरोध गर्न कहाँ सक्नु र!

‘सिडिओले दूध बेच्न आउने केटीलाई पेट बोकाए छन्। त्यतिमात्र कहाँ जिल्लाबाहिर लगेर गर्भपतनसमेत गराएको हल्ला चारैतिर सुनिन थालेको थियो। त्यतिबेला जिल्लामा सिडिओलाई कसले औंला उठाउन सक्नु’, त्यो समय सम्झिन्छन् उनी।

विद्यार्थीहरुको प्रतियोगिता सकिएपछि उक्त कार्यक्रममा उनले सिडिओलाई नै लक्षित गरी गीत गाए।

जहाँ सिडिओलाई नै प्रमुख अतिथि बनाइएको थियो। उक्त गीतको बोल थियो चैर मुसी चै।

जाडी होली पुसका मैना ओढी हाल सौल 
दूध खाउँ भनी बिल्लो गयो वइ परेछ कौल
सबै बाजा बजिसके क्या बजेन दाइन 
मुसा त सबैठाउँ देखेँ इसा मुसा काइन 

गीतको अर्थ नबुझेका सिडिओले त्यो बेला रेग्मीलाई सुरुमै पाँच सय पुरस्कार दिएछन्। त्यो दिन सबैबाट पाएको पुरस्कार स्वरुपको पैसा ५५०० भएछ।


प्रेमदेवले साँचिराखेको ‘मादल-प्रेम’


रेग्मीका गुरु विष्णुभक्त जोशीले भाषण गर्ने क्रममा नरेन्द्रको गीतको तारिफ गर्दै भनिदिएछन्, ‘यो बझाङ्गका जस्ता मुसा कतै छैनन्। मैले नि महसुस गरेको छु।’

बल्ल सिडिओका कान ठाडा भएछन्। कार्यक्रम सकिएपश्चात एकएक शब्दको अर्थ खोज्न लगाएछन्। त्यो मुसा भनेको उनै सिडिओ थिए।

तत्कालीन जिल्ला सभापति दीपकबहादुर सिंहले सिडिओलाई सम्झाएछन् तथापि मानेन छन्।

त्यसपछि रेग्मीलाई पक्राउ गर्ने योजना बनाउन थालियो। रेग्मी बसेको होटलमै आएर जिल्ला सभापतिले सिडिओको योजनाका बारेमा सुइँको दिइसकेका थिए।

पञ्चायतको समय। सबै शुभचिन्तकले जिल्ला छोड्न सल्लाह दिएपछि रेग्मी हिँडे कैलालीतिर। पक्राउ गर्ने हेतुले पुलिस पुगेछन् उनको घरमा। सिडिओले उनलाई राजद्रोहको मुद्दा लगाए। केही समयपछि सुनुवाइ भएको मुद्दा त रेग्मीले नै जिते तथापि उनले त्यो ठाउँ छोडिसकेका थिए।

कैलालीबाट काठमाडौँ पुगेका रेग्मी नाचगानका क्षेत्रबाट विश्राम लिने सोचले ताहाचल क्याम्पसमा बिएडमा भर्ना भई पढ्न थाल्छन्।

उनी त्यहाँ अध्ययनरत रहेको कुरा चाल पाउँछन् बझाङ्गकै वसन्त खत्रीले। जो त्यतिबेला विष्णु मा.वि. सतुङ्गलमा प्रअ थिए। जसलाई नरेन्द्रको नृत्यकलाका बारेमा राम्ररी थाहा थियो। तिनै खत्रीले नरेन्द्रलाई भेटेर विद्यालयस्तरीय कल्चर कम्टिसन कार्यक्रमका लागि आफ्नो विद्यालयमा नृत्य सिकाइदिन अनुरोध गरेछन्।

गीतसंगीतका गोरेटोमा पाइला चल्दै गर्दा आखिर ठाउँ नै छोड्नु परेको तितोसत्य घामजस्तै छर्लङ्गै थियो। त्यही कुराले बेलाबखत मनमा अनेक तरङ्ग उत्पन्न भैरहने कुरा मनन गर्दै विनम्रतापूर्वक उत्तर दिएछन् उनले, ‘भाइ, म पीडित भएर आएको हुँ। म निकै नै दुखी छु। मैले यो काम छोडिसकेँ।’

‘म कसैलाई भन्दिनँ। हजुरको पारिश्रमिकको पनि व्यवस्था गर्छु। जसरी हुन्छ सिकाइ दिनु पर्‍यो। नाइँ नभन्नु, खत्रीले पनि आग्रह गर्न छोडेनछन्’, उनै वसन्त खत्रीको वचन काट्न नसकी मन नलागी नलागी पनि हुन्छ भन्न बाध्य हुन्छन्।

भोलिपल्टदेखि विद्यालयमा गई विद्यार्थीलाई नृत्य सिकाउन थालेछन्। संयोगवश प्रतियोगितामा उक्त विद्यालयका विद्यार्थीले तृतीय स्थान हासिल गरे। तत्पश्चात प्रअसँगै संचालक समिति सदस्यहरु रेग्मीलाई भेट्न ताहाचल पुग्छन्। भेटमा तिनले पार्टटाइम शिक्षक भइदिन निकै नै अनुरोध गरेछन्। रेग्मीले उक्त प्रस्तावलाई सजिलै स्विकार गरेछन्। उनले ६ वर्ष त्यहाँ आंशिक शिक्षकका रुपमा काम गरे।

उनी नौ महिनाको छँदा बुबा वीरभद्रले धर्तीबाट बिदा लिए। बुबापछि घरपरिवार सम्हाल्ने जिम्मेवारी आइपुग्यो माइलाबुबा हरिप्रसादको काँधमा। ती माइला बुबाको बिहे भएको थियो नरेन्द्रकी आमाकै बहिनी अर्थात् सानी आमासँग। बुबाको फोटोसम्म पनि नदेखेका नरेन्द्रलाई बझाङ्गमै छोडेर २०२९ सालमा आमा कमलादेवी पनि कञ्चनपुरस्थित शिवनगरमा बसोबास गर्न थालिन्।

उनलाई कसैले भनिदिएनन् जन्मदिने बुबा अर्कै थिए भन्ने। त्यो पल सम्झिन्छन् उनी, ‘माइला बुबालाई नै जन्मबुबा ठानिरहेँ। उसो त बुबा-आमाले गर्ने माया र स्नेहमा कतै कमी हुन दिनु भएको पनि थिएन। मलाई कसैले बुafको नाम सोध्दा एकै सासमा भनिदिन्थेँ हरिप्रसाद रेग्मी।’

एसएलसी परीक्षा दिनेताका बल्ल थाहा पाए बुबाको नाम।

ताहाचल क्याम्पसमा अध्ययन गर्नेताका नजिकका साथी थिए टीकाराम श्रेष्ठ। जसको सम्बन्ध थियो नारायण रायमाझीसँग।


थारुगाउँमा माझिएकाे एउटा आवाज


२०४५ सालमा तिनै श्रेष्ठले उनलाई रायमाझी कहाँ पुर्‍याई रेडियोमा गीत गाउन समय मिलाए। समझनाको डायरी पल्टाउदै सुनाउँछन् उनी, ‘युक्त गुरुङ्गको कार्यक्रममा गाउन नारायण सर कहाँ रियाज गर्न जान थालेँ। पछि उहाँसँग घनिष्टता बढ्दै गयो। रेडियोमा गीत गाएपछि नारायण सरले भन्नु भयो, ‘लोकगीत प्रतियोगिता हुँदैछ भाग लिनोस् है।’

त्यतिबेला प्रतियोगितामा जान जिल्लाको सिफारिस चाहिन्थ्यो। जिल्लाबाट सिफरिस पठाउने क्रममा परिमल स्नेही र नन्दकृष्ण जोशीको नाम पनि पठाइएको थियो। तर, उहाँहरु प्रतियोगितामा देखिनु भएन।’

रेडियो नेपालको लोकगीत प्रतियोगीतामा ‘क्या मिठो लाग्न्छ फूलजसो फुलेको जिल्ला’ बोलको गीत गाएर सान्त्वना पुरस्कार पाएका रेग्मी बताउँछन्, ‘सात आठ कक्षामा पढ्नेताका नै रेडियोबाट परिमल स्नेहीका गीत बजेको सुन्थेँ। त्यतिबेला स्नेहीका गीत रेडियो खस्र्याङ, अलइन्डिया रेडियो, चाइना रेडियो बाटसमेत बज्ने गर्थे।’

बहुदल जुरमुराएको समयमा उनले खप्तडको सेरोफेरो नामक एल्बम निकाले।

उनी उक्त एल्बम प्रकाशनको सम्पूर्ण श्रेय नारायण रायमाझीलाई नै जाने कुरा बताउँछन्, ‘एल्बम निकाल्न हौस्याउने नै रायमाझी सर हुन्। जसमा उहाँलगायत तीर्थ गन्धर्व, कृष्ण गुरुङ्ग, जङ्गे सर सबैले बिनापारिश्रमिक बाजा बजाइदिनु भयो। एल्बम निकाल्न उहाँहरु सबैको साथ सहयोग रह्यो।’

पाँच सय क्यासेट डबिङ गरेर घर फर्केका उनले २०० प्रति महेन्द्रनगर, २०० प्रति बझाङ्गमा वितरण गरे भने एक सय प्रति आफैँसँग राखे। घरपुग्दा उनका बुबा (माइलो बुबा)ले उदास मुद्रामा भनिदिएछन्, ‘चेलो पढेर शिक्षक बनेर आउला ठान्या त गाइने बनेर आएछ। अब यो काम लाग्दैन।’

यति सुनेपछि मन खिन्न हुने नै भयो।

बजारबाट पनि कतै कुनै प्रतिक्रिया आएन छ। कतैबाट कुनै प्रतिक्रिया नआउनु अनि घरमा जसले सानैदेखि जन्मदिने बुबाकै सरह अभिभावकीय भूमिका निर्वाह गरे उनै असन्तुष्ट बनेपछि अब धोको पुग्यो भनेर काठमाडौं फर्किए उनी।

दसैँको बेला साढुभाइले भेटघाट गर्न भनी बोलाएर एक जना माडेकहाँ पुर्‍याएछन्।

भेटमा ती मारवाडीले भनेछन्, ‘क्यासेट कहीँ नही मिला। तब मैने पलिया जाके कमसेकम पन्ध्र बीस हजार क्यासेटका डुब्लिकेट किया। इसका जरिवाना कितना भर्ना है बताइए। और आप मुझे ओरिजनल क्यासेट दिजिए मै सेल करुङ्गा। अभि मुझे दो हजार क्यासेट चाहिए।’

यति भनेर एडभान्स स्वरुप चालिस हजार रुपैयाँ थमाइ दिएछन्। अनि बढ्यो उनको हौसला। तब सुरु भयो पुनः क्यासेट निकाल्ने क्रम। त्यसपछि छ्याप्लीबाजा, साइपाल, ढुकुरान्चडी हुँदै ७२ वटा एल्बम प्रकाशित भए।


कालु सिंह ‘परियार’हरुसँगै बाँचिरहेको एउटा मीठो धुन


क्यासेट चल्दै गए। उनी दिनप्रतिदिन चर्चित हुँदै गए। अनि जागिरप्रतिको मोह पनि छुट्दै गयो।

ती दिन सम्झेर भावुक बन्दै बताउँछन्, ‘२०४० सालमै विवाह गरिसकेको थिएँ। छोरा-छोरीको विद्यालयको शुल्क तिर्ने पैसा हुँदैन थियो। श्रीमती देवकीको साथ सपोटले पनि यो क्षेत्रमा यति लामो समय टिक्न सक्ने बनाएको हो।’

कुनै प्रेमीले बिछोडिएकी प्रेमिकालाई सम्झेर वर्षौपछि आँसु झारेझैँ कहिलेकाहीँ विगततिर फर्किन्छ उनको पनि मन। ती दिनको याद आउँदा तप्प चुहिन्छन् एकान्तमा आँसु।

उनी सम्झिन्छन्, ‘एकपल्ट एकजना चटौत थरका धनाढ्य व्यक्तिले बुबालाई भनेका थिए, ‘तम्रो चेलो बिग्रियो। यसरी गीत गाएर हुन्छ?’ तिनैले महेन्द्रनगरमा दर्शकले ‘वान्स मोर…’ भनी मलाई दोश्रो प्रस्तुति दिनका लागि आयोजकलाई बाध्य तुल्याएको देखे। भेट्नलाई गेटमा कुरिरहेका तिनैले बधाई दिँदै भने, ‘छोरो तपाईं जस्तो हुनुपर्छ। बधाई छ।’

पछिल्लो समयमा त उनका माइला बुबा पनि उनको कार्यबाट निकै खुसी थिए। छोरोले रोजेको मार्ग सही छ भन्ने कुरा बुझ्न एउटै घटना काफी भैदियो।

रेग्मीका अनुसार गाडी बिग्रेपछि अरु यात्रुहरुझैं गाडीबाट झरेर कहाँ जाने के गर्ने भन्ने चिन्तामा परेका बुबालाई एकजनाले कहाँ जाने भनेर सोधेछन्। त्यो समय कञ्चनपुरको शिवनगर निकै दुर्गम बस्ती थियो। कच्ची बाटोमा एउटा मात्रै गाडी चल्थ्यो त्यही बिग्रेपछि साँझको समयमा रनभुल्ल्मा पर्नु स्वभाविकै थियो। कुराकानीकै क्रममा नरेन्द्र रेग्मीका बुबा भन्ने थाहा पाएपछि आफ्नो घर लगेर सेवा सत्कार गरेछन्।

भोलिपल्ट आफ्नै ट्याक्टरमा राखेर घरसम्मै पुर्‍याइदिएछन्। अनि बुबाले नरेन्द्रलाई भनेछन्, ‘म पनि यो ठाउँको चिनजानकै मान्छे थिएँ। तर, आज तेरो नामले म बिकेँ। तैले गलत गरेको रैनछस्। मै गलत रैछु छोरा।’

त्यसपछि सिर्जना गरे नरेन्द्रले गीतका पंक्ति: 

एकसरो लाउनाखि होइजाउ बस्नाखि घर होइजाउ
केही दुःख परेका बेला आफ्नाको भर होइजाउ। 

डेउडा गीतको परिभाषाका दिने क्रममा पछिल्लो समय कतिपयका फरक धारणा सुनिरहेकै छन्।

तर, उनी डेड पैतलीको चालमा खेलको रुपमा खेलिने गीत नै डेउडा भएको कुरा स्विकार्दै बताउँछन्, बजाउनेवालाले अनेक किसिमले प्रयोग गर्न त सकियो। तर, बिट त त्यही हो।

उच्चारण गर्ने क्रममा देउडा भनिए तापनि सुरुको ‘ड’ नै हो। दुवैको अर्थ त्यही डेड पैतली नै हो। म डा. जयराज पन्तको भनाइमा सहमत छु। गाउँघरतिर विगतमा खेल खेल्ने भन्थे। त्यो डेउडा नै थियो। अझैं पुराना पुस्ताले त ड्यौरा भन्ने गर्थे।

गाउँघरमा राति चोर डेउडा खेल्नेदेखि भारतमा मजदुरी गर्नेको कथाव्यथा बुझ्न प्रत्यक्षदर्शी बने उनी।

गजरौला नामक क्यासेट उनको यथार्थतामा आधारित थियो। जुन निकै चर्चित पनि बन्यो। त्यस्तै ढुकुरान्चडी, दाडिम चौका ढोलपैरा लगायतका भाकाहरू कालजयी बनेका छन्। 

समाजमा देखापरेका अन्याय अत्याचार, शोषण र कुप्रथाका विरुद्ध शालीन ढंगले गीतसंगीतका माध्यमबाट औँला ठड्याउने गायक हुन् उनी। समाज परिवर्तनका वाहक बनेका छन् उनका कतिपय गीतहरु।


जसले प्रतिभा भएर पनि परिचय पाइनन्


उनी एक क्रान्तिकारी स्वभावका गायक हुन्। जो अधिकांश श्रोताका हृदयभित्र बास पाउँछन् र कुरुति, कुप्रथा र अन्यायका क्षेत्रमा परिवर्तनका लागि आँधिबेहरी ल्याइदिन्छन्। चर्चित गायिका डिक्रादेवीदेखि थुप्रै गायक गायिकालाई रेकर्डिङ दुनियाँमा ल्याउन उनको महत्वपूर्ण भूमिका छ।

सुरु-सुरुमा चोर डेउडाबाहेक अन्य ठाउँमा महिला पुरुष सँगै खेल्दैन थिए। उनका अनुसार उनले आफ्नो गाउँमा सँगै बसेर गाउन लगाए। उनी हार्मोनियम बजाउँथे। सुरुमा आमा बुबाहरु लुकेर हेर्थे। पछि नजिक आउन थाले। बसेर खेल्दा मन अघाउन सकेन। अनि उठेर पैतलो हान्नैपर्ने भयो। उनी सम्झिन्छन्, ‘त्यतिखेर महिला पुरुषले सँगै खेल्दा भाटाले हिर्काउनेदेखि गाउँ निकाला गर्नेसम्म हुन्थ्यो। अहिले त लोग्ने स्वास्नीकै बीचमा सवालजवाफ हुन्छन्।’

जीवनको गोरेटोमा कति दु:खका लहर फैलिए। कति शीत र तुसारो बोकेका विहानी आए गायक नरेन्द्रराज रेग्मीले कहिल्यै हिसाब-किताब गरेनन्। मृदुभाषि रेग्मी बिनम्रतापूर्वक सबैसामु सधैजसो मुस्कुराइरहे। एक्लै हुँदा गुनगुनाइरहे। जीवनको लय खोजिरहे।

साविकको बझाङस्थित लामितोला गाविस- ९ छान्नामा जन्मेका उनले उमेररुपि दाम्लो बाट्दै हिँडेको पनि छ दशक नाघिसक्यो।

उमेर अनि घरव्यवहारका कुरा गर्ने हो भने हजुरबुबा बनिसके। धनगढीमा बसोबास गर्न थालेको पनि धेरै भैसक्यो। पहाड प्रिय बनेर झुल्किदिन्छ उनको सम्झनमा।

‘ख्याल सुन्दर थिएनन् ती दिनहरू। भारतबाट लाहुरे आउँदा बाटोमा स्याउली हाल्ने गर्थ्यौं। लाहुरेले एक खोडो मिश्री वा एक टुक्रा गुडको दिँदा नि मख्खै पर्थ्यौं। आखिर खासमा जिन्दगी भन्नु नै त्यही थियो !’, यस्तै-यस्तै स्मृतिले त हो अब जिन्दगी पनि बाँचिरहको।

‘कयौंले मसँग अनुमति नलिएरै मेरा गीत चोरेर गाएका छन्’

‘छोराको नाम र बाँसुरीको धुन सुन्दा आमाका हर्षका आँसु बग्थे’ (भिडियाेसहित)

टेप रेकर्डर बजाउँदै गाउँ-गाउँमा क्यासेट बेच्ने गायक 

एक फकिरको यात्रा

प्रकाशित मिति: : 2024-04-11 17:50:00

प्रतिकृया दिनुहोस्

    Good article about singer Narendra Regmi. He has been contributing his skill, art, leterature and sweet voice to strenthen music and song of Farwest province. Best wishes Narendra Regmi ji.

    • एक महिना अगाडि
    • Ganesh Nepali