फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

File Photo
File Photo

सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकूल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसैगरी सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ। काठमाडौँ निवासी खड्का यसअघि पनि समितिको अध्यक्ष थिइन्।

सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति २०६४ सालमा समितिको गठन गरेको थियो।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गरेको छ।

यस्तै बैठकले नेपाल प्रशासनिक सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: : 2024-05-16 15:23:00

प्रतिकृया दिनुहोस्