प्रतिनिधिसभाकाे बैठक आज (आइतबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।
आजकाे बैठकबाट जेठ १ गते राष्ट्रपति रामचन्द्र पाैडेलले प्रस्तुत गरेकाे सरकारकाे आर्थिक वर्ष २०८१/८२काे नीति तथा कार्यक्रम पारित गर्न तयारी रहेकाे छ।
सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘सम्माननीय राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेकाे गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।
त्यसपछि आ.व. २०८१/०८२को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ। र, छलफलकाे क्रममा उठेका प्रश्नहरुकाे जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन्।
त्यसपछि सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरु र राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेकाे सम्बोधनमा उल्लिखित आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने छन्।
तर, त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने, प्रेम सुवालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।
अर्थमन्त्री वर्षमान पुनले ‘आ.व. २०८०/०८१को आर्थिक सर्वेक्षण’ पेश गर्ने, अर्थमन्त्री पुनले नै ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामति सेवा विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।