सुरेन्द्र राना ‘घुमफिरे’
प्रचण्ड गर्मीबीच गत महिनाको अन्तिम साता पत्रकार अमृत भादगाउँले, विक्रम गिरी र मनिष अर्यालसहितको टोली चितवन पुगेका थियाैँ। पहिलो रात पदमपुरस्थित ‘मुनाल एण्ड मयुर’ रिसोर्टमा बितायौँ। गोर्खा मनास्लुका लाक्पा ढण्डुप लामा र स्थानीयको साझेदारीमा सञ्चालित रिसोर्टमा बसेर तराईको गर्मी मौसमको भरपुर मज्जा लियौं। दोस्रो दिन गर्मी छल्न नवलपुरको देवचुली डाँडामा जाने निधो गर्यौँ।
अपराह्न २ बजेतिर लाक्पा दाइसहित भरतपुर बाइपास रोडस्थित ‘अटाली रेस्टुरेन्ट’मा स्वादिष्ट खाजा र चिल वियरको चुस्की लिएर देवचुलीको यात्रातिर लाग्यौं।
नारयाणी पुल कटेर गैँडाकोट हुँदै गड्याङगुडुङ बाटो सुरु भयो। नारयणगढ-बुटवलको सडक खण्ड स्तरोन्नती गर्न मर्मत गरेको पनि वर्षौ भइसक्यो। खाल्डाखुल्डीमा डेढ घण्टाको यात्रापछि दलदले चोक पुगेर गाडी उत्तरतर्फ मोडियो।
बिस्तारै महाभारत पर्वत श्रृंखलातिर (उत्तरतर्फ) गाडी उकालो हुँइकियो। घुमाउरो सडक हुँदै पहाड नजिकिँदै गर्दा चिसो अनुभूति हुन थाल्यो। देवचुली डाँडा नारयणगढ बजारबाट २९-३० किमी दूरीमा छ भन्ने सुनेका थियौं तर दलदले नै २६ किमी रहेछ। त्यसपछि थप २० किमी।
दलदले चोक, मुण्डे कुम्सेत डाँडा पुग्दा साँझ पर्याे। कुम्सेतबाट ओरालो हुँदै तेर्सो कच्ची बटाे सुरु भयो।
बोझा पोखरीको दोबाटो पुग्ने बेलामा लाक्पा दाइले गाडीमा पेट्रोल सकिएको जानकारी गराए, ‘लौ, मैले त तेल हाल्नै बिर्सेछ।’
अर्काे दिन कसरी फर्किने भन्ने चिन्तामा परे लाक्पा दाइ।
एकछिन हावा खाना गाडी रोकियो।
हावा मान्छे नै उडाउलाजस्ताे गरी बेस्सरी चल्यो। पानीका थोपाहरु पनि पर्न थाले। वरिपरि डाँडा, निस्पत अध्यारो।
हैट! गाडी नै उडाउलाजस्तो हावाहुरी!
‘ल अब जे पर्ला पर्ला, तेल भोलि केही न केही व्यवस्था होला’ अगाडि बढ्याैँ।
दोबाटोबाट केही पर पुगेपछि ओरालो कच्ची बाटोमा थियाे, चुलीबोझा गाँउ। त्यहाँबाट पनि सिधैं लागियाे रामपुर पुग्ने सडक।
पानी पर्लाजस्तो मौसम। बिजुली बत्ती गएकोले निस्पट अँध्यारो थियाे।
बल्ल साँझ ८ बजेतिर मात्रै पुगियो गाउँ।
०००
पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने बुलिङ्टार गाउँपालिका- ४मा ‘देवचुली चुलीबोझा मगर होमस्टे’ पर्दछ।
महाभारत श्रृङखलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाँउमा मगर जातिको बाहुल्यता रहेको छ। सुन्दर र शान्त गाँउमा घर बास (होमस्टे)को सञ्चालन २०७५ साल देखि सुरु गरिएको हो।
चुलीबोझा मगर होमस्टेमा मगर समुदायको कला, संस्कृति (करुवा र झाम्रे नाच) अवलोकन गर्न सकिन्छ। स्थानीय उत्पादित खानाका परिकारमा कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ। होमस्टेमा पाहुनाका लागि १३ वटा घरहरू होमस्टे सञ्चालन गरिएको छ, जसमा एक रातमा ५० जनासम्म बास बस्न सकिन्छ।
होमस्टेमा चितवन र नवलपुरका तराई क्षेत्रका बासिन्दा गर्मी छल्न र स्थानीय उत्पादनको स्वाद र गाउँले जीवनको अवलोकन गर्न भ्रमणमा आउने होमस्टे सचिव हेमलाल बराल मगर बताउँछन। साथै, काठमाडाैँलगायत देशका अन्य ठाउँबाट र विदेशी पाहुना पनि आउँछन्।
अवलोकनको लागि गाउँनजिकै विविध देवी-देवताका थान, देवचुली डाँडाको दृश्यसँगै मगर र दलित समुदायको जीवनशैली देख्न सकिन्छ।
यहाँका घरहरु सेतो माटोले लिपिएको छ। केही वर्ष अगाडिसम्म खरै-खरको छाना भएको गाउँमा आगो लागेर दर्जनौँ घरहरु नष्ट भएपछि हाल जस्ता पाताले छाइएकाे छ।
वरचुली डाँडा, काजी थुम्का, गढी डाँडा, दैत्यचुली र देवचुली डाँडाले घेरिएको छ, गाउँ। यहाँका बासिन्दाले मकै, कोदो, फापर, अदुवा, बेसार र अम्रिसोको खेतिपाति गर्छन्।
पूर्वतिर अवस्थित देवचुली डाँडाले धार्मिक र ऐतिहासिक महत्व बोकेको छ। १९१३ मिटर अग्लो डाँडाबाट दक्षिणतर्फ चितवनका फाँट र नवपुर क्षेत्रको तराईका भू-भाग र उत्तरतिर हिमालको लर्कन देख्न सकिन्छ।
देवचुली डाँडामा कुमारवर्ती माई, देवचुली र कन्या माईको गुफा पनि रहेको छ।
पौराणिक कथाअनुसार द्वापर युगमा पाँच पाण्डवहरु द्रौपदीसहित यहाँ गुप्तवास बसेको भनाइ छ।
देवचुली जंगलमा लालिगुराँससँगै मृग, घोरल, बाँदर, भालु, चितुवालगायत विभिन्न वन्यजन्तु र विभिन्न चराचुरुङ्गीको बासस्थल रहेको छ।
होमस्टेमा स्थानीय उत्पादनको खाना, कोदोको ढिडो, मकैको ढिडो, मौसमी तरकारी, गुन्द्रुक, तामा, सिस्नो, लोकल कुखुरा र कोदोको रक्सीको स्वाद चाख्न पाइन्छ।
कोशेलीको रुपमा अम्रिसोको कुचो, बेसारलगायत स्थानीय उत्पादन गरेका तरकारीहरु लिएर फर्किन सकिन्छ।
कसरी पुग्ने?
काठमााडाैँबाट नारयणगढ (चितवन), गैडाकोट हुँदै दलदले १८६ किमी।
दलदले- चुली बोझा २० किमी उत्तरतर्फ।
दलदले चोकबाट बोझापोखरी नियमित जिप/बस सञ्चालनमा छ। जिप, कार वा मोटरसाइकलमा १ घण्टामा पुगिन्छ।
सम्पर्क :
अध्यक्ष : ९८६४५६०५८३
सचिव : ९८६७१३३०७३७
कोषाध्यक्ष: ९८६७९२८२३०






ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया