मङ्गलबार, १२ अगस्ट २०२५

नेपालमा हाइकिङ संस्कृति विकासमा सक्रिय प्रकृतिप्रेमी समूह

News Image
तस्बिरः बिएल
• • •

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ मूल नारा लिएर विगत १३ वर्षदेखि नेपालमा हाइकिङ संस्कृतिको विकासमा सक्रिय रहेको प्रकृतिप्रेमी समूहले १४३ औं हाइकिङ विशेष रूपमा मनाएको छ।

स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि हाइकिङ गराउँदै आएको ‘प्रकृतिप्रेमी समूह’ले हरेक महिनाको चौंथो शनिबार काठमाडौंमा हाइकिङ गराउने गर्छ।

शनिबार आयोजना गरेको हाइकिङमा तीन सय भन्दा बढी सहभागी थिए।

समूहका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वमा सयौंको संख्यामा हिँडेको लस्कर दलचोकी पुगेका थिए।

समूहले विसं २०६३ चैतदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौंमा हाइकिङ गराउँदै आएको छ। यति लामो समयसम्म अनवरत हाइकिङ गराउने नेपालमा अर्को संस्था छैन। यस हिसाबले समूह हाइकिङ जागरणको अगुवा संस्थासमेत हो।

समूहले उचित आहार, विहार र विचारबाट निरोगी हुन अभ्यास गराउने क्रममा हाइकिङसमेत गराउँदै आएको हो।

हालसम्म बीस हजार भन्दा बढीले समूहबाट हाइकिङ गरिसकेको समूहका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले जानकारी दिए।

समूहको हाइकिङमा स्वास्थ्यबर्धक खाना र फलफुल मात्र खुवाइन्छ। पानी खाने तरिका पनि सिकाइन्छ । स्वास्थ्य ज्ञान बाँडिन्छ । हाइकिङमा जंकफुड, फास्टफुड, मदिरा र मासु निषेध छ ।  

समूहले धेरै राम्रा राम्रा हाइकर्स उत्पादन गरिसकेको छ । त्यहाँबाट सिकेकाहरू अचेल विभिन्न समूह बनाएर आ–आफ्नै ढंगले पनि हाइकिङ गर्दै आएका छन् ।

समूहका सदस्यहरूले मिडियामा लेखेर हाइकिङ जागरणमा योगदान पुर्‍याएका छन् । विभिन्न मिडियामा हाइकिङ र स्वास्थ्यका विषयमा कलम चलाउँदै आएकी समूहकी कोषाध्यक्ष रामदेवी महर्जनले २०७५ मा ‘हाइकिङ काठमाडौं’ पुस्तक निकालेकी छिन्।

पुस्तकमा काठमाडौं उपत्यकाका प्रमुख हाइकिङ गन्तव्यहरूको चिनारीका साथै हाइकिङ गर्ने सरल विधि दिइएको छ ।

मासिक हाइकिङ अभियान १३ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शनिबार दलचोकीको निरोगधाममा एक कार्यक्रम समेत आयोजना गरियो।

दलचोकीमा समूहले बनाएको निरोगआनन्दधाममा उचित आहार, विहार र विचार (उआविवि) र साँचो ध्यानको व्यवहारिक अभ्यास गरिन्छ। त्यहाँ साप्ताहिक र मासिक आवासिय शिविर चलाइन्छ ।

कार्यक्रममा देशभर निःशुल्क स्वास्थ्य ज्ञान बाँड्न सरकारसँग सहकार्यका लागि समूहले आग्रह गर्‍यो । त्यस अबसरमा पचास पटक भन्दा बढी हाइकिङ गर्ने हाइकर्सलाई कदरपत्र प्रदान गरियो।

कार्यक्रममा संघीय संसदका सभासद नवराज सिलवाल, प्रदेश सभासद चेतनाथ सञ्जेल, महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, नेपाली कांग्रेसका क्षेत्रीय सभापति राजन घिमिरे, केन्जोसोम गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर बम्जन, हाइकर्सहरू राजेश तुलाधर र उषा सुवेदी, समूहका संस्थापक अध्यक्ष रामकृष्ण श्रेष्ठ, संस्थापक डा. उमेश श्रेष्ठ र समूहका वर्तमान अध्यक्ष पुरेन्द्रविक्रम लाखेले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनु पर्नेमा जोड दिएका थिए ।

मंगलबार, बैशाख ३१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)