राष्ट्रपति विद्यादेवी भण्डारी २२ सद्स्यीय जम्बोटोलीसहित मार्च ११ मा न्युयोर्क आउदै

Photo Credit: News for Women

नेपालकी अलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारी २२ सदस्यीय जम्बो टोलीका साथ अमेरिका भ्रमणमा आउँदैछिन्।उनी मार्च ११ तारिख सोमबार बिहान ८ बजे न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलमा उत्रने छिन् भने मार्च १४ तारिख बिहिबार बिहान सोही विमानस्थलबाट फर्कने कार्यक्रम रहेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौंमा जारी प्रेस विज्ञप्तिअनुसार उनलाई विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले स्वागत गर्नेछन्।

राष्ट्रपति भण्डारी 'विश्व परिर्वतनमा महिला नेतृत्वको भूमिका' विषयक कार्यक्रमलाई सम्बोधन गर्न न्युयोर्क आउँन लागेकी हुन्। राष्ट्रसंघको महिला सशक्तिकरणले आयोजना गर्न लागेको कार्यक्रममा उनलाई राष्ट्रसंघको महासभा अध्यक्ष मारियाले निमन्त्रणा गरेकी हुन्।

सम्मेलनमा विश्वका विभिन्न राष्ट्रका महिला राष्ट्र प्रमुख, सरकार प्रमुख तथा नेतृहरूले सम्बोधन गर्ने कार्यक्रम छ। नेपालकी महिला राष्ट्र प्रमुख भण्डारीले मार्च १२ तारिख उक्त कार्यक्रमलाई सम्वोधन गर्नेछिन्।

नेपालकी अलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम

मार्च १०, सोमबार : २२ सदस्यीय जम्बो टोलीका साथ अमेरिका प्रस्थान
मार्च ११, सोमबार : जोन एफ. केनेडी विमानस्थलमा आगमन

  • महासभा अध्यक्ष मारियाद्वारा आयोजित रात्री भोजमा सरिक
  • म्यानहटनको प्रिमियर ग्राण्ड ह्यात होटलमा बास

मार्च १२, मंगलबार : राष्ट्रसंघमा सम्बोधन

  • राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र महासभा अध्यक्ष मारियासँग भेटवार्ता
  • केही साइडलाइन भेटवार्ता

मार्च १३, बुधबार : राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग कार्यालय भ्रमण

मार्च १४, बिहीबार : जोन एफ. केनेडी विमानस्थलबाट नेपाल प्रस्थान

मार्च १५, शुक्रबार : काठमाडौं फिर्ता, भ्रमण पूरा

टोलीमा सवारी मन्त्रीका रूपमा महिला, बालबालिका, जेष्ठ नागरिकमन्त्री थममाया थापा छिन्। उनको भ्रमण टोलीमा संसदको महिला तथा सामाजिक समितिकी सभापति निरूदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडा छन्।

यसैगरी ‘राष्ट्रपति कार्यालयका अन्य वरिष्ठ सरकारी अधिकारी, परराष्ट्र तथा महिला बालबालिका मन्त्तालयका अधिकारी र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी समेत न्युयोर्क आउने’ भनिए पनि भ्रमण दलका बाँकि सदस्यहरूको सूची भने सार्वजनिक गरिएको छैन।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अलंकारिक राष्ट्रपति भए पनि विदेश भ्रमणलगायतका विषयमा उनको गहिरो रूचि रहँदै आएको भनेर आलोचित  हुँदै आएकी छिन्। तर, पनि काग कराउँदै गर्छ,  पिना सुक्दै गर्छ भनेझै उनी टेरिरहेकी छैनन्। 

राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र महासभा अध्यक्ष मारियासँग राष्ट्रसंघमै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसैगरी उनले केही अन्य मुलुकका राष्ट्रपतिसँग पनि अलंकारिक साइडलाइन वार्ता गर्ने भएकी छिन्। फर्कनुअघि उनले बुधबार राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग कार्यालय भ्रमण गर्नेछिन्।

राष्ट्रपति भण्डारीको जम्बो भ्रमण टोलीका लागि म्यानहटनको महंगो ग्राण्ड ह्यात होटलमा बसोबासको ब्यवस्था गरिएको छ।

राष्ट्रपति विद्यादेवीका विदेश भ्रमणहरू

  • भारत - अप्रिल १७-२१, २०१७
  • कतार- अक्टोबर २९- नोभेम्बर १, २०१८
  • पोल्याण्ड- डिसेम्बर १-५, २०१८
  • अमेरिका - मार्च १०-१५, २०१९
  • चीन - प्रस्तावित ( निकट भविष्यमै)

 

राष्ट्रपति विद्यादेवी भण्डारीका हरेक विदेश भ्रमणमा संलग्न जम्बोटोलीका लागि राष्ट्रको ढुकुटी दोहन हुँदै आएको छ।

उनको मार्च १० देखि १५ सम्मको साताव्यापी यो अमेरिका भ्रमणको औचित्यमाथि पनि प्रश्न उठाइएको छ। यसबाट राष्ट्रको करोडौं रकम खर्च हुने तर त्यसको उपयोगिता नहुने आलोचकहरूको मत रहेको छ।

यसअघि राष्ट्रपति भण्डारीले भारत, कतार र पोल्याण्डको भ्रमण गरिसकेकी छिन्। अमेरिकाको भ्रमण सकिएको केही समयपछि नै उनी चीनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: : 2019-03-10 04:26:49

प्रतिकृया दिनुहोस्