मङ्गलबार, १२ अगस्ट २०२५

हामीले गरेको जनयुद्ध राजनीतिक, थारुहरूको चाहिँ अपराध? : बाबुराम भट्टराई

News Image
तस्बिरः नेपालन्युज
• • •

घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई।

टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने।

त्यसपछि सम्बोधनका लागि उठेका भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेस्सरी गाली गरे। कांग्रेस सभापति शेरबहादुर देउवाका कारण थारुहरूले अधिकार पाउन नसकेको आरोप पनि लगाए।

‘यदि थारुहरूले गरेको विद्रोह अनि उनीहरूको आन्दोलन गलत थियो र अपराध थियो भने, तपाईं हामीले गरेको विद्रोह त्यो जनयुद्ध के थियो?,’ सुरुमै प्रचण्डलाई भने, ‘उसो भए प्रचण्डजीले भन्न सक्नुपर्‍यो कि हामीले गरेको जनयुद्ध पनि गलत थियो, हैन भने तपाईं हामीले गर्दा त्यो राजनीतिक मुद्दा अनि थारुहरूले गर्दा कसरी अपराध हुन्छ?’

‘थरुहट स्वायत्त प्रदेश’ माग गर्दै आन्दोलन गरिरहेका थारुहरूले २०७२ भदौ ७ गते टीकापुरमा गरिरहेको आन्दोलनमा हिंसा भड्किएपछि आठ प्रहरी र एक बालक मारिएका थिए।

त्यही घटनामा दोषी प्रमणित भएर, थारु नेता तथा सांसद रेशम चौधरी र अन्य ११ जनाले जन्मकैद भोगिरहेका छन्।

त्यही भदौ ७ गतेको दिनलाई थारुहरूले भने चार वर्षपछि पहिलोपटक ‘विद्रोह दिवस’ भनेर मनाइरहेका छन्। यही सम्मेलनलाई सम्बोधन गर्दै टीकापुरबाट भट्टराईले भने, ‘प्रचण्ड, केपी ओलीहरूले गरेको आन्दोलन र विद्रोह भने राजनीतिक हुने र उनीहरूलाई मुद्दा नलाग्ने अनि रेशम चौधरीलाई जेल हाल्ने? अस्पतालमा पनि १४ किलोको साङ्लोले बाँध्ने?’

प्रधानमन्त्री ओलीलाई पनि उनले सोधे, ‘तपाईंहरूले गरेको झापा विद्रोह राजनीतिक भयो। तपाईंहरूको मुद्दा पनि फिर्ता भयो। अनि थारुहरूको टीकापुर विद्रोह कसरी अपराध भयो?’

शनिबार, भाद्र ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)