नेपाली सांगीतिक ब्यान्ड नेपथ्य १२ वर्षपछि पुनः ऐतिहासिक बेलायतको वेम्बली एरिनाको मञ्चमा उत्रन लागेको छ।
सन् २०१३ को अगस्ट ३ मा पहिलो पटक वेम्बलीमा प्रस्तुती दिएर अपूर्व सफलता हासिल गरेको ब्यान्डले अब आउँदो अगस्ट ९ मा त्यही मञ्चमा इतिहास दोहोर्याउन लागेको हो।
वेम्बलीमा २०१३ को कन्सर्ट नेपाली संगीतका लागि एक अन्तर्राष्ट्रिय पहिचानको क्षण थियो। ७ हजारभन्दा बढी दर्शक उपस्थित रहेको त्यो कन्सर्ट नेपथ्यको हालसम्मकै सबैभन्दा ठूलो दर्शकसङ्ख्या भएको प्रस्तुति मानिन्छ।
ब्यान्डका प्रमुख गायक अमृत गुरुङले वेम्बलीको त्यो क्षणलाई जीवनकै चुनौतीपूर्ण तर प्रेरणादायी अनुभवका रूपमा सम्झिन्छन्। ‘त्यत्रो ठूलो भीड, ताली र मोबाइलको उज्यालोले मलाई थरथर बनाएको थियो,’ उनले भनेका थिए।
नेपथ्यका व्यवस्थापक किरणकृष्ण श्रेष्ठका अनुसार वेम्बलीको त्यो सफलताले ब्यान्डलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुन थप सहज बनायो।
त्यसयता नेपथ्यले विश्वका धेरै प्रमुख शहरहरूमा प्रस्तुति दिइसकेको छ, र पछिल्लो तीन महिनामै उसले अस्ट्रेलिया र अमेरिकाको सांगीतिक यात्रा पूरा गरिसकेको छ।
यसपटकको लन्डन कन्सर्ट बेलायतका ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’को संयोजनमा हुँदैछ। नेपथ्यको १४ सदस्यीय टोलीमा गायक अमृतसहित ध्रुव लामा (ड्रम्स), सुविन शाक्य (बेस गिटार), नीरज गुरुङ (गिटार), शान्ति रायमाझी (मादल), र दिनेशराज रेग्मी (किबोर्ड) रहेका छन्।
नेपथ्यले बेलायतका दुई लाखभन्दा बढी नेपाली समुदायलाई ध्यानमा राखेर यो कन्सर्टलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ। स्थानीय आयोजक दीपेन्द्र लामाका अनुसार सात हजार टिकट पहिले नै बिक्री भइसकेको बताएका छन। बेलायतको लन्डन बाहिर बस्ने दर्शकको सहजीकरणका लागि समेत विशेष पहल भइरहेको आयोजकले बताएको छ।
झण्डै एक दशकपछि चर्चित नेपाली ब्यान्ड नेपथ्य पुनः लन्डनको प्रतिष्ठित वेम्बली एरिनामा हुने यस कन्सर्टलाई संगीत मात्र नभएर नेपाली डायस्पोराका लागि एक सांस्कृतिक पुनर्मिलनको रूपमा हेरिएको छ।
आयोजकका अनुसार झण्डै एक दशकपछि नेपथ्य पुनः लन्डन फर्किँदै गर्दा उत्साह चरममा पुगेको छ। बेलायतसहित विश्वभर फैलिएको नेपाली डायस्पोराका लागि यो संगीतमार्फत भाषा, सम्झना र पहिचानसँग पुनः जोडिने दुर्लभ अवसर हो जसले सबैलाई एउटै डोरीमा बाँधेर राख्न सहयोग पुर्याउनेछ।
नेपथ्यले यसपटक पनि आफ्ना कालजयी गीतहरूमार्फत दर्शकलाई भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
ब्याण्डले विशेष लोकप्रिय गीतहरू जस्तै तालको पानी, रेशम, भेँडाको ऊन जस्तो, सा कर्णाली, लम्पटे सुरती, रातो र चन्द्र सुर्या, गाउँ-गाउँबाट उठ, यो जिन्दगानी, जोगाले हुन्छ भेट, शिरानमा फोटो छ, शिरफुल शिरैमा, हामी नेपाली, हिमाल चुचुरे, जोमसोमै बजारमा लगायतका गीतहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने अपेक्षा गरिएको छ।
कन्सर्टको टिकट अनलाइनबाट नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ। यो कन्सर्ट नेपाली संगीतको अन्तर्राष्ट्रिय यात्रामा अर्को ऐतिहासिक अध्याय बन्ने आयोजकको विश्वास छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया