बिहिबार, १५ जनवरी २०२६

क्वियर फिल्म फेस्टिभल काठमाडौंको दोस्रो संस्करण सुरू

News Image
• • •

क्वियर फिल्म फेस्टिभल काठमाडौंको दोस्रो संस्करण थपाथलीस्थित ऐरावत पिक्चर हाउस (शैक्षिक हल)मा बिहीबारबाट सुरू भएको छ।

डकस्कुलको चलचित्र शैक्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ऐरावत पिक्चर हाउसमा १० दिने क्वियर फिल्म फेस्टिभल सञ्चालन भएको छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दाहरूमा बनेका विश्वभरिका चलचित्रहरू प्रदर्शन गरिने यस फिल्म फेस्टिभलमा १७० भन्दा बढी चलचित्रहरू प्रदर्शन हुने भएको छ। विश्वभरबाट ८०० चलचित्रमध्ये यी चलचित्रहरू नेपालको पृष्ठभूमि र समय सापेक्षताका आधारमा चयन गरिएको हो।

यी चलचित्रहरूले विश्वभरका क्वियर समुदायका व्यक्तिहरूको जीवन अनुभव, सामाजिक अवस्था र राजनीतिक यथार्थ उजागर गरेको छ। समाजले तोकेको लैङ्गिक मान्यताभन्दा फरक यौनिक पहिचान भएका व्यक्तिहरूप्रति ऐक्यबद्धता र सम्मान गर्नु यस फिल्म फेस्टिभलको उदेश्य हो।

“नेपालको सन्दर्भमा मुलधार चलचित्र र फिल्म फेस्टिभलले लैङ्गिक विविधता र क्वियर फिल्मलाई प्रर्याप्त स्थान नदिएकोले त्यस्ता कथालाई पनि स्थान दिनुपर्छ भन्दै वैकल्पिक रूपमा क्वियर फिल्म फेस्टिभल काठमाडौं सुरू गरिएको हो,” क्वियर फिल्म फेस्टिभल काठमाडौंकी सह-निर्देशक ज्योत्स्ना मास्केले बताएकी छन्।

सिनेमामा विविधता, यौनिकतामा र लैङ्गिक पहिचानका मुद्दा उठाउनुको साथसाथै क्वियर समुदायलाई बुझ्न चाहने आम दर्शकसँगको दूरी पनि घटाउने काम गर्छ। समाजमा रहेका विविधता, समानता र समावेशितालाई केन्द्रमा राखि सबै अट्ने समाज निर्माणमा योगदान पुर्‍याउन यस महोत्सव आवश्यक रहेको आयोजक समितीले जनाएको छ।

माघ १० सम्म सञ्चालन हुने यस फिल्म फेस्टिभल ऐरावत पिक्चर हाउस (माइक्रोसिनेमा अडिटोरियम) मा प्रदर्शतरत हुने छ। यस माइक्रोसिनेमा अडिटोरियमा फिल्म फेस्टिभल पछि पनि चलचित्रहरू प्रदर्शन हुने छन्। 

नेपालकै विभिन्न ठाँउमा ठूल ठूला चलचित्र थिएटरका संरचना बनिरहँदा मूलधारभन्दा बाहिर बनेका चलचित्र, वृत्तचित्र, कम लागतमा बनाइएका विद्यार्थीका चलचित्रहरूले पनि प्रदर्शन हुनु पाउनु पर्छ भन्ने आवश्यकतालाई बुझ्दै यो अडिटोरियम खोलिएको हो। यो ४० सिटर अडिटोरियमले स्वतन्त्र निर्देशक र उदाँउदा युवा चलचित्रकर्मी र स्रोताबीचको दूरीलाई घटाउने जमर्को गर्छ। 

“नेपालमा राम्रा फिल्म बन्छन्। विश्वका प्रतिष्ठिट चलचित्र महोत्सवमा पनि गएका छन् र प्रदर्शन भएका छन्। तर त्यहीँ चलचित्र नेपालमा प्रदर्शन गर्न खोज्दा ठाँउ पाइदैँन। त्यस्ता चलचित्रलाई पनि नेपालमा नेपाली दर्शकमाझ देखाइनु पर्छ भनेर यो माइक्रोसिनेमा थिएटर खोलेका हौ र यसपालिको क्वियर फेस्टिभल काठमाडौंसँगै यो अडिटोरियमलाई प्रयोगमा ल्याएका छौ,” क्वियर फिल्म फेस्टिभल काठमाडौंका सह-निर्देशक क्षितिज अधिराज बताउँछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!