तेजन खड्का
नेपाली समाजमा अझै पनि धेरै छोरीहरूले आफ्नो सपना रोज्दा अनेक प्रश्नको सामना गर्नुपर्छ। विशेषगरी कला, अभिनय र मनोरञ्जन क्षेत्र रोज्ने युवतीहरूलाई त झन् यो क्षेत्र राम्रो होइन, छोरी मान्छेले यस्तो काम गर्नुहुँदैन, घरको इज्जत बिग्रिन्छ,जस्ता टिप्पणीहरू सहनु पर्ने अवस्था अझै बाँकी छ।
यस्तै सामाजिक सोच, दबाब, प्रश्न र व्यक्तिगत संघर्षलाई चिर्दै आफ्नो सपना पछ्याएकी एक उदाउँदी कलाकार हुन् बिनिता कार्की।
मोडलिङबाट आफ्नो यात्रा सुरु गरेकी बिनिता अहिले नेपाली चलचित्र क्षेत्रमा सक्रिय नामका रूपमा चिनिन थालेकी छन्। पछिल्लो समय फिल्म ‘पीआर’ मार्फत उनी चर्चामा छिन्।
बिनिताको जीवन कथा अभिनय यात्रा मात्र होइन, यो एउटा छोरीले आफ्नो सपना बचाउन गरेको संघर्षको कथा हो।
समाजले बनाएका सीमाना तोड्दै अगाडि बढ्ने साहसको कथा हो।
सानैदेखि बिनितालाई नाच्न, अभिनय गर्न र कलाकारहरूको अभिनय हेर्न निकै रुचि थियो।
टेलिभिजनमा नेपाली चलचित्र हेर्दा उनी पात्रहरूसँगै आफूलाई कल्पना गर्थिन्।
विशेषगरी अभिनेत्री रेखा थापा, झरना थापा र निरुता सिंह उनका प्रेरणाका स्रोत थिए। उनीहरूको अभिनय देखेर बिनिताले पनि एक दिन ठूलो पर्दामा आफूलाई देख्ने सपना बुनेकी थिइन्।
तर सपना देख्नु सजिलो थियो, त्यो सपना पूरा गर्न यात्रा सुरु गर्नु त्यति सहज थिएन।
जब उनले मोडलिङ र अभिनय क्षेत्रमा लाग्ने इच्छा व्यक्त गरिन्, धेरैले समर्थन गर्नुको सट्टा निरुत्साहित गर्न खोजे। छोरी मान्छे भएर किन यस्तो क्षेत्रमा जाने ?, यो क्षेत्रमा भविष्य छैन, मान्छेले के भन्छन्? जस्ता शब्दहरू बारम्बार उनको कानमा ठोक्किन्थे।
आफन्तकै कतिपय मानिसहरूले कलाकारितालाई राम्रो दृष्टिले नहेर्दा बिनिताको मन धेरै पटक दुख्यो।
समाजले कलाकार महिलालाई हेर्ने दृष्टिकोणले उनलाई कहिलेकाहीँ कमजोर बनायो।
तर उनले हार मानिनन्।
उनलाई थाहा थियो, यदि आफ्नो सपना अरूको डरका कारण त्यागियो भने जीवनभर पछुतो बाँकी रहनेछ।
उनले मोडलिङबाट आफ्नो यात्रा सुरु गरिन्। विभिन्न फोटोसुट, म्युजिक भिडियो र स्टेज कार्यक्रमहरूमा सहभागिता जनाउँदै उनले आफूलाई विस्तारै चिनाउन थालिन्।
क्यामेराको अगाडि उभिँदा सुरुमा डर लाग्थ्यो, आलोचना सुनिन्थ्यो, तर उनले हरेक चुनौतीलाई सिकाइको रूपमा लिइन्।
कतिपय रातहरू यस्ता पनि थिए, जहाँ उनी एक्लै बसेर रुन्थिन्। आफूले सही निर्णय गरिरहेको छु कि छैन भन्ने प्रश्नले सताउँथ्यो।
घरपरिवारको जिम्मेवारी, समाजको आलोचना र करियर बनाउने संघर्षबीच उनले धेरै भावनात्मक क्षणहरू पार गरिन्।
तर हरेक पटक आँसु पुछेर फेरि उभिनु नै उनको सबैभन्दा ठूलो शक्ति बन्यो। बिस्तारै उनको मेहनतले फल दिन थाल्यो।
उनी निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ मा मुख्य भूमिकामा देखिने अवसर पाइन्।
यो अवसर उनका लागि केवल एउटा फिल्ममा अभिनय गर्ने मौका मात्र थिएन, यो वर्षौंदेखि देखेको सपना साकार हुने क्षण थियो।
फिल्म ‘पीआर’ अष्ट्रेलियामा रहेका नेपाली युवाहरूको कथा हो। विदेशमा राम्रो भविष्य खोज्दै गएका नेपालीहरूले भोग्ने संघर्ष, पीडा, सपना र यथार्थलाई फिल्मले देखाएको छ।
बिनिताका अनुसार यो फिल्म धेरै नेपाली युवाको वास्तविक कथासँग जोडिएको छ।
विदेश जानु मात्रै सफलता होइन, त्यहाँ पनि धेरै संघर्ष हुन्छ भन्ने कुरा फिल्मले देखाएको छ, उनी भन्छिन्।
फिल्ममा आफ्नो भूमिका निभाउँदा उनले पात्रको भावना वास्तविक बनाउन निकै मेहनत गरिन्। किनकि उनी चाहन्थिन्- दर्शकले पर्दामा अभिनय होइन, वास्तविक जीवन महसुस गरून्।
आज बिनितालाई हेरेर धेरै युवतीहरूले प्रेरणा लिन थालेका छन्। उनको यात्रा देखेर थाहा हुन्छ- सपना देख्ने अधिकार छोरीहरूलाई पनि बराबर छ।
'समाजले बनाएका नियमहरू सधैं सही हुँदैनन्। कहिलेकाहीँ आफ्नो बाटो आफैं बनाउनुपर्छ', बिनिता भन्छिन्, 'यदि मैले अरूको कुरा सुनेर सपना त्यागेको भए, आज यहाँ हुने थिइनँ।'
उनको यो भनाइले उनी जस्तै यो फिल्डमा हजारौं युवतीको मन छुन्छ रे ।
किनभने नेपालका धेरै छोरीहरू अझै पनि आफ्नो सपना र समाजको सोचबीच संघर्ष गरिरहेका छन्।
आँसु, संघर्ष, अस्वीकार र पीडाको बीचबाट पनि सफलता जन्मिन सक्छ भन्ने उदाहरण हुन् उनी।
आज उनी पर्दामा मुस्कुराइरहेकी छन्, तर त्यो मुस्कानको पछाडि धेरै संघर्षका आँसु लुकेका छन्।
सगरमाथाको चुमेकी पासाङ लाम्हु शेर्पाको उदाहरण दिदै उनले भनिन- 'म देखाउने अभिलाषामा छु,छोरी मान्छेले कलाकारिता गर्नुहुँदैन भन्ने होइन, छोरीले चाहे आकाश पनि छुन सक्छिन्।'
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया