शनिबार, ३० मे २०२६

जन्मथलो छाड्न किन बाध्य छन् कर्णालीका युवा? (भिडियोसहित)

News Image
• • •

गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको  जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। 

उक्त भिडियोको कार्यक्रमका प्रमुख अथिती जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र  प्रहरी नायव उपरीक्षक डीएसपी चिरञ्जीवी दाहालले रिवन काटेर गरे।

कार्यक्रमका प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी पौडेलले भिडियोले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था र त्यसले निम्त्याएको पारिवारिक विछोडलाई जिवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गरे।

सार्वजनिक भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्षरत परिवारको कथा देख्न सकिन्छ। आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको छ।

मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने चाहनामा श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन्। राज्यलक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन्।

भिडियोमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।

कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश र रित्तिँदै गएका घर आँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार र समाजमा पार्ने प्रभावलाई देखाउने प्रयास गरिएको छ। भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ।

गीतको निर्देशन आयुष शाहीले गरेका हुन्। कथा राजेश विश्वकर्माको छ भने छायांकन प्रकाश विश्वले गरेका छन्। दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन्।

भिडियोले ग्रामीण नेपालको एउटा प्रतिनिधि कथा प्रस्तुत गर्ने संकेत दिएको भिडियोका सम्पादक मदन नेपालीले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!