तेजन खड्का
नेपाली चलचित्र उद्योगका लागि राजेश हमाल पर्यावाची शब्द हुन्, भन्दा फरक अर्थ नलाग्ला। त्यसैले त उनी एक अभिनेता मात्र होइनन्, एउटा युगका प्रतिनिधि पात्र हुन्।
चार दशकभन्दा लामो समयदेखि निरन्तर पर्दामा सक्रिय रहँदै आएका आज मंगलबार ६२ वर्षमा प्रवेश गरेका छन्। जन्मदिनको अवसरमा उनी पत्नी मधु भट्टराईसँग अस्ट्रेलिया भ्रमणमा छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर र भिडियोमा उनीहरू अस्ट्रेलियाको पर्थ सहरमा रमाइरहेको देखिन्छ।
राजेश हमालको उमेरबारे दर्शक र प्रशंसकबीच सधैं उत्सुकता रहने गर्छ। सार्वजनिक कार्यक्रममा होस् वा अन्तरवार्तामा, उनलाई बारम्बार सोधिने प्रश्नमध्ये एक हो–‘तपाईंको उमेर कति भयो रुयस्ता प्रश्नमा उनी प्रायः मुस्कुराउँदै ठट्टा गर्छन्, 'मेरो उमेर २५ वर्षभन्दा माथि छैन।'
उनको यही शैलीले उनलाई दर्शकमाझ अझ प्रिय बनाएको छ। तर वास्तविकतामा भने नेपाली चलचित्रका ‘महानायक’ भनेर चिनिने हमाल आज ६२ वर्ष पुगेका छन्।
यद्यपि, उनको हकमा उमेर मात्र अंकजस्तो लाग्छ। किनभने उनी अझै पनि उत्तिकै ऊर्जाशील, सक्रिय र आकर्षक देखिन्छन्। नेपाली चलचित्र क्षेत्रमा चार दशकसम्म निरन्तर उपस्थित रहनु आफैंमा असाधारण उपलब्धि हो। बदलिँदो समय, बदलिँदो दर्शक रुचि र बदलिँदो प्रविधिबीच पनि आफ्नो प्रभाव कायम राख्नु सजिलो कुरा होइन।
नेपाली चलचित्र उद्योगको विकास र विस्तारको इतिहास लेख्दा राजेश हमालको नाम छुटाउन सकिँदैन। उनले अभिनय यात्रा सुरु गर्दा नेपाली फिल्म उद्योग आजको जस्तो व्यावसायिक र विस्तारित थिएन। वर्षभरिमा मुस्किलले केही फिल्म निर्माण हुन्थे। कलाकारका लागि भविष्य अनिश्चित थियो।
एउटा फिल्म खेलेपछि अर्को अवसर कहिले आउँछ भन्ने टुंगो हुँदैनथ्यो। त्यस्तो समयमा पनि हमालले चलचित्रलाई नै आफ्नो जीवनको केन्द्र बनाए। अन्य सम्भावना हुँदाहुँदै उनले फिल्मलाई रोजे र त्यसैमा आफूलाई पूर्ण रूपमा समर्पित गरे।
त्यसको प्रतिफल आज उनको लामो र सफल यात्राका रूपमा देखिन्छ। उनले हालसम्म २३० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। नेपाली फिल्म इतिहासमा यति धेरै चलचित्रमा मुख्य भूमिकामा देखिएका कलाकार विरलै छन्। उनको अभिनय यात्राले नेपाली समाजका अनेक पात्र, वर्ग र भूगोललाई पर्दामा प्रतिनिधित्व गरेको छ।
हमालमाथि कहिलेकाहीँ अभिनयमा विविधता नदेखिएको आरोप पनि लाग्ने गरेको छ। तर उनले त्यसको जवाफ आफ्नो काममार्फत दिएका छन्।
उनले मधेशी युवादेखि पहाडी गाउँले, सैनिक अधिकृतदेखि डाक्टर, सरकारी कर्मचारीदेखि विद्रोही पात्रसम्म अनेक चरित्र निर्वाह गरेका छन्।
दर्शकले आज पनि सम्झने पात्रमध्ये फिल्म भीष्म प्रतिज्ञाको तराई क्षेत्रको चरित्र, भरियामा दुःख र संघर्ष बोकेको श्रमिक युवक तथा विभिन्न सामाजिक कथावस्तुमा देखिएका उनका भूमिकाहरू विशेष मानिन्छन्।
हमाल स्वयं पनि अभिनयको विविधतालाई आफ्नो यात्राको महत्वपूर्ण पक्ष मान्छन्। उनले विभिन्न अवसरमा भनेका छन् कि कलाकारिताले उनलाई आफूले नसोचेका, नदेखेका र नभोगेका जीवनहरू बाँच्ने अवसर दिएको छ। यही कारण उनले आफूले निर्वाह गरेका पात्रहरूलाई आफ्नो वास्तविक उपलब्धि मान्ने गरेका छन्।
उनको लोकप्रियताको अर्को महत्वपूर्ण कारण हो–व्यावसायिक अनुशासन। चलचित्र होस्, विज्ञापन होस् वा सामाजिक अभियान, हमालले आफू संलग्न प्रत्येक कामप्रति जिम्मेवार र प्रतिबद्ध रहने छवि बनाएका छन्।
सहकर्मीहरूका अनुसार उनी समयको पालना गर्ने, तयारीसहित काम गर्ने र आफ्नो दायित्व पूरा नगरी पछि नहट्ने कलाकार हुन्।
यही गुणले उनलाई पुस्तान्तरण भइरहँदा पनि सम्मानित बनाएको छ। सम्भवतः उनी नेपालका कलाकारमध्ये पुस्तक अध्ययन गर्ने कलाकारमा पर्छन् । उनी सुटिङको खाली समयपनि पुस्तकमै रुमलिरहेको पाउन सकिन्छ ।
नेपाली चलचित्र उद्योगमा स्टारडमको चर्चा हुँदा राजेश हमालको नाम अग्रपंक्तिमा आउँछ।
१९९० र २००० को दशकमा उनको लोकप्रियता यस्तो थियो कि फिल्मको पोस्टरमा उनको तस्वीर मात्रै देखेर दर्शक हलसम्म पुग्ने गर्थे। निर्माताहरूका लागि उनको नाम नै लगानी सुरक्षित हुने आधार मानिन्थ्यो। नेपाली फिल्म उद्योगमा स्टार प्रणाली स्थापित गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ।
तर यति ठूलो लोकप्रियताबीच पनि हमालको व्यक्तिगत विनम्रता सधैं चर्चामा रह्यो। नेपाली फिल्म क्षेत्रमा उनलाई ‘महानायक’को उपाधि दिइयो।
दर्शक, सञ्चारमाध्यम र चलचित्रकर्मीहरूले उनलाई यही नामले सम्बोधन गरे। तर स्वयं हमालले भने आफूलाई कहिल्यै महानायक घोषणा गरेनन्। बरू, उनी आफूलाई एब कलाकारका रूपमा चिनाउन चाहन्छन्।
यही विनम्रता उनको व्यक्तित्वको अर्को बलियो पक्ष हो। म महानायक हो कि को महानायक हो, त्यो जनताले मुल्याङ्कन गर्ने बिषय हो, उनले महानायक को हो रु भन्ने प्रश्नमा दिने उत्तर हो,यो ।
यद्यपि, कुनै कलाकारले राजेश हमाललाई महानायक होईन भन्ने अभिब्यक्ति दिँदा दर्शक उनीहरुको फिल्म हेर्न हल नपुगेको थुप्रै घटना छ । त्यसैले महानायक को हो भन्ने प्रश्न जटिल बन्ने गरेको छ।
चलचित्रप्रतिको उनको प्रेम पनि उत्तिकै गहिरो छ। उनले विभिन्न अन्तरवार्तामा आफूले हेरेको पहिलो नेपाली फिल्म हिजो आज भोली भएको बताएका छन्।
त्यस्तै, आफ्नो समयको उत्कृष्ट नेपाली फिल्मका रूपमा उनले माइतीघरलाई स्मरण गर्ने गरेका छन्। आफूले अभिनय गरेका चलचित्रमध्ये भने युगदेखि युगसम्म र देउता उनलाई विशेष प्रिय लाग्ने गरेका छन्।
आज नेपाली चलचित्र उद्योग नयाँ पुस्ताको नेतृत्वतर्फ अघि बढिरहेको छ। नयाँ कलाकार, नयाँ प्रविधि र नयाँ कथावस्तुले उद्योगलाई फराकिलो बनाइरहेका छन्।
तर त्यसको आधार निर्माण गर्ने पुस्ताको चर्चा गर्दा राजेश हमाल अग्रस्थानमै रहन्छन्। उनले नेपाली चलचित्रलाई व्यवसाय होइन, एउटा सांस्कृतिक अभियानका रूपमा बुझे र त्यही दृष्टिले आफ्नो जीवन समर्पित गरे।
६२ वर्षको उमेरमा पनि उनी दर्शकमाझ उत्तिकै लोकप्रिय छन्। सामाजिक सञ्जालमा उनका गतिविधि चासोका विषय बन्छन्।
सार्वजनिक कार्यक्रममा उनको उपस्थिति अझै आकर्षणको केन्द्र हुन्छ। उमेरले शरीरमा परिवर्तन ल्याउन सक्छ, तर केही व्यक्तित्वहरू समयसँगै झन् ठूलो प्रतीक बन्छन्। राजेश हमाल त्यस्तै दुर्लभ कलाकारमध्ये एक हुन्।
अहिले उनी अस्ट्रेलियाको यात्रामा छन्। पत्नी मधुसँग जीवनका सुखद क्षणहरू बिताइरहेका छन्। तर हजारौं किलोमिटर टाढा रहे पनि जन्मदिनको दिन नेपाली दर्शकको शुभेच्छा र माया उनीसम्म पुगेकै छ।
नेपाली चलचित्र उद्योगमा उनको योगदान, निरन्तरता, अनुशासन र समर्पणलाई स्मरण गर्दै आज उनको ६२औं जन्मदिन विशेष बनेको छ।
नेपाली चलचित्रका यस दीर्घयात्री कलाकारलाई जन्मदिनको शुभकामना। उमेरको अंक बढ्दै जाओस्, तर नेपाली दर्शकको मनमा रहेको उनको प्रभाव र सम्मान अझै लामो समयसम्म यथावत् रहोस्।
पढाईमा निक्क अब्बल रहेका हमालले घमण्ड कहिल्यै देखाएनन्, देखाँउदैनन्।
बरू, उनले साथी फिल्ममा एउटा गीतमा अभिनय गरे,
'मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन, अंग्रेजीमै मनका कुरा खोल्न सिकाईदेउन, एबिसिडी–वान टु थ्रि फोर सबै सिकाईदेउन, भन त लौं आई लव यु, भन भन लौं आई लब यु, आई एल यु
आई लब यु,आई लब यु,आई लब यु।'
बिएल नेपाली सेवा परिवारको तर्फबाट पनि महानायक राजेश हमाललाई जन्मदिनको भव्य शुभकामना।
समाजले हेर्न नचाहेको ऐना : ‘लालीबजार’को पीडा, प्रेम र प्रतिरोध !
क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ सम्म, महाधिवेशन पूर्णत: डिजिटल हुने
भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया