आइतबार, ११ जनवरी २०२६

सिंहदरबार छिर्‍याे प्रकाशकाे ‘करिम’ गीत विवाद

News Image
• • •

प्रकाश दुतराजकाे ‘करिम’ गीत विवाद सिंहदरबारसम्म पुगेकाे छ।

रुकुम (पश्चिम)काे चाैरजहारी नगरपालिकाका मेयर पुष्प वादीले ‘करिम’ले विद्यालयमा पढ्दै गरेका बालबालिका तथा वादी समुदायप्रतिकाे अपमान, विभेद र शाेषणलाई प्रश्रय दिएकाे भन्दै गीत युट्युबबाट हटाउन माग गर्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्मालाई पत्र पठाएका हुन्।

वादीले शर्मालाई पत्र पठाउँदै भनेका छन्, ‘विद्यालय पढ्दै गरेका बालबालिका र वादी समुदायप्रतिकाे अपमान विभेद र शाेषणलाई प्रश्रय पुग्ने गरी प्रकाशित उक्त सामाग्री तत्काल युट्युबबाट हटाउन माग गर्दछु।’

नेपालकाे संविधानकाे धारा २४ मा जातीय छुवाछूत तथा विभेदविरुद्धकाे हकमा भएकाे उत्पत्ति, जात, जाति वा शरीरिक अवस्थाकाे कुनैपनि व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने कार्य गर्न नहुने हककाे बर्खिलाप हुनेगरी तयार गरिएकाे उक्त सामाग्रीले वादी समुदाकाे माैलिक हकमा समेत आघात पुगेकाे पत्रमा उल्लेख छ।

साथै गीतबाट वादी समुदायलाई देह व्यापारकाे कलङ्ककाे टीका लगाउने प्रयत्न गरी मानव अधिकारकाे समेत हनन् भएकाे आभास भएकाे पत्रमा उल्लेख छ।

उनले अझै पनि वादी समुदायलाई हेर्ने दृष्टिकाेणमा अन्तरआत्मदेखि नै सकारात्मक बन्न नसकेकाे स्पष्ट पारे।

उता, गीतका सर्जक दुतराजले पनि गीतमा आफूले गल्ती गरेकाे महसुस भएकाे जनाएका छन्। विराेधका आवाज उठेलगत्तै उनले शुक्रबार नै सामाजिक सञ्जालमार्फत् गीतमा गल्ती गरेकाे आभास भएकाे उल्लेख गरेका थिए।

इतिहास पढे र बुझेअनुसार कथा र गीतलाई प्रस्तुत गरेकाे बताउँदै प्रकाशले त्यसमा आफ्नाे गलत मनशाय नरहेकाे स्पष्ट पारेका छन्।

विवाद र चर्चाबीच उक्त गीतले युट्युबमा सार्वजनिक भएकाे पाँच दिनमा ६ लाख ५१ हजार भ्यूज प्राप्त गरेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!