२ अर्ब लगानीमा आईएमई ग्रुपको कागज उद्योग सञ्चालन, प्रधानमन्त्रीद्वारा उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै प्रधानमन्त्रीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गरे। २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ। उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो। शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ। विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ।
बिएल संवाददाता - महोत्तरी