आइतबार, २२ नोभेम्बर २०२६

नेपालमा चिनियाँ ‘सिल्क रोड फुचुआन’ कला प्रदर्शनी आयोजना गर्ने तयारी

News Image
• • •

चीन र नेपालबीच सांस्कृतिक तथा कलात्मक आदानप्रदानलाई थप विस्तार गर्ने उद्देश्यले ‘सिल्क रोड फुचुआन वर्ल्ड टुर एक्जिबिसन’ नेपालमा आयोजना गर्ने विषयमा छलफल अघि बढाइएको छ।

यसैक्रममा चिनियाँ सिल्क रोड फुचुआन अन्तर्राष्ट्रिय सांस्कृतिक तथा कला अनुसन्धान संस्थानका कार्यकारी अध्यक्ष वाङ होङजुनले केही दिन अघि त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको भ्रमण गरी प्रदर्शनी आयोजनाबारे छलफल गरेका छन्।

भ्रमणका क्रममा उनले ‘सिल्क रोड फुचुआन’ कला परियोजनाको अवधारणा, सांस्कृतिक महत्त्व र विश्वव्यापी प्रदर्शनी योजनाबारे जानकारी गराएका थिए। कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा नेपालमा पनि प्रदर्शनी आयोजना गरी चिनियाँ कला र संस्कृतिलाई नेपाली दर्शकमाझ पुर्‍याउने उनको प्रस्ताव थियो।

‘सिल्क रोड फुचुआन’ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्राध्यापक वाङ होङजुनले करिब १० वर्ष लगाएर सिर्जना गरेको विशाल परिदृश्य मूर्तिकलामा आधारित परियोजना हो। यसले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ, मानव सभ्यताबीचको सहकार्य र साझा भविष्यको अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

सन् २०२६ जनवरीमा चीनको हुनान प्रान्तीय सांस्कृतिक केन्द्रबाट सुरु भएको यस परियोजनाको पहिलो प्रदर्शनीमा राजनीति तथा कला क्षेत्रका दुई सयभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ। परियोजनाले अन्तर्राष्ट्रियस्तरमा पनि ध्यान आकर्षित गरेको बताइएको छ।

छलफलमा नेपालमा प्रदर्शनी आयोजना गर्ने सम्भावना, कार्यक्रमको स्वरूप, व्यवस्थापन र आगामी कार्ययोजनाबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो। सो अवसरमा वाङले कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक बलराम दुवाललाई ‘रेपुटेसन फिल्स द एप्रिकोट ग्रोभ’ नामक सुलेख पुस्तक उपहार दिएका थिए।

त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका दुवै निर्देशकले प्रस्तावित कला प्रदर्शनीको प्रशंसा गर्दै नेपालमा यसको आयोजना गर्न सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

दुवै पक्षले कला भाषिक तथा सांस्कृतिक सीमाभन्दा माथि रहेर सभ्यताबीच संवाद र आपसी समझदारी बढाउने माध्यम भएको बताएका थिए। प्रदर्शनीले नेपाल र चीनबीचको परम्परागत मित्रतालाई थप मजबुत बनाउनुका साथै सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस परियोजनामार्फत दुई देशका नागरिकबीच कला, संस्कृति र सभ्यतासम्बन्धी अनुभव आदानप्रदानलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!