मङ्गलबार, ०७ अप्रिल २०२६

गाजामा राष्ट्रसंघीय कर्मचारीको मृत्युपछि स्वास्थ्य उद्धार कार्य स्थगित, १७०० भन्दा बढी स्वास्थ्यकर्मी मारिएको दाबी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गजा क्षेत्रबाट गरिँदै आएको बिरामीहरूको स्वास्थ्य उद्धार कार्य तत्कालका लागि स्थगित गरेको छ। संयुक्त राष्ट्र संघको यस एजेन्सीका लागि कार्यरत एक कर्मचारीको घटनामा मृत्यु भएपछि यो निर्णय लिइएको हो।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्ति जारी गर्दै आफ्ना सहकर्मीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। उक्त घटना हुँदा संगठनका अन्य दुई कर्मचारी पनि घटनास्थलमा भए तापनि उनीहरूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन्।

टेड्रोसले भने, ‘यस घटनापछि गाजाबाट राफाह नाका हुँदै इजिप्टतर्फ गरिने बिरामीको उद्धार कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।’

गाजाको स्वास्थ्य प्रणाली पूर्ण रूपमा ध्वस्त भएको अवस्थामा गम्भीर बिरामी र घाइतेहरूलाई जीवनरक्षाका लागि विदेशमा विशेषज्ञ उपचार गराउन लगिने प्रक्रियालाई मेडिकल इभ्याकुएसन भनिन्छ। हाल यो प्रक्रिया रोकिएपछि सयौं बिरामीको ज्यान जोखिममा परेको छ।

१,७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

अल जजीराले गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार, अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि हालसम्म गजामा १७०० भन्दा बढी स्वास्थ्यकर्मीहरू मारिएका छन्।

जसमा डाक्टर, नर्स र प्यारामेडिक्सहरू रहेका छन्। गेब्रेयससले स्वास्थ्यकर्मी र सर्वसाधारणको सुरक्षाको माग गर्दै शान्ति नै उत्तम ओखती भएको बताएका छन्।

इजरायली आक्रमणमा थप १० जनाको मृत्यु

यसैबीच, मध्य गजाको मगाजी शरणार्थी शिविर र विस्थापित प्यालेस्टिनीहरू बसिरहेको एक विद्यालय नजिकै भएको इजरायली बमबारीमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

अल–अक्सा शहीद अस्पतालले दिएको जानकारी अनुसार, इजरायली गोलाबारी र भिडन्तमा दर्जनौं मानिस घाइते भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर छ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली ड्रोनले दुईवटा मिसाइल प्रहार गर्दा धेरै मानिसहरू हताहत भएका हुन्। गजामा जारी द्वन्द्व र स्वास्थ्य संरचनामाथिको आक्रमणले त्यहाँको मानवीय संकट झनै भयावह बन्दै गएको छ। एएनआई

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!