आइतबार, २४ अगस्ट २०२५

परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

News Image
• • •

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेकी छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएकी उपराष्ट्रपतिले मन्त्री राणाले भेटवार्ता गरेकी हुन्।

सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो। त्यस क्रममा मन्त्री डा.राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्न सक्ने धारणा राखे।

मन्त्री डा.राणाले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन्।

उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन्।

पछिल्ला वर्षहरूमा नेपाल र भियतनामका पर्यटकहरूको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा.राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

मन्त्री डा.राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी छन्।

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!