जीवन डाँगी
                                माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशन सकिएको आठ महिनापछि शनिबार पदाधिकारी चयन गरेका छन्।
उनले २१ सदस्यीय नयाँ पदाधिकारी चयन गर्दा आफूलाई द्वन्द्वकालीन सुप्रिमो ‘प्रचण्ड’ कै हैसियतमा कमाण्ड गर्दै सबैलाई पद बाँडे। पाउँनेले पनि नाइँनास्ती नगरी हात मुठ्ठी पारेर माथि उचाले र पदको सपथ लिए।
यसरी सपथ लिएका नेताहरू अहिले आआफ्नो कोटरीमा फर्केर नाफा-घाटाको हिसाब गर्दैछन्। यस हिसाबकितावमा केही संगीन प्रश्नहरू उठेका छन् जस्तो कि: माओवादी केन्द्रको महासचिवका लागि आम्नेसाम्ने भएका वर्षमान पुन र जनार्दन शर्मालाई उपमहासचिवमा थन्काएर देव गुरूङलाई किन महासचिव बनाउनुपरेको होला ? महासचिवका लागि तेस्रो विकल्प रोज्नैपर्ने कुन बाध्यता आइलाग्यो? प्रचण्ड पार्टीभित्रैबाट चेपुवा परे कि उत्तरले चेपुवामा पार्यो?
माओवादी पदाधिकारीमा एमसीसीविरोधीको बर्चश्वले पार्टी सुप्रिमो प्रचण्ड ठूलो दबाबमा परेको देखिन्छ। यो बढ्दो दबाबसँगै कतै एमसीसीको भविष्य पनि संकटमा पर्दै गएको त हैन भन्ने आशंका पनि उठेको छ।
यी त सतहमा देखिएका केही प्रश्न भए। तर, यी प्रश्नभन्दा पनि अन्तर्यमा रहेको प्रश्न हो, माओवादी केन्द्रका पदाधिकारीमा किन एमसीसी विरोधी कित्ताको पल्ला भारी भयो? अहिले यही प्रश्न छेउबाट क्रमश: केन्द्रमा सर्दैछ।
पार्टीको दोस्रो कमाण्डर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तेस्रो कमाण्डर उपाध्यक्ष कृष्णबहादुर महरा र चौथो कमाण्डर महासचिव देव गुरूङ सबै एमसीसीविरोधी कित्ताका हुन्। यसका अतिरिक्त उपमहासचि पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, हरिबोल गजुरेल, सचिव हितमान शाक्य, गणेश शाह र कोषाध्यक्ष श्रीराम ढकाल पनि एमसीसी विरोधी कित्ताकै हुन्। यो सबैलाई संजोग मात्र ठान्न नसकिने भन्दै माओवादी पार्टीको आन्तरिक डायनामिक्सका ज्ञाताहरू नै प्रश्न गर्न थालेका छन् ‘सुप्रिमो’को व्यथा कसलाई ‘के थाहा’?
माओवादी पार्टीको आन्तरिक डायनामिक्सका एक ज्ञाता भन्छन्, 'माओवादी केन्द्रको भावी कमान्डरका रूपमा हेरिएका वर्षमान पुन र जनार्दन साइजमा ल्याएर फेरि एकपटक आफ्नो बर्चश्व कायम गर्न सफल भएका छन्। तर, यो सकसपूर्ण निर्णय प्रचण्डका लागि चुनौतिपूर्ण छ। पाँच वर्षयता एकपछि अर्को राजनीतिक संकट सामना गर्दै आएका उनका लागि यो निर्णय अर्को एक गम्भीर संकटका रूपमा थपिएको छ।'
सत्ता गठबन्धन जोगाउन अनेकौँ विरोध सहेर अध्यक्ष प्रचण्ड एमसीसी सम्झौताको पक्षमा उभिएपछि चिनियाँ पक्ष चिढिएको थियो। अझ त्यसमा पनि केहीसमय अघि प्रचण्डले भारतीय जनता पार्टीसँग हिमचिम बढाए। त्यसबाट चीन अरू चिढिएको थियो। यही बीचमा उनलाई चीनलाई खुशी पार्नुपर्ने थप दबाब बढ्दै गयो। त्यसैको परिणाम हुन सक्छ, माओवादी पदाधिकारीमा एमसीसी विरोधी कित्ताको पल्ला भारी।
एमासीसी विरोधी समूहको पल्लाभारी र शक्तिशाली महासचिव पदमा ‘पुन–शर्मा’को असफलताको विषयमा प्रचण्ड थप गम्भीर बनेका छन्। उनी पदाधिकारीबाट आफूविरूद्ध आइपर्ने थप विद्रोह रोक्न अर्को विशेष महाधिवेशनको त्राश देखाइरहेका छन्। पछिल्लो साता लगातार चिनियाँ शीर्ष कूटनीतिज्ञको चासो र एमसीसी विरोधी पात्रको पदाधिकारी पकडले प्रचण्ड–कथाभित्रको सत्य–कथा विस्तारै सहतमा आइरहेको छ।
पदाधिकारी चयनलगतै अध्यक्ष प्रचण्ड नै एमसीसीबारे सशंकित बनेको उनी निकट एक पदाधिकारी बताउँछन्। पदाधिकारी बैठक सकिएलगतै वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, हरिबोल गजुरेल, सचिव हितमान शाक्य, गणेश शाह र कोषाध्यक्ष श्रीराम ढकालले श्रेष्ठनिकट एक पोलिटव्यूरो सदस्यको निवासमा छोटो समीक्षा गरेका छन्। उनीहरूले पदाधिकारीमा आफूहरूको सफलताबाट एमसीसी उल्टाउन सक्ने सम्भावनाः बारे कुराकानी गरेको बताइन्छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सुरूदेखि न एमसीसीविरोधी कित्तामा छन्। एमसीसी पास गरेपछि उनी पार्टी अध्यक्ष प्रचण्डका विरूद्ध सामाजिक सञ्जालदेखि आम–मिडियासम्म खनिएका थिए। एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल हुनुपूर्व वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एक चिनियाँ अधिकारीसँग ‘प्रचण्ड–चरित्र’बारे लामै ब्याख्या सुनाएको चिनियाँ दूतावास स्रोतको दाबी छ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र तीनजना उपमहासचिव, चारजना सचिव र कोषाध्यक्षले माओवादीभित्र उत्तर भेगको साथ लिएर प्रचण्डविरूद्ध कुनै पनि बेला रडाको मच्चाउन सक्ने माओवादी केन्द्रका एक स्थायी समिति सदस्य बताउँछन् र उनका अनुसार एमसीसी सम्झौताको पक्षमा खुलेपछि प्रचण्डविरूद्ध पार्टीभित्रैबाट ठूलो संकट आइलाग्यो। त्यो छाल अझैपनि उसैगरी छचल्किरहेको छ। माओवादी केन्द्रको पदाधिकारी चयनमा एमसीसीविरोधी कित्ताको बर्चश्व बनाउनुपर्ने प्रचण्ड–बाध्यता पनि त्यसैको एक हिस्सा हो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया