बिहिबार, २७ नोभेम्बर २०२५

रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप

सुबास शर्मा

सुबास शर्मा

काठमाडौं
News Image
• • •

नेपालको राजनीति पर्खालभित्रकै आवाजबाट चल्ने इतिहास बोकेको छ। अहिले त्यही पर्खालभित्र छन् रवि लामिछाने। उनी नख्खु कारागारको चिसो कोठामा बसे पनि देशभरि उनको चर्चा, समर्थन र आलोचना समान रूपमा तातिरहेको छ।

रवि जेलमा परेपछि धेरैजनाले सोचेका थिए- अब रवि हराउलान्, मौन बस्लान्, र उनको राजनीति स्वभाविक रूपमा कमजोर बन्दै जाला, तर भयो उल्टो। जेल जीवनले रविको राजनीतिक प्रभाव झन् तेज बनाइदिएको छ।

रवि अहिले सामान्य कैदी होइनन्। उनी राजनीतिक समीकरण बदल्न सक्छन्, चुनावी नतिजा प्रभावित पार्न सक्छन्, र वैकल्पिक राजनीतिक शक्ति निर्माणको केन्द्र बनेका छन्। त्यसैले नै प्रचण्डदेखि बाबुराम भट्टराई, अमरेश कुमार सिंह, कांग्रेस नेता सुनिल शर्मादेखि नयाँ पुस्ताका केही स्वतन्त्र नेतासम्म, सबैजना उनलाई भेट्न नख्खु कारागार पुगिरहेका छन्।

यी भेटघाटहरू एउटा सामान्य ‘हालखबर लिन’को भेट होइन। यो अगामी फागुनको निर्वाचनलाई केन्द्रमा राखेर बनिरहेको नयाँ राजनीतिक गठजोड को संकेत हो।

नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड, राजनीतिमा नयाँ पुस्ता खोज्दै हिडेका बाबुराम भट्टराई,स्वतन्त्र शक्ति निर्माणमा सक्रिय अमरेश कुमार सिंह र अन्य क्षेत्रीय नेताहरू रविलाई केन्द्रमा राखेर नयाँ राजनीतिक फार्मुला खोज्दै छन्।

यी सबैको जेलयात्राले एउटा कुरा पक्का बनाएको छकि रवि भित्र छन्, तर खेल बाहिर होइन।

जेल भनेको हतियार विहीन ठाउँ मात्र हो, आवाज रोक्ने ठाउँ होइन। रविले जेलभित्र पनि आफूलाई बन्दी बनाइराखेनन्।

पार्टीका नेताहरूसँग सन्देश मार्फत निरन्तर समन्वय,चुनावी रणनीतिबारे सल्लाह, जनसमर्थकहरूको मनोबल उठाउने निर्देशन, समय समयमा लेखन र अध्ययनमा ऊनी ब्यस्त छन्।

उनका भेटघाटमा रहेका नेता,शुभचिन्तकले पनि यही भन्छन्, ‘जेलले रविको आत्मबल त कत्ती पनि घटाएको छैन, उल्टै उनी अझै दृढ भएका छन्।’

रास्वपाका केही नेताहरू छुट्टिएका छन्, केही असन्तुष्ट छन्, र केहीले अझै पार्टी छाड्ने कुरा गर्दैछन्। उता पार्टी सभापति जेलमा हुनु र यता उनका सहकर्मीहरुले पार्टी छोड्दै जानुले पार्टी कमजोर होला भन्ने धेरैको अनुमान थियो। तर अहिले परिस्थिति फरक बन्दैछ।

रवि भेट्न आउने नेताहरू, राष्ट्रिय राजनीतिमा उनको निरन्तर चर्चा, वैकल्पिक शक्तिहरूको एकताको कोसिस, यी सबैले रास्वपालाई फेरि एकपटक मध्य मञ्चमा ल्याइदिएको छ।

त्यसो त वैकल्पिक राजनीतिकको अग्रणी दल मानिएको विवेकशील साझा दल र रास्वपाबीच पार्टी एकताको टुंगो लागिसकेको छ। आइतबार विशेष कार्यक्रम आयोजना गर्दै विवेकशीलका नेताहरू रास्वपा प्रवेश गर्दैछन्। विनासर्त रास्वपाको नाम र चुनाव चिह्न स्वीकार्दै रवि लामिछानेलाई नै नेता मान्न विवेकशील दल तयार भएको छ।

आगामी फागुनको निर्वाचनमा रवि लामिछाने प्रत्यक्ष बन्छन् कि परोक्ष, यो अझै खुला प्रश्न छ। तर एउटा कुरामा धेरै विश्लेषकहरू लगभग एकमत छन्, ‘रवि जेलबाट घाटा होइन नाफा लिएर निस्किन सक्छन्।’

सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश, मन्त्री बनेर लोकप्रियता फेरि मुद्दा, विवाद, आलोचना र अहिले जेल। रविको सिंगो यात्रा संघर्ष र विवादले भरिएको भए पनि, हरेक मोडमा उनी कमजोर नभई झन् ध्यान केन्द्रित बन्न पुगेका छन्। नेपालमा धेरै नेता पदमा हुँदा मात्र शक्तिशाली देखिन्छन्, तर रवि उल्टै कठिनतम परिस्थितिमा पनि आफ्नो राजनीतिक तौल बढाइरहेका छन्।

रवि लामिछाने अहिले बन्द कोठामा छन्, तर उनीसँग जोडिएको राजनीतिक बहस भने बाहिर खुलेर चलिरहेको छ। नेताहरूको भेटले उनी अझै राजनीतिक खेलको केन्द्रमा रहेको प्रमाण दिन्छ।

जेल जीवन, नेताहरूको आगमन, र आगामी चुनावी समीकरण, तीनै कुराले एउटा स्पष्ट सन्देश दिन्छ: रवि केवल एक बन्दी होइनन्, उनी अझै पनि नेपालको वैकल्पिक राजनैतिक उचाइमा उक्लिन तयार उदीयमान शक्ति हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!