शुक्रबार, २७ नोभेम्बर २०२६

देउवा समूहलाई रुख र झण्डा प्रयोगमा रोक लगाउन माग गर्दै निर्वाचन आयोग जाने कांग्रेसको तयारी

News Image
• • •

नेपाली कांग्रेसले देउवा समूहलाई पार्टीको आधिकारिक चुनाव चिह्न रुख र चारतारे झण्डाको प्रयोगमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएको छ।

१५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेपछि पनि देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन प्रक्रिया जारी राखेपछि कांग्रेस आयोग जान लागेको एक पदाधिकारीले बताए।

ती पदाधिकारीका अनुसार कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकबाटै निर्णय गराएर निर्वाचन आयोगलाई देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको उनले बताए।

निर्वाचन आयोगमा १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अद्यावधिक नहुन्जेल चुप बसेको गगन कांग्रेस विवरण अद्यावधिक बनेपछि भने देउवा समूहलाई रोक्ने रणनीतिमा लागेको हो।

एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै कांग्रेसले अर्को कुनै समूहले एउटा आधिकारिक पार्टीको चुनाव चिन्ह र झण्डाको दुरुपयोग गरिरहेको अवस्थामा आयोग चुप लागेर बस्न नहुने निष्कर्षसहित त्यस्तो कार्यमा तत्काल रोक लगाउन माग गर्दै आयोगको ध्यानाकर्षण गराउन लागेको हो।

चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको देउवा समूहले आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्दै छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!